घरघरमा धारा पुगेपछि बागलुङका स्थानीय दंग
वि.सं.२०७८ पुस ५ सोमवार १४:२०
shares

खानेपानीको समस्या भएको बागलुङ नगरपालिका-८ स्थित बाँस्बोट र लाम्पाटा क्षेत्रमा ‘एक घर–एक धारा’ निर्माण सम्पन्न भएको छ । खानेपानीको समस्या भएको साँयकोट क्षेत्रमा गत वर्ष नै ६५ घरमा खानेपानीका घारा जडान भइसकेका छन् । अहिले अर्को समस्या ग्रस्त क्षेत्र आलबारी, बाँसकोट, लाम्पाटा, पाखावारी लगायतका क्षेत्रमा खानेपानीको धारा निर्माण भएर पानी पुर्याइएको छ ।
पहिला मुस्किलले दिनमा दुई घण्टा मात्रै पानी आउने गरेका थियो । अहिले घरमै मिटर सहितको धारा जडान भएको सिगानाका स्थानीय कोपिला खड्काले बताइन् । अव्यवस्थित रुपमा रहेको खानेपानीलाई व्यवस्थित गरी घरघरमा धारा जडान गर्दा यस क्षेत्रका स्थानीयहरु खुशीले दंग परेका छन् ।
उनीहरुले सामुदायिक धारामा पानीको पालो समेत पर्खिनुपर्ने बाध्यता थियो । खानेपानीको समस्या भोग्दै आएका बागलुङ-८ सिगाना लामिचौरको दलित बस्ती बाहेकका २१ मुहानमा खानेपानीको काम चलिरहेको बागलुङ-८ सिगाना खानेपानी तथा सरसफाइ आयोजनाका अध्यक्ष यज्ञराज गौतमले जानकारी दिए । ‘२०७३ सालबाट यहाँ २१ साना/ठूला मुहानमा खानेपानीको काम भइरहेको छ, अहिले लाम्पाटा लगायतको क्षेत्रमा ६५ घरमा खानेपानी पुर्याएका छौं’ उनले भने, ‘बहुवर्षे योजना अन्तर्गत अहिले कोरीखोला क्षेत्रमा समेत ६५ घरमा खानेपानीको काम भइरहेको छ तर लाम्पाटा, पाखावारी लगायतका क्षेत्रमा एक महिनादेखि घर घरमा खानेपानी पुगिसकेको छ ।’
उक्त स्थानमा जम्मा मात्र १२ सामुदायिक धारा थिए । अव्यवस्थित र असहज पानीको वितरण थियो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, बागलुङको बजेट अनुसार अहिले सिगानामा धमाधम एक घर एक धारा लगायत खानेपानीको पहुँच पुर्याउने काम भइरहेको छ ।
पैसठ्ठी घरमा धारा पुर्याउनका लागि चितेपानी आलावारीको मुहानबाट पानी ल्याएर २० हजार लिटर क्षमताको पानी संकलन ट्यांकी निर्माण गरी वितरण गरिएको छ । ती घरमा मात्रै खानेपानी पुर्याउन २५ लाख खर्च भइसकेको आयोजनाले जनाएको छ ।

























