काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

धान दाइँमा आधुनिक थ्रेसरको प्रयोग बढ्दै

903
shares

ai logo सारांश

  • कपिलवस्तुका किसान धान छार्ने आधुनिक थ्रेसर मेसिनको प्रयोगतर्फ आकर्षित हुन थालेका छन्।
  • राकेश कुर्मीका अनुसार मेसिन प्रयोग गर्दा समय र श्रम बचत हुनुका साथै खर्च समेत कम लाग्ने गरेको छ।

कपिलवस्तु। कामदारको अभाव र ज्याला खर्च बढ्दै गएपछि कपिलवस्तुका किसान धान छार्ने आधुनिक थ्रेसर मेसिनको प्रयोगतर्फ आकर्षित हुन थालेका छन्।

धान काटेर भित्र्याउने समयमा खेताला पाइन छाडेपछि परम्परागत दाइँ र छार्न समय र खर्च धेरै लाग्ने भएपछि किसानले थ्रेसर मेसिनको प्रयोग बढाएका हुन्।

जिल्लाका अधिकांश स्थानमा पाकिसेको धान भित्र्याउने चटारोसँगै किसानले धान र पराल छुट्याउन थ्रेसरको प्रयोग गरिरहेका छन्। कपिलवस्तु नगरपालिका–६ थुम्हवाका कृषक प्रभु धोवी गाउँमा कामदार पाउन मुस्किल हुने र पाइए पनि कामदारको ज्याला महँगो पर्ने बताउँछन्।

“थ्रेसर मेसिनबाट काम गर्दा छिटो हुन्छ र खर्च पनि कम लाग्छ। त्यसैले धान भित्र्याउन मेसिनकै भर पर्न थालेका छौं”, उनले भने। महाराजगञ्ज नगरपालिका–२ पडरियाका कृषक विनोद भुजले पनि थ्रेसर मेसिनले खेतीपातीको काम सहज बनाएको बताए।

गोरु र कृषि मजदुरको अभाव बढ्दै गएको अवस्थामा सानो आकारका थ्रेसर मेसिन खेतसम्म लैजान र प्रयोग गर्न सजिलो भएको उनको भनाइ छ। बिहान, दिउँसो तथा साँझ समेत मेसिन प्रयोग गर्न सकिने भएकाले किसानलाई सुविधा पुगेको उनले बताए।

थ्रेसर मेसिन सञ्चालक राकेश कुर्मीका अनुसार मेसिन प्रयोग गर्दा समय र श्रम बचत हुनुका साथै खर्च समेत कम लाग्ने गरेको छ। उनले धान र पराल छुट्याए बापत प्रतिघण्टा दुई हजार ५०० देखि तीन हजार रुपैयाँसम्म लिने गरेको बताए। जिल्लामा थ्रेसर मेसिनको माग बढ्दै गएको उनको भनाइ छ।

आधुनिक प्रविधिको प्रयोगले कृषि कार्य सहज भए पनि परम्परागत दाइँ संस्कृतिको संरक्षणमा पनि ध्यान दिनुपर्ने कृषक श्यामलाल धोबीले बताए। कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख घनश्याम चौधरीका अनुसार जिल्लामा ८४ हजार ५९१ हेक्टर खेती गरिँदै आएको बताए।

त्यसमध्ये यस वर्ष ६३ हजार ६४८ हेक्टरमा धान खेती गरिएको प्रमुख चौधरीको भनाइ छ। गत वर्ष जिल्लामा ६६ हजार २६५ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको उनले बताए । जिल्लाका १० वटै स्थानीय तहका किसानले धान र पराल छुट्याउन थ्रेसर मेसिनको प्रयोग गर्दै आएका छन्।