इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति
वि.सं.२०८३ कात्तिक ९ सोमवार १४:२४
shares

सारांश
- इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले एक सातासम्म गरेको आन्दोलनका कारण इटालीको दक्षिणी क्षेत्रमा इन्धन अभाव चर्किएको छ ।
- इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले एक सातासम्म गरेको आन्दोलनका कारण इटालीको दक्षिणी क्षेत्रमा इन्धन अभाव चर्किएको छ ।
- आन्दोलनका कारण दक्षिणी इटालीका विभिन्न स्थानमा इन्धन वितरण रोकिएको थियो ।
काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले एक सातासम्म गरेको आन्दोलनका कारण इटालीको दक्षिणी क्षेत्रमा इन्धन अभाव चर्किएको छ । आन्दोलनले आपूर्ति शृंखला प्रभावित हुँदा पेट्रोल पम्पमा लामो लाइन लागेको छ भने सुपरमार्केटमा समेत सामानको अभाव देखिन थालेको छ ।
विशेषगरी क्याम्पानिया क्षेत्र र नेपल्स शहरमा इन्धन आपूर्ति प्रभावित भएको छ । इन्धन अभावका कारण यातायात तथा वितरण प्रणाली अवरुद्ध हुँदा ताजा खाद्यवस्तुको आपूर्ति र व्यवसायमा समेत असर परेको छ ।
आन्दोलनका कारण दक्षिणी इटालीका विभिन्न स्थानमा इन्धन वितरण रोकिएको थियो । क्याम्पानिया क्षेत्रमा तीन दिनसम्म प्रशोधन केन्द्रबाट पेट्रोल बाहिरिन नसकेको माज्जोटा ग्रुपका कर्मचारी एन्जेलो रुसिएल्लोले बताएका छन् ।
इन्धन अभावका कारण सर्वसाधारणले पेट्रोल पम्पमा लामो समय कुर्नुपरेको छ । व्यवसाय सञ्चालनको लागत बढ्दा कतिपय चालकका लागि आफ्नो व्यवसाय निरन्तरता दिन कठिन भएको छ ।
‘अवस्था गम्भीर छ । हाम्रो आफ्नै र हाम्रा बालबालिकाको भविष्यसमेत देख्न नसक्ने अवस्था आएको छ,’ एक मोटरसाइकल चालकले भने । अर्का स्थानीय बासिन्दाले इन्धन अभाव र बेरोजगारीका कारण जनजीवन कठिन बनेको बताएका छन् ।
ट्रक चालकको आन्दोलनले खाद्यवस्तु वितरणमा समेत असर पारेको छ । सुपरमार्केटमा पेट्रोल र डिजेल अभावका कारण सामान ढुवानी प्रभावित हुँदा दैनिक उपभोग्य वस्तुको आपूर्ति कमजोर बनेको स्थानीयले बताएका छन् ।
विशेषगरी छिट्टै बिग्रने खाद्यवस्तुको क्षेत्रमा ठूलो क्षति भएको छ । ताजा खाद्यवस्तु समयमा बजारसम्म पु¥याउन नसक्दा उत्पादकले ठूलो परिमाणमा सामान गुमाउनुपरेको छ ।
क्याम्पानिया क्षेत्रको चर्चित ‘मोजारेला दी बुफाला क्याम्पाना’ उत्पादनसमेत प्रभावित भएको छ । भैँसीको ताजा दूधबाट बनाइने उक्त चीज उपभोक्तासम्म छिटो पु¥याउनुपर्ने भएकाले ढुवानी अवरुद्ध हुँदा उत्पादकलाई प्रत्यक्ष असर परेको हो ।
मोजारेला दी बुफाला क्याम्पाना संरक्षणसम्बन्धी कन्सोर्टियमका अध्यक्ष डोमेनिको राइमोन्डोका अनुसार यस क्षेत्रका ९८ साझेदारको दैनिक क्षति करिब ३२ लाख युरो पुगेको छ । तीन दिनको अवधिमा मात्रै १ करोडदेखि १ करोड २० लाख युरोसम्मको क्षति भएको उनले बताएका छन् । उनका अनुसार बिग्रिएका खाद्यवस्तुबाट भएको क्षति पछि पूर्ति गर्न सकिने अवस्था छैन ।
आन्दोलन चर्किएपछि इटाली सरकारले ट्रक चालकलाई कर छुटमार्फत सहयोग गर्न ११ करोड ८० लाख अमेरिकी डलरभन्दा बढीको सहायता स्वीकृत गरेको छ । यससँगै उक्त क्षेत्रका लागि सरकारले उपलब्ध गराएको कुल सहयोग करिब ६० करोड अमेरिकी डलर पुगेको छ ।
तर, व्यवसायीले सरकारी सहायता पर्याप्त नभएको बताएका छन् । माज्जोटा ग्रुपकी सञ्चालक राफाएला माज्जोटाका अनुसार सरकारले उपलब्ध गराएको रकम नयाँ सहायता नभई व्यवसायीले पहिले नै पाउनुपर्ने सुविधाको निरन्तरता मात्रै हो ।
उनले डिजेलको मूल्य प्रतिलिटर २.३० देखि २.४० युरोसम्म पुग्नु असह्य भएको भन्दै मूल्यमा अधिकतम सीमा तोक्न माग गरेकी छन् । ट्रक चालकहरूले इन्धनको बढ्दो मूल्यले व्यवसाय सञ्चालन गर्न कठिन भएको र सरकारले पर्याप्त सहयोग नगरेको गुनासो गरेका छन् । उनीहरूले इन्धनको मूल्य नियन्त्रण तथा व्यवसायलाई टिकाइराख्न सक्ने व्यवस्था गर्नुपर्ने माग राखेका छन् ।
सरकारले आर्थिक सहायता घोषणा गरे पनि इन्धनको मूल्य नियन्त्रण र ढुवानी व्यवसायको लागत घटाउने विषयमा ठोस समाधान नआए संकट पुनः दोहोरिन सक्ने व्यवसायीहरूको चिन्ता छ ।
























