गृहपृष्ठ हामी पाँचौं वर्षमा : स्पष्ट लक्ष्यका साथ यात्रा जारी छ
हामी पाँचौं वर्षमा : स्पष्ट लक्ष्यका साथ यात्रा जारी छ

‘च्याउ उम्रिएसरी’ भन्ने उक्ति पछिल्लो समयमा सञ्चार क्षेत्रका लागि पर्याय बनेको छ । हुन पनि छापा र विद्युतीय सञ्चार माध्यमहरु बग्रेल्ती नै खुलेका छन् । यसमध्ये पनि अनलाइन पत्रिकाको संख्या यति धेरै बढ्यो कि, दर्ताका लागि नयाँ नाम पाउनसमेत मुस्किल छ । संख्या बढ्नु, थपिनु राम्रै कुरा हो । तर, यही राम्रोसँगै ‘सिक्काको अर्को पाटो’जसरी नराम्रो अर्थात् विकृति र समस्यापूर्ण पाटो पनि देखिएका छन् । पाठक, श्रोताको मन जित्दै विश्वासनीयता कायम गर्नु अहिले सञ्चारमाध्यमहरुका लागि सबैभन्दा ठूलो चुनौती बनेको छ । पाठक, श्रोताका ‘मिडियाले जे पनि लेख्छन्, जे पनि भन्छन्’ भन्नेजस्ता धारणामा परिवर्तन ल्याउनु जरुरी छ । विश्वास जित्ने सन्दर्भमा, निहीत स्वार्थबाट प्रेरित र स्वार्थ समूहद्वारा परिचालित ‘सञ्चार माध्यम’हरुको गैरपत्रकारिताजन्य हर्कतका सामु व्यवसायिक लक्ष्यका साथ सञ्चालित सञ्चार माध्यमहरुलाई सर्वाधिक चुनौती छ ।
यस्तै, यिनै चुनौती झेल्दै पत्रकारिता जगतमा हामीले उपस्थिति जनाएको पनि आज चार वर्ष पूरा भएको छ । पाँचौं वार्षिकोत्सव मनाइरहँदा न्युजकारोबारले आफ्नो यात्रामा सम्झनलायक र बिर्सनलायक दुवैखाले संस्मरणहरु समेटेका छन् । खासगरी, सिक्ने र अगाडि बढ्ने क्रममा अनेकन् समस्याहरु नआएका होइनन् । परिवर्तनशील समय र परिस्थितिका कारण हाम्रा कतिपय योजनाहरुले सही रुपमा कार्यान्वयन हुन पनि पाएनन् । जसका कारण अपेक्षित गतिमा समस्या देखिए । विशेष गरेर विश्वलाई नै आक्रान्त पारेको कोभिड महामारीले हामी पनि नराम्ररी प्रभावित बन्यौं । तर, यस कठिनाइपूर्ण अवस्थामा पनि हामी विचलित भएनौं । महामारीमा होस् या त्यसअघिका प्रतिकुलताहरु, हामी पत्रकारिताको मर्म, भावना र मूलभूत सिद्धान्तबाट दायाँबायाँ गरेनौं । सायद यो पनि एउटा गर्व गर्नलायक विषय हो ।
हामी यस्तै गर्विलो पदचापहरु कोर्नका लागि पत्रकारिताको लामो यात्रामा निस्किएका हौं । हामी ‘लिन होइन दिन’को अभिप्रायबाट प्रेरित छौं, रहन्छौं । पत्रकारिताको आचरण र सिद्धान्तलाई पूर्णतः पालना गर्दै समाज र सिंगो मुलुकको समुन्नतिमा योगदान दिनुशिवाय हाम्रो अर्को ध्येय छैन । हामी यसैमा समर्पित छौं । अहिलेसम्मको यात्रामा हाम्रो समर्पणले केही न केही अर्थ राखेकै छ भन्नेमा हामीलाई विश्वास छ । सामाजिक सद्भाव, आर्थिक विकास, सुसंस्कारयुक्त समाज निर्माण लगायतका गहन उद्देश्य प्राप्तिका खातिर हामी आफ्नो ठाउँबाट हरदम लागिरहने छौं । आगामी दिनमा हामी समर्पणको यस दायरालाई अझ व्यापक र गहन बनाउने प्रण गर्दछौं । सकारात्मक परिवर्तनको संवाहकको रुपमा न्युजकारोबारलाई स्थापित गर्न हामी कटिवद्ध छौं । यो हाम्रो निर्विकल्प लक्ष्य हो । यसमा हामी अडिग छौं ।
यस अडिग लक्ष्यसम्मको यात्रामा हामीलाई स्नेहपुर्वक साथ, सहयोग गरिरहनु भएका सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता एवं शुभेच्छुकहरुप्रति हामी कृतज्ञ छौं । आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गर्दछौं । हामीलाई उचित मार्गनिर्देशन र सल्लाह सुझाव दिइरहनका लागि पत्रकारिता जगतका अग्रजहरु, विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित एवं विज्ञ महानुभावहरुसमक्ष हाम्रो आग्रह छ ।
प्रकाशित समय : १६:११ बजे