nmb bank

गृहपृष्ठ आलु आयातको ग्राफ पाँच वर्षदेखि निरन्तर बढ्दो

आलु आयातको ग्राफ पाँच वर्षदेखि निरन्तर बढ्दो

आलु आयातको ग्राफ पाँच वर्षदेखि निरन्तर बढ्दो

हरेक भान्सामा प्रयोग हुने अनि लोकप्रिय तरकारी हो आलु । कृषिप्रधान देश भनिए पनि नेपालमा हरेक वर्ष आलुलगायत अन्य खाद्यान्नको आयातमा उच्च वृद्धि भइरहेको छ । पछिल्लो पाँच वर्षदेखि नेपालमा आलु आयातको ग्राफ बढ्दो रहेको भन्सार विभागको तथ्यांकले देखाउँछ । नेपालमा हरेक सिजनमा आन्तरिक कृषकहरूले उत्पादन गरेको आलु बजारमा देख्न सकिन्छ । तर, आन्तरिक उत्पादनले बजार धान्न नसक्ने भएपछि उच्च रूपमा आयात हुने गरेको विभागले जनाएको छ ।

नेपालमा हरेक वर्ष आलु आयातमा वृद्धि भइरहेको छ । आलु उत्पादन गर्ने क्षमता र सम्भावना नेपालमै भए पनि नेपालले हरेक महिना अर्बौको आलु आयात गरिरहेको छ । तरलताको अभाव, वैदेशिक मुद्रा सञ्चितिमा समस्या उत्पन्न भएको बेला आलुलगायत अन्य अर्बौं रुपैयाँका खाद्यान्नहरु नेपालले आयात गरिरहेको छ ।

नेपालले एक वर्षमा भारतबाट झण्डै साढे ७ अर्ब रुपैयाँ बराबरको आलु आयात गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७७/७८ मा ७ अर्ब ३० करोड ७० लाख रुपैयाँको आलु आयात भएको छ । सो तथ्यांक हालसम्मकै उच्च हो । आयातित आलुबाट नेपालले ६८ करोड १३ लाख रुपैयाँ भन्सार महसुल संकलन गरेको थियो । चालु आर्थिक वर्षको पछिल्लो ८ महिनामा मात्रै नेपालमा ६ अर्ब ५४ करोड ५५ लाख रुपैयाँको २६ करोड २४ लाख ५१ हजार केजी आलु आयात भएको छ । उक्त आलुबाट नेपालले ६० करोड ६२ लाख रुपैयाँ भन्सार महसुल संकलन गरेको छ । 

नेपालले आव २०७६/७७ मा ६ अर्ब ३२ करोड ८५ लाख रुपैयाँको २५ करोड २२ लाख ३९ हजार केजी आयात गरेको थियो । आव २०७५/७६ मा ५ अर्ब ८१ करोड १७ लाखको २७ करोड ३९ लाख ८४ हजार केजी र आव २०७४/७५ मा ५ अर्ब ७४ करोड २४ लाख रुपैयाँको ३५ करोड ५४ लाख ४१ हजार केजी आलु आयात गरेको थियो । उक्त आलु नेपालले भारत र बंगलादेशबाट आयात गर्दै आएको हो ।

५ वर्षमा २ करोड बढीको आलुको बिउ आयात

नेपालले खानाका लागि मात्रै नभएर उत्पादनका लागि आवश्यक आलुको बिउ पनि उच्च रूपमा आयात गरेको विभागको तथ्यांकले देखाएको छ । नेपालले ५ वर्षको अवधिमा मात्रै २ करोड रुपैयाँ बढीको आलुको बिउ आयात गरेको छ । नेपालले आव २०७४/७५ देखि चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा २ करोड १८ लाख ८३ हजार केजी आलुको बिउ आयात गरेको छ । नेपालले आव २०७४/७५ मा १ करोडको आलुको बिउ आयात गरेको थियो भने आव २०७५/७६ मा ७४ लाख ५९ हजारको, आव २०७६/७७ मा २ लाख ८१ हजार, आव २०७७/७८ मा २७ लाखको र चालु आवको फागुन मसान्तसम्ममा १३ लाख ४० हजारको आलुको बिउ मात्रै आयात गरेको भन्सार विभागको तथ्यांकले देखाउँछ ।

वार्षिक साढे १ अर्बको आलुको चिप्स आयात आलु

आलुको बिउसँगै आलुको चिप्स ‘फ्रेन्चफ्राई’ पनि उच्च रूपमा आयात भइरहेको छ । वार्षिक रूपमा नेपालले आलुको चिप्स मात्रै करिब साढे १ अर्बको आयात गरेको तथ्यांकले देखाउँछ । गत वर्षमात्रै नेपालले १ अर्ब ४६ करोड १४ लाख रुपैयाँको ५ करोड ७६ लाख ८९ हजार केजी आलु चिप्स आयात गरेको थियो ।

त्यस्तै, चालु आवको ८ महिनाको अवधिमा मात्रै नेपालले २६ करोड ७२ लाखको आलु चिप्स आयात गरेको छ । आर्थिक वर्ष २०७६/७७ मा नेपालले १ अर्ब ९६ करोड ३९ लाखको ७ करोड ९७ लाख ५७ हजार केजी, आव २०७५/७६ मा १ अर्ब ५० करोड ५१ लाखको ७ करोड २८ लाख ८८ हजार केजी र आव २०७४/७५ मा ६० करोड ३२ लाख रुपैयाँको २ करोड ९० लाख ६२ हजार केजी आलुको चिप्स आयात गरेको तथ्यांमा उल्लेख गरिएको छ ।

प्रकाशित समय : १७:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु