सिसडोल र बञ्चरेडाँडामा फोहोर फाल्न दिएनन् स्थानीयले, काठमाडौंको सहमति नमान्ने
वि.सं.२०७९ जेठ २४ मंगलवार १६:१४
shares

सरकार र फोहोर फाल्ने क्षेत्रका प्रतिनिधिबीच भएको सहमति नमान्ने भन्दै स्थानीयले बन्चरेडाँडा र सिसडोलमा फोहोर फाल्न रोक लगाएका छन् । शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाका प्रतिनिधिहरुबीच मंगलबारबाट काठमाडौंको फोहोर बिसर्जन गर्ने सहमति भएको थियो ।
सहमतिअनुसार आज बिहान काठमाडौंबाट डम्पिङका लागि लगिएका फोहोरका गाडीलाई स्थानीयले बाटाेमै रोकेका हुन् । उनीहरुले उक्त सहमति नमान्ने भन्दै फोहोर बिसर्जन गर्न नदिएको काठमाडौं महानगरपालिकाले जनाएकाे छ ।
गत १४ जेठबाट काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र अन्य नगरपालिकाहरुको फोहोर उठ्न सकेको छैन । फोहोर सडकमै थुप्रिएकाले दुर्गन्ध बढेको छ ।
शहरी विकास मन्त्रालयको पहलमा बसेको बैठकमा भएको सहमतिमा शहरी विकास मन्त्रालयका आयोजना निर्देशक रविन्द्र बोहरा, काठमाडौं महागरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, धुनिबेसी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेल र ककनी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत गीता कुमारी शर्माले हस्ताक्षर गरेका थिए ।
उनीहरुले शहरी विकास मन्त्री रामकुमारी झाँक्री, काठमाडौं महानगरका मेयर बालेन्द्र साह, उपमेयर सुनिता डंगोल, शहरी विकास मन्त्रालयका सचिव रमेश प्रसाद सिंह, धुनिबेसी नगरपालिकाका मेयर बालकृष्ण आचार्य, ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य, ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ, उपाध्यक्ष मिठुमाया तामाङ, काठमाडौंका प्रहरी बरिष्ठ उपरीक्षक सुदिप गिरी, ककनी गाउँपालिका वडा नं ३ का अध्यक्ष घननाथ बजगाईंको रोहबरमा सहमति पत्रमा हस्ताक्षर गरेका थिए ।
प्रतिवद्धतासहितको सहमतिपत्रमा महानगरपालिकाकाले प्रभावित क्षेत्रका वासिन्दाको स्वास्थ्य बीमा एक हप्तामा सुरु गर्ने उल्लेख छ ।
























