गृहपृष्ठ बागमती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गर्न मन्त्रिपरिषद्को सिफारिस
बागमती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गर्न मन्त्रिपरिषद्को सिफारिस
बागमती प्रदेश सरकारले प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । बागमती प्रदेशको आज बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले बुधबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो ।
बैठकले प्रदेश सभाको चालु नवौँ अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय भएको बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले जानकारी दिए । उनका अनुसार, सरकारले बजेट निर्माणका लागि वर्षे अधिवेशन बोलाउनुपर्ने भएकाले हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का कारण करिब तीन महिना अवरुद्ध प्रदेशसभा बैठक पुन: सञ्चालन भएपछि दुई बैठक बसेर नवौँ अधिवेशन अन्त्य गरिएको हो । प्रदेशसभाको नवौँ अधिवेशनअन्तर्गत १२ वटा बैठक सञ्चालन भएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेश सभाको पछिल्लो समय गत फागुन २९ गते, ३० गते र चैत ८ गते बसेको बैठकले दुई वटा विधेयक पारित गरेको थियो भने अन्य तीन वटा विधेयक संशोधनको लागि पेश गरेको थियो ।
बागमती प्रदेश सभामा हाल १०९ सदस्य रहेका छन् । जसमा एमालेका ४३, माओवादीका २३, नेपाली कांग्रेसका २२, नेकपा (एकीकृत समाजवादी)का १३, विवेकशील साझाका तीन, नेमकिपाका दुई, राप्रपाका दुई र जसपाका एक जना सदस्य रहेका छन् ।
प्रकाशित समय : ००:४७ बजे