काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नाथे धन-सम्पत्तिको के कुरा !

23.42K
shares

बानेश्वरको मिनभवनस्थित नापी विभाग कार्यालय । यसको मुलगेटबाट दायाँपट्टि करिब ३०/४० मिटर पूर्वतिर लागेपछि सडक पेटीबाट दायाँतर्फ लाग्ने उकालो बाटो छ । सडकपेटी र त्यही उकालो बाटो छुट्टिने स्थानमा छ शान्ता राईको ‘मकै अखडा’ ।

अखडा यस अर्थमा कि, राईले त्यस स्थानमा कमसेकम ५/६ घण्टा नबिताएको कुनै दिन छैन । के हिउँद, के बर्खाको झरी । कठ्यांग्रिने चिसो र हावाहुरीको वेवास्ता गर्दै जीवनसँग भिडिरहेकी उनी त्यही कुनोमा भेटिन्छिन्, हरेक दिन । जब घाम ढल्दै जान्छ, शान्ता आफ्नो ५१ वर्षे ज्यानलाई उनै कुनोतिर लम्काउँछिन् । साथमा हुन्छ, एक बोरा हरियो मकैको घोघो । साथमा केही दाउरा । अनि सुरु हुन्छ उनको नियमित दिनचर्या- मकै पोल्ने, बेच्ने । जो ५ वर्षदेखि अविच्छिन्न चलिरहेछ ।

‘मकै धपेडी’ सुरू गर्नुअघि उनी भोजपुरमा थिइन् । भोजपुरको अरुण गाउँपालिका हो उनको पुर्ख्याैली थाँतथलो । जीवन भोगाइको लहरामा लहरिँदै-लहरिँदै उनी र उनको परिवार काठमाडौंवासी भएको हो । सायद सुख खोज्दै हो वा उनको पसिना यतै पोखिनु जुरेर । काठमाडौं खाल्डोमा उनी आफ्नो जीवनको बाँकी कहानी र सन्तानको भविश्य खोजिरहेकी छन् ।

धुवाँ फुसफुसाइरहेको थियो । टाउकोमा ऊनीको टोपी । त्यति नयाँझैं नलाग्ने घुर्मैलो रङको कुर्ता-सलवार । केही दिनअघि मकै अखडामा पुग्दा त्यहाँको माहौल र शान्ता राइको हुलिया यस्तै थियो । बोराले बेरेको पिर्का उकालो सडकमा जसोतसो अडाएर उनी उसैगरी धमाधममा थिइन् । मकैको खोस्टा नंग्याउनु, आगो मिलाउनु, मकै पल्ट्याउनु, ग्राहकलाई मकै दिनु र पैसा लिनु । यिनै, यस्तैले उनलाई भ्याइनभ्याइ बनाइरहेको थियो ।

मानिसको दैनिकी कसैको रोजाइमा हुन्छ, कसैको बाध्यतामा । शान्ताको दैनिकी सायद बाध्यताको हो । किनभने उनीसँगको भलाकुसारीको सारले यसै भन्थ्यो । पाँच जनाको परिवारमा उनको श्रीमान सेक्युरिटी गार्डको काम गर्दारहेछन् । दुई छोरा र एक छोरीले पढाईसँगै सानोतिनो काम गरिरहेका छन् । हुन त उनी उति बल-तागत हुने उमेरकी होइनन् । तैपनि बढ्दो उमेर र घट्दो तागतकाबीच उनी जीवनसँग पौंठेजोरी खेलिरहेकी छन् । उनको कथा-कहानी सुनिरहँदा दुख र पीडाका पल्ला नै भारी भएझैं लाग्थ्यो । तर, उनको हँसमुख चेहरासामु ति सबै पूरापूरा फिका थिए ।

श्रीमान-श्रीमतीको कमाइले उनीहरुको घरखर्च चल्छ । सहकारीमा दैनिक बचत गर्ने गरेको उनले सुनाइन् । ‘दिनमा बल्लतल्ल पाँच सयजति नाफा बस्छ । तीनवटा सहकारीमा खाता छ । एक/एक सय रुपैयाँ जम्मा गर्छु । अरु त सागसब्जी पनि खानु परिहाल्यो । यस्तै छ नानी,’ मकै पोलेको आगोको धुवाँमा रिंगिँदै उनी भन्दैथिइन् ।

आलोकनगरमा रहेछ उनको डेरा । टहराको दुईकोठाका लागि मासिक ८ हजार रुपैयाँ भाडा तिर्छ उनको परिवारले । अहिलेका छोराछोरीहरु आमाबाबुसँगै बस्न रुचाउँदैनन् । तर शान्ता राईको छोराछोरी भने ‘ज्ञानी’ छन् । ‘अहिलेसम्म चाहिँ हामीसँगै छन् । सकेको काम सघाउँछन् । बाबुआमाको दुखसुखमा साथ दिएकै छन्,’ शान्ताले छोराछोरीप्रति सन्तुष्टि व्यक्त गरिन् ।

मकै लिनका लागि उनी हरेक बिहान ३ बजे उठेर कहिले कालीमाटी तरकारी बजार त कहिले तीनकुनेको बजार पुग्छिन् । ढिलो पुगे भनेजस्तो राम्रो मकै पाइन्न । झिसमिसेमै उठ्नु । मकै ल्याउनु । दाउरा जुटाउनु । अनि, मकै अखडा पुग्नु । हरेक दिन ‘रिडायल’ हुने उनको दैनिकी हो यो । मकै बेच्ने कर्मबाट दुखी छैनन् उनी, सन्तुष्ट छिन् । भन्छिन्, ‘म यो काम गर्दा खुसी छु । किनकि मलाई पहिलेदेखि नै यही काम गर्ने बानी पर्‍यो । धेरै थोरै जे जति भए पनि पैसा खेलाइरहने आदत बस्यो । अरु ठूलो सपना देखिएन पनि । आनन्दै छ ।’

मकै पोलेर खासै कमाइ भने नभएको उनले बताइन् । दैनिक ५० घोगा मकै ६५० रुपैयाँमा ल्याएर बेच्दा पाँच सय रुपैयाँ नाफा हुने रहेछ । अहिले मकैको ‘बेसिजन’ भएकाले आधाजसो मकै खेर जाने उनले सुनाइन् । ‘के गर्नु नानी, पैसा हालेर ल्यायो । मकै राम्ररी छिप्पिएको हुँदैन । आधाभन्दा बढी मकै खोयामात्रै हुन्छ । जम्मै खेर जान्छ,’ उनी दिक्दारिइन् ।

लामै बातचित भयो । तर, उनलाई ३३ वर्षअघि काठमाडौं खाल्डोसम्म डोहार्‍याउने रहर या बाध्यताको पुन्तुरो उनले खोलिनन् । तर यहाँ आउनुअघि उनको परिवार भोजपुरमै खेतीकिसानी गरिरहेको थियो । एक दिन घाँस काट्ने क्रममा लडेर उनको दाहिने खुट्टा भाँचियो रे । डाक्टरले खुट्टा काट्नुपर्ने सल्लाह दिएछन् । तर उनले मानिनन् । ‘त्यो बेला जे गरेँ ठीक गरेछु । डाक्टरको कुरा मानेको भए अहिले मकै पोल्ने यही काम पनि गर्न नसक्ने रहेछु,’ उनले भनिन् ।

मकै व्यापारमा पनि कम्ती सकस छैन उनलाई । उनको मकै अखडामा अनेकथरिका मान्छेहरु ठोक्किन्छन् । कोही उधारो माग्छन् । कोही ताजा त हो के ? भनेर प्रश्न गर्छन् । तर हर किसिमका मानिसका लागि उनीसँग तयार छ जवाफ । उधारो माग्नेलाई उनी उधारो दिन्नन् । ताजा खोज्नेका लागि ‘यो सहरमा के चाहिँ पाउँछ ताजा ?’ उनी प्रतिप्रश्न गर्छिन् ।

शान्ता राई मात्र होइनन् यस्ता पात्र । जो सानोतिनो काम गरेर जिविकोपार्जन गर्छन् । र त्यसैमा खुसी अनि सन्तुष्ट छन् । उनीजस्ता धेरै पात्र समाजमा भेटिन्छन्, जसले ठूला महत्वकांक्षा नसाँचेर आफूलाई बेचैनीबाट बचाएका छन् । शान्ताको पनि खासै ठूलो सपना रहेनछ । ‘कति दिन बाँचिएला र ! जति बाँचिन्छ, हाँसीखुशी बाँचिन्छ । जे काम, जे व्यवसाय गरे पनि परिवारका सबै सँगै हुन पाउँदा खुशी छु । नाथे धनसम्पत्तिको के कुरा !’ दिन ढल्दै जाँदाको त्यो समयमा उनको अनुहारमा खुशी र सन्तुष्टिको रङ एकसाथ झल्किरहेको थियो ।

‘हातका मैला, सुनका थैला के गर्नु धनले । साग र सिस्नो खाएको बेश, आनन्दी मनले’ शैलीको जवाफ दिइरहँदा उनी मकै माग्ने ग्राहकहरुले घेरिइसकेकी थिइन् ।