जनप्रतिनिधिले स्वास्थ्यसम्बन्धी सही सूचना जनतामा प्रवाह गर्नुपर्छ : राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना
वि.सं.२०७८ फागुन १० मंगलवार २२:०६
shares

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वास्थ्यसम्बन्धी सही सूचना जनतामा प्रवाह गर्न जनप्रतिनिधिलाई अनुरोध गरेका छन् ।
संघीय संसदको संयोजन, विश्व स्वास्थ्य संगठनको प्राविधिक सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यहाँ आज आयोजना गरेको ‘कोभिड-१९ विरुद्धको खोपसम्बन्धी जोखिम, सञ्चार तथा सामुदायिक सहभागिता’ विषयक अन्तरक्रियामा उनले जनतालाई सही सूचना दिनेबारे जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने बताए ।
अध्यक्ष तिमिल्सिनाले कोभिड-१९ संक्रमणका विभिन्न भेरियन्ट देखिने क्रम नरोकिएकाले जनप्रतिनिधि तथा राजनीतिकर्मीले त्यसबारे जानकारी राख्नुपर्ने बताउँदै आफ्ना मतदातालाई स्वास्थ्य आचारसंहिता परिपालना र कोभिडविरुद्धको खोप लगाउन प्रेरित गर्न आग्रह गरे ।
आफ्ना मतदाता र जनतालाई कोभिड-१९ जोखिम र यसको नियन्त्रणमा व्यक्तिको भूमिकाबारे सचेतना फैलाउने जिम्मेवारी जनप्रतिनिधिको भएको उनले बताए । अध्यक्ष तिमिल्सिनाले पहिलो चरणमा आफ्नो घर रहेको स्थानीय तहलाई कोभिड-१९ विरुद्धको पूर्ण खोपयुक्त पालिका बनाउनसमेत सबैमा आग्रह गरे । 'कोभिड महामारीले हामीलाई अवसर पनि उपलब्ध भएको र यसका कारणले केन्द्रदेखि स्थानीय तहसम्मको स्वास्थ्य संरचनामा सुधार, जनशक्तिको क्षमता अभिवृद्धि र राज्यको प्राथमिकतामा स्वास्थ्य क्षेत्र परेको छ, नेपालमा महामारीले निकै संकटको अवस्था सिर्जना गर्यो, लाखौँको संख्यामा संक्रमित भयौँ र हजारौँको ज्यान गयो,' उनले भने, 'महामारीले ल्याएको संकटसँगै स्वास्थ्य क्षेत्रको क्षमता र तयारीमा सुधार आएको छ, यो सकारात्मक पक्ष हो ।'
अध्यक्ष तिमिल्सिनाले यस्तै प्रकृतिको कार्यक्रम छिट्टै सातै प्रदेशका प्रदेशसभा सदस्यहरुको उपस्थितिमा क्रमशः आयोजना हुने जानकारी दिए । त्यसैगरी विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख डा संमाजीराव पाण्डवले कोरोना जस्ता महामारीले ल्याउने आपत्कालीन अवस्थाबाट कसरी सुरक्षित हुने र कोरोना खोपको आवश्यकताबारे जनतामा सचेतना फैलाउन नेपालका जनप्रतिनिधिले खेलेको भूमिकाको चर्चा गरे ।
स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेलले जनप्रतिनिधि जनताका लागि उदारणीय पात्र हुने भएकाले जनचेतना फैलाउन सांसदहरूलाई अनुरोध गरे ।

























