गृहपृष्ठ मुख्यमन्त्री पाेखरेल र बेलायती राजदूत निकोला पोलिटबीच भेट
मुख्यमन्त्री पाेखरेल र बेलायती राजदूत निकोला पोलिटबीच भेट
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग नेपालका लागि संयुक्त अधिराज्य (बेलायत)का राजदूत निकोला पोलिटले भेटवार्ता गरेका छन् । सोमबार मुख्यमन्त्री कार्यालयमा भएको भेटमा मुख्यमन्त्री पोखरेलले संयुक्त अधिराज्यले नेपालको विकास र समृद्धिमा निरन्तर गर्दै आएकोे सहयोगका लागि प्रशंसा गरे ।
उनले दुई देशबीचको दौत्य सम्बन्ध निकै पुरानो भएको स्मरण गर्दै गण्डकी प्रदेशमा बेलायत सरकारबाट जलवायु परिवर्तन अनुकूलन, लघुउद्यम प्रवर्धन र आयआर्जन, स्वास्थ्य, पर्यटन, प्रदेश तथा स्थानीय तहको सुशासन र क्षमता विकासजस्ता महत्वपूर्ण क्षेत्रमा सहयोग प्राप्त भएको बताए ।
नेपाल र बेलायतबीच सन् १८१६ मा दौत्य सम्बन्ध कायम भएको थियो । नेपाली युवा बेलायती सेनामा संलग्न भएर लामो समयदेखि काम गर्ने अवसर पाएको भन्दै मुख्यमन्त्री पोखरेलले उनीहरूको परिवारसमेत बेलायतमै बस्दै आएको चर्चा गरे ।
जलवायु परिवर्तन अनुकूलन र विपद् व्यवस्थापन, पर्यटन पूर्वाधार विकास र आयआर्जन एवं ठूला पूर्वाधार निर्माणमा बेलायतबाट प्रदेश सरकारले थप सहयोगको अपेक्षा गरेको बताए ।
मुख्यमन्त्री पोखरेलले प्रदेशलाई आवश्यक कानुनहरूको तर्जुमा र कार्यान्वयन, योजनाबद्ध विकासका लागि प्रथम पञ्चवर्षीय योजना तर्जुमा, दिगो विकास लक्ष्य आधाररेखा प्रतिवेदन तयारी, मध्यमकालीन खर्च संरचना, आयोजना बैंकजस्ता रणनीतिक महत्वका दस्तावेजले प्रदेशको विकासका लागि सरकारको गन्तव्य सुनिश्चित गरेको जानकारीसमेत गराए ।
बेलायती राजदूत निकोलाले जलवायु परिवर्तन अनुकूलन र पर्यटन प्रवर्धन लागि बेलायत सरकारले सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरे । पोखराको सुन्दरताबाट प्रभावित भएको भन्दै उनले सोमबार बिहान साइक्लिङबाट आनन्द लिएको अनुभव सुनाए ।
नेपालसँगको पुरानो सम्बन्धलाई अझ प्रगाढ र प्रभावकारी बनाउन आफूहरू हरदम तयार रहेको बताउँदै उनले पोखरा र गण्डकी प्रदेशको स्वास्थ्यका क्षेत्रमा बेलायत सरकारले गर्दै आएको सहयोगले निरन्तरता पाउने पनि उल्लेख गरे ।
गण्डकी प्रदेश नीति तथा योजना आयोग उपाध्यक्ष डा. रघुराज काफ्लेले समृद्ध प्रदेश सुखी नागरिक निर्माणका लागि प्रथम पञ्चवर्षीय योजना लागू गर्ने बताए । याेजनाका माध्यमबाट बहुआयामिक गरिबी सूचकांक १४ दशमलव दुईबाट सात प्रतिशतमा झार्ने र औसत आर्थिक वृद्धिदर १० दशमलव दुई प्रतिशत पुर्याउने लक्ष्य राखेको उनकाे भनाइ छ ।
प्रकाशित समय : १३:१२ बजे



















