global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ राखेपलाई नयाँपन दिन खाेज्दै मन्त्रालय

राखेपलाई नयाँपन दिन खाेज्दै मन्त्रालय

राखेपलाई नयाँपन दिन खाेज्दै मन्त्रालय

युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय खेलकुद परिषद्(राखेप)को भूमिकामा नयाँपन दिँदै समग्र मुलुकको खेलकुद क्षेत्रलाई चलायमान तुल्याउने अभियानमा जुटेको छ । विगतको भूमिकामा नयाँपन दिँदै परिषद्लाई प्रभावकारी बनाएर खेल क्षेत्रको विकासमा मन्त्रालयले सहजीकरणका साथ पहलकदमी लिन थालेको हो ।

मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले परम्परागत ढर्राबाट चल्दै आएको परिषद्लाई सकारात्मक भावसहित सक्रिय बनाई मुलुकको खेलकुद क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउन मन्त्रालयका तर्फबाट विभिन्न कार्यक्रममार्फत सम्पूर्ण साथ, सहयोगको अनुभूति दिलाइने बताए ।

मन्त्रालयले परिषद् र विभिन्न खेलकुद संघले गर्ने क्रियाकलापमा सहजीकरण गर्ने र हातेमालो गर्दै अघि बढ्ने कार्ययोजना बनाइरहेको छ । खेलकुद पूर्वाधार विकासका लागि विनियोजित करिब ७७ करोड परिषदबाटै खर्च हुनुपर्नेमा लामो समयदेखि सदस्यसचिवको नियुक्ति नभएका कारण रोकिएको छ ।

विनियोजित बजेट खर्च हुन नसक्नु भनेको समयमा पूर्वाधारका काम सम्पन्न नहुने मात्र नभई आयोजनाको लागत बढ्ने र अर्काे वर्षका लागि बजेटको सुनिश्चित गर्न चुनौती खडा हुन्छ । खेलकुल क्षेत्र र परिषद्लाई चलायमान बनाउन मुख्य मियोका रूपमा रहने सदस्यसचिवको रिक्ततालाई अब छिटो सम्बोधन गर्न मन्त्रालयबाट प्रयास भइरहेको छ ।

यसबीचमा मन्त्रालयले सहसचिव पठाएर सदस्यसचिव रिक्तता पूर्तिको अभ्यास र अनुभूति दिलाउन खोज्यो तर त्यो दिगो हुन सकेन । मन्त्रालयबाट खटाइएका कर्मचारीबाट कानुन परिपालना राम्रो भए पनि नेतृत्व र नतिजामुखी काम गर्न नसकेको मन्त्रालय स्वयंले महसुस गरेको थियो ।

सदस्यसचिवको नियुक्तिले परिषद्को कामकारबाहीप्रति जवाफदेहिता प्रदान गर्दै सफलता र असफलताको जस-अपजस स्वयं हुने भएकाले पनि नियुक्तिलाई मन्त्रालयले उच्च प्राथमिकता दिने जनाएको छ ।

नेपालको खेलकुद क्षेत्रको विकासमा खेलकुद परिषद्को अहं भूमिका रहिआएको छ । मुलुकका सबै खेलकुद विधा परिषद् मातहत रहेका खेलकुद संघसंस्थाबाट हुन्छ । मुलुकमा विकसित राजनीतिक परिघटनाका कारण मन्त्रालय, परिषद् र संघबीच बढेको दूरी घटाउन अहिले मन्त्रालयबाट भगिरथ प्रयास भइरहेको छ ।

सचिव रेग्मीले भने, 'परिषद्का विभागीय र कार्यकारी समितिका पदाधिकारीसँग खेलकुद क्षेत्रको विकास र विस्तारका लागि विभिन्न पाटो पक्षबाट कार्ययोजना बनाएर काम गर्न छलफल र अन्तरक्रिया तीव्र तुल्याइएको छ ।'

गहन छलफल र अन्तरक्रियाका आधारमा कार्ययोजना बनाई अघि बढेमा असल अभ्यास र अब्बल नतिजा ल्याउन सकिने जिकिर गर्दै उनले खेल संका पदाधिकारी, प्रशिक्षक र खेलाडीसँग पनि अब मन्त्रालयले निरन्तर छलफल र अन्तरक्रिया गर्ने बताए ।

कोभिड-१९ संक्रमण जोखिम तथा सदस्यसचिवको रिक्ततालगायत विविध कारणले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने समय घर्किसकेको छ । उक्त प्रतियोगिता अघि बढाउने सन्दर्भमा आगामी स्थानीय तह निर्वाचन र एसइई परीक्षाले केही प्रभावित तुल्याउने भए पनि मन्त्रालय यसकै आसपासमा गर्ने सोचमा छ ।

राष्ट्रिय प्रतियोगिताका आधारमा आगामी सेप्टेम्बरमा हुने एशियन प्रतियोगिताका लागि जिल्ला र प्रदेशबाट खेलाडी छनोट भएर आउनुपर्ने छ । आगामी एशियन र राष्ट्रिय प्रतियोगिताका लागि पनि परिषद् र विभिन्न खेलकुद विधाका संघसंस्थाकाे सहभागिता र दायित्व बढेकाले मन्त्रालयले उनीहरूकोे भूमिकालाई प्रभावकारी तुल्याउन र आन्तरिक लोकतन्त्र प्रवर्धनलाई उच्च प्राथमिकतामा राखेको छ ।

प्रकाशित समय : १४:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु