चितवन निकुञ्जमा बाघ सर्वेक्षणको काम सकियो
वि.सं.२०७८ माघ ९ आइतवार १८:०५
shares

राष्ट्रिय बाघ सर्वेक्षण २०७८ अन्तर्गत चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा बाघ सर्वेक्षणको काम सकिएको छ । एउटै कम्प्लेक्स बनाएर गणना सुरु गरिएको पर्सा राष्ट्रिय निकुञ्ज र वन क्षेत्रमा भने यही माघ तेस्रो साता सकिँदै छ ।
माघको पहिलो साताबाट पर्साको प्रतापपुरबाहेकका बाँकी सबै क्षेत्र, पर्सा, बारा र रौतहट डिभिजन वन कार्यालय क्षेत्रमा सर्वेक्षण भइरहेको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा बाबुराम लामिछानेले बताए । ती क्षेत्रमा ३०० जोडी क्यामेरा राखिएको उनले बताए । यही माघ २० गतेसम्ममा सो क्षेत्रमा पनि सर्वेक्षण सम्पन्न हुने र सम्पन्न भएसँगै क्यामेरा लगेर शुक्लाफाँटा र लालझाडी क्षेत्रमा सर्वेक्षण गरिने र सबै क्षेत्रको सर्वेक्षणपछि तथ्याङ्कको काम गरिने जनाइएको छ ।
चितवन र पर्सालाई तीन ब्लक बनाएर सो सर्वेक्षण गत मङ्सिर १९ गते चितवनबाट सुरुआत गरिएको हो । पहिलो र दोस्रो ब्लकमा क्यामेरा ट्रयापिङका काम सम्पन्न भएसँगै तेस्रो ब्लकमा काम थालिएको हो । क्यामेरा ट्रयापिङको विधिबाट बाघ सर्वेक्षण गरिएको हो । प्रत्येक चार वर्ग किलोमिटर क्षेत्रफललाई एउटा ग्रिड मानेर एउटा ग्रिडमा एक जोडी क्यामेरा जडान गरेर सर्वेक्षण गरिएको हो । निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार सर्वेक्षणमा क्यामेरा ट्रयाप, रेञ्ज फाइण्डर, जिपीएस र रेकर्ड फर्मलगायतका सामग्री प्रयोग भएका छन् ।
बाघ सर्वेक्षणका लागि जमिनबाट करिब ४५ देखि ६० सेन्टिमिटरको उचाइमा स्वचालित क्यामेरा जडान गरिन्छ । क्यामेरा जडान भएको क्षेत्रबाट बाघ हिँडेको अवस्थामा स्वचालित क्यामेराले बाघको फोटो खिच्ने गर्दछ । सन् २०१० मा रसियाको सेन्ट पिटर्सबर्ग भएको बाघ पाइने १३ मुलुकका राष्ट्र प्रमुखहरूको बाघ सम्मेलनमा नेपालले सन् २०२२ सम्ममा बाघको सङ्ख्या २५० पुर्याउने प्रतिवद्धता व्यक्त गरेको थियो ।
तत्कालीन समयमा नेपालका निकुञ्जमा १२१ वटा बाघ रहेको तथ्याङ्क थियो । दोब्बरभन्दा बढी सङ्ख्या बनाउने नेपालको प्रतिबद्धता तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले गरेका थिए । नेपालमा हरेका पाँच वर्षको अन्तरमा बाघ गणना गर्ने गरिन्छ । अहिले निकुञ्ज र वन क्षेत्रमा बाघको चहलपहल बढी देखिएसँगै यो सर्वेक्षणसँगै बाघको सङ्ख्या बढेको तथ्याङ्क आउने विज्ञहरुको अनुमान छ ।

























