गृहपृष्ठ पुँजी वृद्धिसम्बन्धी व्यवस्थाको चरम मारमा दुई बिमा कम्पनी
पुँजी वृद्धिसम्बन्धी व्यवस्थाको चरम मारमा दुई बिमा कम्पनी
बिमा कम्पनीहरुको नियमनकारी निकाय बिमा समितिले यही चैत्र १० गते जारी गरेको बिमा कम्पनीहरुको न्युनतम चुक्ता पुँजीसम्बन्धी व्यवस्थाको चरम मारमा यतिखेर दुईवटा सरकारी बिमा कम्पनीहरु परेका छन् ।
समितीको न्युनतम चुक्ता पुँजीसम्बन्धी पुरानो व्यवस्थाअनुसार जीवन बिमा कम्पनीहरुको न्युनतम चुक्ता पुँजी दुई अर्ब रुपैयाँ हुनुपर्ने छ भने निर्जिवन बिमा कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँ हुनुपर्ने छ । तर सरकारी स्वामित्वमा सञ्चालनमा रहेको जीवन बिमासम्बन्धी कारोबार गर्ने राष्ट्रिय बिमा संस्थानको हालकै अवस्थामा चुक्ता पुँजी १८ करोड १० लाख २० हजार रुपैयाँ रहेको छ भने निर्जिवन बिमासम्बन्धी कारोबार गर्ने राष्ट्रिय बिमा कम्पनीको चुक्ता पुँजी २६ करोड ६६ लाख ३९ हजार रुपैयाँ रहेको छ ।
यी दुई कम्पनीहरुको हाल कायम रहेको चुक्ता पुँजीको अवस्थालाई हेर्दा पुरानै व्यवस्था अनुसारको न्युनतम चुक्ता पुँजी समेत कायम गर्न नसकेको अवस्था रहेको छ । तर समितिको नयाँ व्यवस्थाअनुसार जीवन बिमा कम्पनीहरुले पाँच अर्ब र निर्जिवन बिमा कम्पनीहरुले दुई अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी कायम गर्नु पर्ने छ । यसको लागि २०७९ चैत्र मसान्तसम्मको समयसीमा तोकिएको छ भने अबको एक महिना भित्रमा पुँजी वृद्धिसम्बन्धी योजना पेस गरिसक्नु पर्ने हुन्छ ।
बिमा समितीको नयाँ व्यवस्थाअनुसार तोकिएको चुक्ता पुँजी पुर्याउन राष्ट्रिय बिमा संस्थानले हाल कायम रहेको १८ करोड २० लाख २० हजार रुपैयाँ चुक्ता पुँजीमा चार अर्ब ८० करोड रुपैयाँ पुँजी थप गर्नुपर्ने हुन्छ भने राष्ट्रिय बिमा कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी २६ करोड ६६ लाख ३९ हजार रुपैयाँमा एक अर्ब ७४ करोड रुपैंयाँ थप गर्नुपर्ने हुन्छ ।
तर यी दुई बिमा कम्पनीहरुको हालको अवस्थालाई हेर्दा बोनस र हकप्रदकै आधारमा तोकिएको न्यूनतम चुक्ता पुँजी कायम गर्न सक्ने अवस्था देखिएको छैन ।
प्रकाशित समय : १९:५८ बजे



















