गृहपृष्ठ पुरानो गाडी दिएर नयाँ पञ्च ईभी र टियागो ईभी साट्न सकिने
पुरानो गाडी दिएर नयाँ पञ्च ईभी र टियागो ईभी साट्न सकिने
काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले टाटा कार्निभलको चौथो संस्करण आयोजना गर्ने भएको छ। भदौ ४ देखि ७ गतेसम्म सञ्चालन हुने कार्निभलमा ग्राहकले आफ्नो पुरानो गाडी दिएर नयाँ पञ्च ईभी वा टियागो ईभी खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार पुरानो गाडीलाई डाउन पेमेन्टका रूपमा प्रयोग गरी टाटा मोटर्सका नयाँ विद्युतीय गाडी खरिद गर्न सकिनेछ। कार्निभल अवधिमा टाटा गाडी बुकिङ गर्ने ग्राहकलाई विशेष सहुलियतसमेत उपलब्ध गराइने भएको छ।
योजनाअन्तर्गत ग्राहकले पुरानो गाडीको उत्कृष्ट एक्सचेन्ज मूल्यांकन, आजीवन निःशुल्क डीसी फास्ट चार्जिङ, एक वर्षको सवारी कर छुट, निःशुल्क एसेसोरिज र निःशुल्क होम चार्जिङ जडान सुविधा पाउने कम्पनीले जनाएको छ।
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को अवसरमा टाटा मोटर्सले नयाँ पञ्च ईभी र टियागो ईभी नेपाली बजारमा सार्वजनिक गरेको थियो। नयाँ पञ्च ईभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ र टियागो ईभीको सुरुवाती मूल्य २८ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ।
एक्टि.इभी प्लेटफर्ममा आधारित पञ्च ईभी ३२ किलोवाट घण्टा र ४० किलोवाट घण्टा क्षमताका दुई ब्याट्री विकल्पमा उपलब्ध छ। नेपालमा गरिएको परीक्षणअनुसार यसले एकपटक पूर्ण चार्ज गर्दा ३०० देखि ३२५ किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीको दाबी छ।
पञ्च ईभीमा १९५ मिलिमिटरको ग्राउन्ड क्लियरेन्स, बीएनसीएपीको पाँचतारे सुरक्षा मूल्यांकन, ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, डीसी फास्ट चार्जिङ, आवाजबाट सञ्चालन गर्न सकिने सनरुफ, २६.०३ सेन्टिमिटरको हर्मन इन्फोटेनमेन्ट तथा डिजिटल ककपिट, भेन्टिलेटेड सिट र ३६६ लिटरको बुट स्पेसलगायत सुविधा छन्।
त्यस्तै, दैनिक आवतजावतलाई लक्षित गरी ल्याइएको नयाँ टियागो ईभीमा नयाँ डिजाइन र विभिन्न आकर्षक रङका साथै ३६० डिग्री एचडी क्यामेरा, २६.०३ सेन्टिमिटरको इन्फोटेनमेन्ट प्रणाली र ६ वटा एयरब्यागलगायत सुरक्षा तथा सुविधाजन्य उपकरण उपलब्ध छन्।
चार दिन सञ्चालन हुने कार्निभलमार्फत ग्राहकलाई नयाँ विद्युतीय गाडी खरिदका लागि एक्सचेन्जसहित विभिन्न सुविधा उपलब्ध गराउने उद्देश्य रहेको सिप्रदी ट्रेडिङले जनाएको छ।
प्रकाशित समय : १०:०२ बजे


















