काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

ओमिक्रोन राेकथामका लागि यस्ताे छ सरकारकाे तयारी

12.56K
shares

नेपालमा कोभिड-१९ को नयाँ भेरियन्ट (ओमिक्रोन) भित्रिएसँगै मुलुकभर उच्च सतर्कता अपनाउन थालिएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को यही मंसिर १३ गते र त्यसअघिका निर्णयका आधारमा गृह मन्त्रालयले प्रहरी तथा स्थानीय प्रशासनलाई आन्तरिक सर्कुलर जारी गर्दै उच्च सावधानी अपनाउन भनिसकेको छ । सोही आधारमा जिल्ला जिल्लामा आवश्यक तयारी थालिसकिएको छ ।

गृहप्रवक्ता प्रदीपकुमार कोइराला मन्त्रिपरिषद्ले विभिन्न मितिमा गरेको निर्णय र कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को निर्णयका आधारमा तोकिएको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न र गराउनका लागि मातहतका निकायलाई सर्कुलर जारी गरिसकेको जानकारी दिए । सोहीअनुसार सीमा क्षेत्रका जिल्लाले आवश्यक निर्णय गरी कार्यान्वयनसमेत गर्न थालिसकेका छन् ।

यसअघि कोभिड-१९ को संक्रमण न्यून भएकाले मापदण्ड कार्यान्वयनमा केही खुकुलो भएको थियो । अहिले पनि मापदण्डविपरीतका कार्यक्रम देखिँदै आएको छ । पुनः त्यही मापदण्ड कार्यान्वयन गरी भीडभाड कम गर्न, दुई मिटरको दूरी कायम गर्न तथा साबुनपानीले नियमित हात धुने, सेनिटाइज गर्ने र खोप अभियानमा मानिसलाई सरिक गराउने जस्ता गतिविधिमा जोड दिन थालिएको छ । गृह प्रवक्ता कोइरालाले मापदण्ड पालना गराउन र सीमा प्रवेशमा सुरक्षा अपनाउँदै कडाइ गर्न थालिएको जानकारी दिए । उनले नयाँ केसको विषयमा सीसीएमसी र स्वास्थ्य मन्त्रालयको विशेष निर्णयका आधारमा आवश्यक निर्णय गरेर अघि बढ्ने पनि बताए ।

अघिल्लो हप्ता नेपाल आएका दुई विदेशी नागरिकमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको थियो । त्यसको संक्रमणमा गति उच्च रहेकाले संक्रमण फैलिन नदिन नेपाल सरकार मन्त्रिपरिषद्को यही मंसिर १३ गतेको निर्णयअनुसार ओमिक्रोन देखिएका विभिन्न १० मुलुकका नागरिकलाई प्रवेशमा रोक लगाइएको छ । संक्रमित दुई नागरिक संक्रमणमुक्त भइसकेका र उनीहरुको सम्पर्कमा रहेका भनिएका ६६ जनाको परीक्षण गर्दा कसैमा नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो कोभिड-१९ को पछिल्लो समयमा पुष्टि भएको नयाँ भेरियन्ट हो वा रुप परिवर्तन भएको अवस्था हो । सुरुमा दक्षिण अफ्रिकामा पुष्टि भएको यो भेरियन्ट धेरै छिटो फैलिनसक्ने जनाइएको छ ।

त्यसैले सरकारले दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाब्वे, नामिबिया, लेसोथो, इसवाटिनी, मोजाम्बिक, मलावी र हङकङबाट नेपाल आउनेलाई प्रवेश अनुमति नदिने निर्णय गरेको हो । संक्रमण जोखिम भएका मुलुकबाट नेपाल भ्रमणमा आउने यात्रुलाई अनअराइभल भिसा पनि नदिने सरकारले निर्णय गरेको छ । जोखिम भएका मुलुकबाट नेपाल भ्रमण गर्ने यात्रुले आफ्नै खर्चमा अनिवार्य सात दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने निर्णय पनि सरकारले गरेको छ ।

नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरले नेपाल सरकार गृह मन्त्रालयको निर्देशनअनुसार सबै प्रहरी एकाइमा परिपत्र जारी गरी आवश्यक सतर्कता अपनाउन र मापदण्ड पालना गराउने सन्दर्भमा ध्यान दिन निर्देशन दिइसकिएको जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारी अनिवार्य मास्क प्रयोग गर्ने, दुई मिटर दूरी कायम गर्ने र राम्ररी साबुनपानीले हात धुने तथा सेनिटाइजरको प्रयोग गर्दा पनि नयाँ भेरियन्ट संक्रमण रोक्न सकिने विज्ञबाट जानकारी आएको तर यसको अझै अध्ययन हुन बाँकी रहेको बताउँछन् । 'अहिलेसम्मको पुष्टि भएको आधारमा यसअघि अपनाइएका मापदण्ड र खोप कार्यक्रम नै प्रभावकारी छ, हामीले त्यसलाई नै ध्यान दिनुपर्छ,' डा. अधिकारीले भने ।

स्वास्थ्य विज्ञ डा. विवेककुमार लाल खोप लिएर सुरक्षित हुन आग्रह गर्छन् । 'नयाँ कोरोना भाइरस ओमिक्रोन संक्रमण रोक्न के गर्ने, खोपले काम गर्छ कि गर्दैन भन्ने जिज्ञासा सबैमा छ, अहिलेसम्मको अध्ययनले खोप प्रभावकारी नै छ,' डा. लालले भने, 'विज्ञको सिफारिस भनेको नै जनस्वास्थ्यका सबै मापदण्ड र उपलब्ध भएका खोपलाई निरन्तरता दिनु भरपर्दाे र सुरक्षित उपाय हो ।'