२३ बैंकले गरे लाभांश घोषणा : कसको कति ?
वि.सं.२०७८ मंसिर १८ शनिवार २२:२५
shares

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत २६ वाणिज्य बैंकमध्ये हालसम्म २३ बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश दिने घोषणा गरेका छन् । बैंकहरुले गत आवको वितरण योग्य नाफाबाट नगद तथा बोनस सेयरका लाभांश दिने घोषणा गरेका हुन् । लाभांश घोषणा गरेका बैंकमध्ये केहीका साधारणसभा सम्पन्न भएर लाभांश वितरणको निर्णयसमेत पारित भइसकेका छन भने केही बैंक साधारणसभाको तयारीमा छन् ।
सार्वजनिक पछिल्लो तथ्यानुसार नबिल बैंकले सबैभन्दा धेरै लाभांश वितरण गर्ने जनाएको छ । नबिलले ३३.६ प्रतिशत बोनस सेयर तथा ४.४ प्रतिशत नगद गरी कूल ३८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । गत आवको वितरण योग्य नाफाका आधारमा नेपाल एसबीआइ बैंकले सबैभन्दा कम ३.५ प्रतिशत बोनस सेयर र १.८१ प्रतिशत नगद गरी जम्मा ५.३१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
त्यस्तै हिमालयन बैंकले आफ्ना लगानीकर्तालाई २१.३८ प्रतिशत बोनस सेयर तथा ४.६२ प्रतिशत नगद गरेर २६ प्रतिशत लाभांश दिने भएको छ । सानिमा बैंकले १७ प्रतिशत बोनस तथा ०.८९ प्रतिशत नगदसहित १७.८९, नेपाल बैंकले १४ प्रतिशत बोनस तथा तीन प्रतिशत नगदसहित १७ प्रतिशत, प्राइम कमर्सियल बैंकले १६ प्रतिशत बोनस तथा ०.६३ प्रतिशत नगद गरी कूल १६.६३ प्रतिशत लाभांश दिने घोषणा गरेका छन् । नेपाल इन्भेस्टमेन्ट बैंकले १२.६१ प्रतिशत बोनस तथा ३.३८ प्रतिशत नगदसहित १६ प्रतिशत, सिटिजन्स बैंकले १२.९१ बोनस तथा ३.८७ प्रतिशत नगद गरेर १६ प्रतिशत लाभांश वितरण गर्ने बताएका छन् ।
लाभांश घोषणा गरेको एनएमबी बैंकले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत बोनस सेयर तथा ३.३ प्रतिशत नगदसहित १५.८ प्रतिशत, एनआइसी एसिया बैंकले १५ प्रतिशत बोनस र ०.७८ प्रतिशत नगद गरी १५.७८, नेपाल बंगलादेश बैंकले १२ प्रतिशत बोनस र ३.५ प्रतिशत नगद, सिद्धार्थ बैंकले १४.२५ बोनस र ०.७५ प्रतिशत नगदसहित १५ प्रतिशत, माच्छापुच्छ्रे बैंकले १३.३ बोनस तथा ०.७ प्रतिशत नगदसहित १४ प्रतिशत, बैंक अफ काठमाडौंले १० प्रतिशत बोनस र चार प्रतिशत नगद गरी १४ प्रतिशत, ग्लोबल आइएमइ बैंकले १० प्रतिशत बोनस तथा ३.५ प्रतिशत नगदसहित १३.५ प्रतिशत, स्ट्याण्र्ड चार्टड बैंकले १० दश प्रतिशत बोनस तथा ३.०६ प्रतिशत नगद गरी १३.०६ प्रतिशन लाभांश वितरण गर्ने घोषणा गरेका छन् ।
प्रभु बैंकको सञ्चालक समिति बैठकले आफ्ना सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर र ०.६३ प्रतिशत नगदसहित १२.६३ प्रतिशत लाभांश दिने भएको छ । १० प्रतिशत बोनस तथा २.०७ नगदसहित १२.०७ प्रतिशत मेगा बैंकले आफ्ना सेयरधनीलाई दिने भएको छ भने लक्ष्मी बैंकले आठ प्रतिशत बोनस तथा ३.५ नगद गरेर ११.५ प्रतिशत, एभरेष्ट बैंकले ६ प्रतिशत बोनस सेयर र ४.३२ प्रतिशत नगद, कुमारी बैंकले ६ प्रतिशत बोनस तथा २.६७ प्रतिशत नगद, नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी)ले आठ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद र सनराइज बैंकले ६.६५ प्रतिशत बोनस सेयर र ०.३५ प्रतिशत नगदसहित सात प्रतिशत लाभांश वितरण गर्ने बताएको छ ।
अब सेयरधनीलाई लाभांश वितरणको घोषणा गर्न बाँकी रहेका बैंकमा सेञ्चुरी बैंक, सिभिल बैंक र कृषि विकास बैंक छन् । घोषणा भएका लाभांश नियामकको अनुमति र साधारणसभाबाट पारित भएपछि मात्रै सेयरधनीले प्राप्त गर्छन् । लाभांश घोषणा गरेकामध्य १४ बैंकले साधारणसभा प्रयोजनका लागि सेयरधनी दर्ता पुस्तिका बन्द (बुक क्लोज)को समय तोकेकामा ११ बैंकको बुक क्लोज भइसकेको छ । बुक क्लोजको दिनसम्म कायम सेयरधनीले साधारणसभामा भाग लिन र लाभांश पाउन योग्य हुन्छन् । घोषित लाभांशमध्ये नगद लगानीकर्ताले उपलब्ध गराएको बैंक खातामा र बोनस सेयर डिम्याट खातामा सोझै जम्मा हुने व्यवस्था छ । (रासस/नवीन पौडेल)
























