गृहपृष्ठ १९ हिमाल आरोहणका लागि ६५ देशका आरोही, ३७ करोड रोयल्टी संकलन

१९ हिमाल आरोहणका लागि ६५ देशका आरोही, ३७ करोड रोयल्टी संकलन

१९ हिमाल आरोहणका लागि ६५ देशका आरोही, ३७ करोड रोयल्टी संकलन

वसन्त ऋतु पर्वतारोहणका लागि उपयुक्त मौसम मानिन्छ । हरेक वर्ष यस याममा सर्वोच्च शिखर सगरमाथा (८८४८.८६ मिटर) सहितका हिमाल तथा पिक आरोहणका लागि उल्लेख्य संख्यामा स्वदेशी तथा विदेशी आरोही आउँछन् । कोभिड-१९ महामारीपछि विस्तारै पर्यटन क्षेत्र तंग्रिने क्रममा छ । पर्यटनको महत्वपूर्ण पाटोको रुपमा रहेको पर्वतारोहणमा पनि केही उत्साह देखिएको छ ।

यस याममा विशेषगरी पर्वतारोहण र पदयात्राका लागि उल्लेख्य मात्रामा विदेशी पर्यटक नेपाल आउँछन् । आन्तरिक पर्यटक पनि उत्तिकै संख्यामा गन्तव्य भ्रमणमा निस्कन्छन् । यतिखेर पर्वतारोहणका मुख्य सिजन पनि भएकाले आरोही उल्लेख्य संख्यामा आइरहेका हुन् । हिमाल आरोहणका लागि निकै उत्साहजनक भएको व्यवसायीको भनाइ छ । यस वर्ष (सन् २०२२) को वसन्त याममा सगरमाथा आरोहणका लागि उल्लेख्य संख्यामा आरोही आएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागका अनुसार सगरमाथा आरोहणका लागि मात्रै हालसम्म ३१ आरोही समूहका २५० आरोहीले आरोहण अनुमति लिएका छन् । विभागको पर्वतारोहण शाखाको तथ्यांकमा १३ अप्रिलसम्म ८४ आरोहण दलका ६८९ आरोहीलाई अनुमति जारी भएको छ । हिमाल आरोहणबाट हालसम्म  ३७ करोड ३८ लाख ५१ हजार ४२१ रूपैयाँ रोयल्टी उठेको छ ।

४५ देशका देशका आरोही

सगरमाथासहितका विभिन्न १९ हिमाल तथा चुली आरोहणका लागि नेपालसहित ६५ देशका आरोही धमाधम अनुमति लिएर गन्तव्यतिर निस्किएका हुन् । तीमध्ये सगरमाथा आरोहणका लागि मात्रै ४५ देशका ५६ पुरुष र १९४ गरी कूल २५० आरोही आएका छन् । सगरमाथा हिमालबाट मात्रै रु ३१ करोड बढी रोयल्टी संकलन भएको छ । अघिल्लो वर्ष सन् २०२१ को वसन्त यामको सगरमाथा आरोहणमा हालसम्मकै सर्वाधिक ४३ आरोही समूहले आरोहण अनुमति लिएका थिए । यो वर्षपनि कोभिडपछि पर्यटन क्षेत्र चलायमान बनिरहेको र पर्वतारोहणका लागि अनुकूल मौसम भएकाले आरोही बढ्नसक्ने पर्यटन विभागको अनुमान छ ।

हिमाल आरोहणमा निकै उत्साहजनक भएको व्यवसायीको भनाइ छ । नेपाल पर्वतारोहण संघका निवर्तमान अध्यक्ष एवं वरिष्ठ पर्यटन व्यवसायी आङ्छिरिङ शेर्पाले कोभिड कहरपछि विस्तारै पर्यटनका अन्य क्षेत्रजस्तै पर्वतारोहणमा पनि केही उत्साह थपिएको बताए । 'अघिल्ला वर्षहरुको तुलनामा त आरोहीको संख्या कमै देखिएको छ, तर, विदेशी आरोहीको मोह बढ्नु नेपालको पर्यटनका लागि सुखद् कुरा हो । पर्वतारोही विस्तारै बढिरहेका छन्,' उनले भने ।

सगरमाथामा कति आरोही

वसन्त आरोहणका लागि मे महिनाभर नै पर्वतारोही आउने भएकाले आरोहीको संख्या बढ्न सक्ने विभागको अनुमान छ । अप्रिल पहिलो सातादेखि मे महिनाको अन्तिमसम्म सगरमाथा आरोहण हुन्छ । व्यवसायी शेर्पाका अनुसार विगत वर्षको तुलनामा सगरमाथा आरोहणमा आरोहीको संख्या घटेको छ । सन् २०२१ मा ४१२ विदेशी आरोही सगरमाथाको चुचुरोमा पुगेका थिए । हालसम्म सबैभन्दा बढी सन् २०१९ मा सगरमाथाको दुवै मोहोडाबाट चुचुरोमा पुग्ने विदेशी आरोहीको संख्या ४०० को हाराहारीमा थियो । यकिन तथ्यांक नभए पनि हालसम्म सगरमाथाको करिब ८ हजार आरोहीले आरोहण गरिसकेको बताइएको छ ।

अहिलेसम्म कामीरिता शेर्पाले सगरमाथाको २५ पटक आरोहण गरेर विश्वकीर्तिमान बनाएका छन् । शेर्पाले सन् २०२१ मा यसअघिको आफ्नै २४ पटकको कीर्तिमान तोडेर नयाँ रेकर्ड बनाएका थिए । सेभेन समिट ट्रेक्स प्रालिका प्रवन्ध निर्देशक मिङमा शेर्पाले वसन्त यामको आरोहण उत्साहवर्दधक रहेको बताए । सेभेनसमिट ट्रेकबाट मात्रै हालसम्म १५० विदेशी आरोही आरोहणमा गएका छन् । तीमध्ये सगरमाथा आरोहणका लागि मात्रै ६० जना आरोही छन् । यो कम्पनीबाट अघिल्लो वर्षको वसन्त आरोहणमा १०० विदेशी आरोहीले सगरमाथा आरोहणमा गएका थिए । अबको दुई महिनासम्म आरोही आउने भएकाले यस याममा पर्वतारोहीको संख्या बढ्ने उनको भनाइ छ । उनले भने, 'कोभिडपछि राम्रै पिक अप लिएको छ । यस वर्षको आरोहण उत्साहवर्द्धक हुने देखिन्छ ।' यो वर्ष विदेशी आरोही मात्रै ४०० हाराहारीले सगरमाथा आरोहण गर्ने एक्पिडिसन कम्पनीको अनुमान छ ।

कुन हिमालमा कति आरोही ?

यस यामको सगरमाथा आरोहणका लागि स्वदेशी तथा विदेशी आरोही धमाधम आरोहण अनुमति लिएर गन्तव्यतिर निस्किरहेका छन् । अहिलेसम्म सगरमाथा (८८४८.८६ मिटर) आरोहणका लागि मात्रै ३१ समूहका २५० आरोहीले अनुमति लिएका छन् । त्यस्तै, माउन्ट ल्होत्से (८५१६ मिटर) आरोहणका लागि नौ समूहका ६४ आरोहीले अनुमति लिएका छन् । अमादब्लम (६८१४ मिटर) आरोहणका लागि ६ समूहका ६५ आरोहीले अनुमति पाएका छन् । कञ्चनजंघा (८५८६ मिटर) आरोहणका लागि ५ समूहका ६१ आरोहीले अनुमति लिएका छन् । नुस्से (७८५५ मिटर) मा ५ समूहका ३८ आरोही छन् ।

त्यसैगरी अन्नपूर्ण (८०९१ मिटर) आरोहणा लागि ४ समूहका २६, धौलागिरी (८१६७ मिटर) आरोहणका लागि दुई आरोही समूहले आरोहण अनुमति लिएका छन् । मिलुङ चुलीका लागि दुई, भेम्दोङ, गंगापूर्ण र थापा पिकका लागि तीन आरोही समूहले आरोहण अनुमति लिएको विभागको पर्वतारोहण शाखाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । (रासस)

प्रकाशित समय : ००:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु