नारा चोरी भएकाे भन्दै सूर्य थापाले गगनलाई भने, ‘रित्तो भाँडोको आवाजै ठूलो’!
वि.सं.२०७८ मंसिर २४ शुक्रवार १६:१९
shares

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा नेता गगनकुमार थापा महामन्त्रीमा प्रतिपस्पर्धा गर्दैछन् । गत महाधिवेशनमा शशांक कोइरालासँग महामन्त्रीमै पराजित भएका गगनले पुनः उम्मेद्वारी घोषणा गरेर चुनाव जित्ने तयारीका साथ अघि बढेका छन् ।
यसकै तयारीस्वरुप गगनले हिजो (बिहीबार) काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा एक भव्य कार्यक्रम गर्दै आफ्नो अवधारणा पत्र सार्वजनिक गरे । अवधारणापत्र सार्वजनिक भनिए पनि कार्यक्रम मुलतः गगनले आफ्नो माहोल देखाउन गरिएको जस्तो देखिन्थ्यो । गगन सम्मिलित पौडेल पक्षमा सभापतिकै विषयले सहमति नपाइरहेका बेला महामन्त्री लगायतका पदमा समेत उत्तिकै अलमल छ । पौडेल पक्षमा मिनेन्द्र रिजाल, धनराज गुरूङजस्ता अन्य नेताहरु पनि महामन्त्रीका आकांक्षी छन् ।
ठिक यसैबेला गगनले आफ्नो पक्षमा माहोल देखाएर शिर्ष नेताहरुलाई दबाबमा समेत पार्न खोजेका छन् । यसका लागि उनले आफ्नो उम्मेद्वारी मात्रै नभएर पार्टीकै आगामी भविष्य र कांग्रेस कस्तो हुनुपर्छ भन्ने आशय सहितको अवधारणा पत्र सार्वजनिक गरेका हुन् ।
तर रोचक त के छ भने गगनको अवधारणापत्रको नारा ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ छ । जुन एमाले अध्यक्ष केपी शर्मा ओलीको ‘समृद्ध नेपाल, सुखी नेपाली’सँग मिल्न जान्छ । ओलीकै नक्कल गरेर गगन कांग्रेस र देशको भविष्य कोर्न अघि बढेपछि भने एमालेजनलाई पोल्नु पोलेको छ ।
गगनकाे नारालाई लिएर एमालेको ध्यान तानिएका बेला ओलीनिकट एक नेताले गगनलाई रित्तो भाँडो नै भन्न भ्याएका छन् । ओली प्रधानमन्त्री रहँदा प्रेस सल्लाहकारको भूमिकामा रहेका एमाले केन्द्रीय सदस्य सूर्य थापाले शुक्रबार सामाजिक सञ्जालमा लेखे, ‘समृद्ध नेपाल, सुखी नेपाली’ कपी पेष्ट ‘समुुन्नत नेपाल, सम्मानित नेपाली’ रित्तो भाँडोको आवाजै ठूलो !
एमाले नेता थापाकाे आशयअनुसार गगनले एमालेकै नारा चोरी गरेर आफ्नो खाली दिमाग प्रकट गरेका हुन् ।


























