गृहपृष्ठ गरिमा विकास बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा स्थानान्तरण
गरिमा विकास बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा स्थानान्तरण
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले काठमाडौंको बालुवाटारमा नवनिर्मित आफ्नै स्वामित्वको भवनबाट केन्द्रीय कार्यालय सञ्चालनमा ल्याएको छ। बैंकको केन्द्रीय कार्यालय स्थानान्तरण गरिएको अवसरमा बुधबार एक समारोहबीच नयाँ कार्यालयको उद्घाटन गरिएको हो।
काठमाडौं महानगरपालिका–३ बालुवाटारस्थित नवनिर्मित भवनको नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले उद्घाटन गरेका हुन्। नयाँ कार्यालय सञ्चालनमा आएसँगै लाजिम्पाटमा रहेको बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा स्थानान्तरण भएको छ।
गरिमा विकास बैंकले २०६४ साल कात्तिक १८ गते स्याङ्जाको वालिङबाट औपचारिक रूपमा वित्तीय कारोबार सुरु गरेको थियो। त्यसपछि २०६७ साल वैशाख १ गते केन्द्रीय कार्यालय कास्कीको महेन्द्रपुलमा स्थानान्तरण गरेको बैंक राष्ट्रियस्तरको विकास बैंकमा स्तरोन्नति भएपछि २०७३ साल चैत २७ गते पोखराबाट काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय सारेको थियो।
नवनिर्मित केन्द्रीय कार्यालय उद्घाटनका अवसरमा कार्यालय परिसरमा निर्माण गरिएको मन्दिरमा शिव पाञ्चायन प्राण प्रतिष्ठासहित धार्मिक पूजाआजासमेत गरिएको बैंकले जनाएको छ।
उद्घाटन समारोहमा नेपाल राष्ट्र बैंकका गभर्नर पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्ट, विभिन्न नियामक निकायका पदाधिकारी, बैंकका सञ्चालक समिति सदस्य तथा पूर्वपदाधिकारी, उच्च व्यवस्थापनका अधिकारी, विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत, शेयरधनी, कर्मचारी र ग्राहकको सहभागिता रहेको थियो।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायले स्याङ्जाको वालिङबाट सुरु भएको बैंकको यात्रा पोखरा हुँदै काठमाडौंसम्म आइपुगेको र आफ्नै स्वामित्वको भवनबाट केन्द्रीय कार्यालय सञ्चालनमा आएसँगै बैंकको यात्रामा नयाँ अध्याय थपिएको बताए।
उनले बैंकको व्यावसायिक सफलतामा लाखौँ ग्राहक, हजारौँ शेयरधनी, नियामक निकाय, व्यावसायिक साझेदार तथा कर्मचारीको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै संस्थागत सुशासनलाई समेत सफलताको आधारका रूपमा प्रस्तुत गरे।
त्यस्तै, बैंकका अध्यक्ष दिलिप प्रताप खाँणले ग्राहकलाई थप सहज, प्रभावकारी र गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराउँदै संस्थागत सुशासन, प्रविधि, नवप्रवर्तन र दिगो विकासलाई प्राथमिकतामा राखेर बैंकलाई थप सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।
गरिमा विकास बैंकका अनुसार हाल देशभर १२६ शाखा कार्यालय र ५१ वटा एटीएममार्फत करिब १० लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ। बैंकले सरल, सुरक्षित र गुणस्तरीय बैंकिङ सेवासँगै नवीनतम प्रविधिमा आधारित सेवा विस्तारलाई प्राथमिकता दिँदै आएको जनाएको छ।
प्रकाशित समय : १०:१४ बजे


















