गृहपृष्ठ नाडा अटो शो २०२६ भदौ १० देखि काठमाडौंमा
नाडा अटो शो २०२६ भदौ १० देखि काठमाडौंमा
काठमाडौं । नेपालको प्रमुख अटोमोबाइल प्रदर्शनी नाडा अटो शो २०२६ आगामी भदौ १० देखि १५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गर्ने प्रदर्शनीको शीर्ष प्रायोजक एचपी लुब्रिकेन्ट्स रहेको छ।
नाडाको ५०औँ वार्षिकोत्सवको अवसरमा यस वर्षको प्रदर्शनीलाई ‘गोल्डेन जुबिली संस्करण’का रूपमा भव्य रूपमा आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। छ दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा नेपालको तीव्र रूपमा विस्तार भइरहेको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रका आर्थिक, सामाजिक र व्यावसायिक पक्षलाई समेटिनेछ।
करिब ३ लाख वर्गफिट क्षेत्रमा सञ्चालन हुने प्रदर्शनीमा २ सयभन्दा बढी ठूला तथा साना स्टल रहनेछन्। प्रदर्शनीमा यात्रुवाहक सवारीका २३ ब्रान्ड, हलुका व्यावसायिक सवारीका १७ ब्रान्ड, दुईपांग्रे सवारीका १३ ब्रान्ड तथा वित्तीय र बिमा सेवाका १० प्रदायक सहभागी हुनेछन्।
त्यस्तै, अटो पार्ट्स, एसेसोरिज, टायर, लुब्रिकेन्ट्स, ग्यारेज उपकरण तथा अन्य अटोमोबाइलसम्बन्धी उत्पादन र सेवाका करिब ७० प्रदर्शक रहने आयोजकले जनाएको छ। नेपालमै एसेम्बल गरिएका सवारीसाधनका साथै स्वदेशमा उत्पादन वा एसेम्बल गरिएका लुब्रिकेन्ट्स, ब्याट्री, हेल्मेटलगायत सामग्रीसमेत प्रदर्शनीमा राखिनेछन्।
यस वर्षको नाडा अटो शोमा नयाँ प्रविधि र भविष्यको मोबिलिटीलाई समेत विशेष प्राथमिकता दिइने भएको छ। प्रदर्शनीमा जी–वान ह्युमानोइड रोबोट र गो–टु क्वाड्रुपेड रोबोट प्रदर्शन गरिनेछ। ‘मेड इन नेपाल, मेड फर नेपाल’ नामक छुट्टै प्याभिलियनमार्फत नेपालमा एसेम्बल तथा उत्पादन भइरहेका सवारीसाधन र अटोमोबाइलसम्बन्धी सामग्री प्रवर्द्धन गरिनेछ।
प्रदर्शनीका क्रममा विभिन्न सवारीसाधनका नयाँ मोडल तथा भेरियन्ट सार्वजनिक गरिने आयोजकले जनाएको छ। स्मार्ट मोबिलिटी, दिगो अटोमोबाइल क्षेत्रको विकास तथा कनेक्टिभिटीलगायत विषयमा सिम्पोजियमसमेत आयोजना हुनेछ।
आयोजकका अनुसार प्रदर्शनीमा दुईपांग्रे, चारपांग्रे, वित्तीय संस्था, अटो कम्पोनेन्ट र ग्यारेज उपकरणका लागि छुट्टाछुट्टै क्षेत्र निर्धारण गरिनेछ। आगन्तुकले खल्ती एपमार्फत अग्रिम टिकट खरिद गर्न सक्नेछन् भने सीमित अवधिका लागि टिकटमा ५० प्रतिशतसम्म क्यासब्याकको व्यवस्था गरिएको छ।
प्रदर्शनीस्थलमा सञ्चारकर्मीका लागि छुट्टै मिडिया डेस्क, ट्राफिक व्यवस्थापनका लागि महानगरीय ट्राफिक प्रहरीसँगको सहकार्यमा सूचना डेस्क, क्याफेटेरिया तथा आपत्कालीन स्वास्थ्य र सुरक्षा सेवाको व्यवस्था गरिनेछ। सीसीटीभी निगरानी, अग्नि नियन्त्रण तथा आपत्कालीन स्वास्थ्य टोली परिचालन गरिने आयोजकले जनाएको छ।
सवारी पार्किङका लागि नेपाल प्रहरी क्लबको ब्लु प्याभिलियनअन्तर्गतको भूमिगत पार्किङ तथा सिंहदरबारस्थित राष्ट्रिय व्यापार निगमको परिसरमा थप व्यवस्था गरिनेछ। प्रदर्शनीस्थललाई ह्विलचेयरमैत्री बनाइनेसमेत आयोजकले जनाएको छ।
नाडाले अटोमोबाइल क्षेत्रका व्यवसायी, उद्योगी, प्रतिनिधि, सञ्चारकर्मी तथा सर्वसाधारणलाई प्रदर्शनीमा सहभागी भई नेपालमा विकास भइरहेको नयाँ मोबिलिटी प्रविधि र उत्पादनको प्रत्यक्ष अवलोकन गर्न आह्वान गरेको छ।
नाडा अटो शो २०२६ का सह–प्रायोजक तथा बिमा साझेदार शिखर इन्स्योरेन्स, पेय पदार्थ साझेदार क्याम्पा, चार्जिङ साझेदार जीआई चार्जर, हस्पिटालिटी साझेदार द प्लाजा, टिकटिङ साझेदार खल्ती बाई आईएमई, हाइड्रेसन साझेदार पूर्ण वाटर, मोबिलिटी साझेदार याङ्गो, फायर सेफ्टी साझेदार हिट्को, कनेक्टिभिटी साझेदार वर्ल्डलिंक, सर्भिलेन्स साझेदार हिकभिजन सीसीटीभी नेपाल, अस्पताल साझेदार अल्का अस्पताल र फुड पार्टनर द बेकरी क्याफे रहेका छन्। प्रदर्शनीको व्यवस्थापन ग्लोबल एक्स्पोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेसले गर्नेछ।
प्रकाशित समय : १०:०६ बजे


















