गृहपृष्ठ राष्ट्रपति भण्डारी चितवन आउँदै
राष्ट्रपति भण्डारी चितवन आउँदै
राष्ट्रपति विद्यादेवी भण्डारी आज चितवन आउँदै छिन् । नेपाल फर्मा एक्स्पो, २०२२ को उद्घाटनका लागि उनी चितवन आउन लागेकी हुन् । नेपाल औषधि उत्पादक संघले चितवन प्रदर्शनी केन्द्रमा एक्स्पो गर्न लागेको हो ।
संघका उपाध्यक्ष एवं मिडिया संयोजक सन्तोष बरालले राष्ट्रपति भण्डारीले दिउँसो १ बजे एक्सपोको उद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी दिए । राष्ट्रपति चितवन आउने भएपछि जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी नवराज अधिकारीले बताए । उक्त एक्स्पो यही वैशाख ११ गतेसम्म सञ्चालन हुनेछ ।
संघका महासचिव विप्लव अधिकारीले यसपटकको एक्स्पोले नेपालमा औषधि उत्पादनको क्षेत्रले अँगाल्दै आएको ज्ञान तथा प्रविधिको विस्तार गर्ने बताए । उनले भने, 'एक्स्पोले औषधि उत्पादनको प्रविधि र यसमा अपनाइएका संवेदनशीलताका बारेमा जनमानसमा चेतना दिने छ ।'
एक्स्पोले नेपालको औषधि उत्पादनलाई अन्तर्राष्ट्रियस्तरसम्म पुर्याउने, अझै प्रविधिमैत्री र दक्षता प्रदान गर्ने उनको भनाइ छ । औषधि प्राविधिक र फर्मासिस्टलाई अन्तर्राष्ट्रियस्तरको नवीन प्राविधिक ज्ञान दिने उद्देश्यले एक्स्पो आयोजना गरिएको संघका निवर्तमान अध्यक्ष एवं एक्स्पो संयोजक जी नारायणबहादुर क्षेत्रीले बताए ।
उनले नेपालमा उत्पादन हुँदै आएका औषधि र औषधि उत्पादनमा प्रयोग हुने प्रविधि, ल्याब (प्रयोगशाला), मेसिन, कच्चा पदार्थ, प्याकेजिङलगायतमा भएका विकासबारे जानकारी दिन प्रत्येक दुई वर्षमा एक्स्पो आयोजना गर्दै आएको जानकारी दिए ।
सन् २०२१ मा एक्स्पो कोभिड-१९ का कारण हुन सकेको थिएन । यसपटकको आठौँ संस्करणको एक्स्पोमा १६० कक्ष रहने छन् । औषधि क्षेत्रमा नयाँ प्रविधिको खोजी गरिरहेका विभिन्न १२३ बहुराष्ट्रिय कम्पनी र ३७ स्वदेशी औषधि उद्योगका कक्ष एक्स्पोमा रहने छन् ।
एक्स्पोका अवसरमा विभिन्न प्राविधिक गोष्ठी हुनेछन् । एक्स्पोमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, औषधि व्यवस्था विभाग, नेपाल फार्मेसी काउन्सिल, नेपाल औषधि व्यवसायी संघ, नेपाल औषधि थोक व्यवसायी संघ, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल फर्मास्युटिकल एशोसिएशन र नेपाल फार्मेसी संघको आवद्धता छ ।
प्रकाशित समय : १४:०८ बजे




















