गन्यापधुराद्वारा आफ्नै प्रशासकीय भवनबाट सेवा सञ्चालन
वि.सं.२०८३ असोज २५ आइतवार २१:१२
shares

डडेल्धुरा। डडेल्धुराको गन्यापधुरा गाउँपालिकाले आफ्नै नवनिर्मित प्रशासकीय भवनबाट सेवा प्रवाह सुरु भएको छ । छ करोड ५३ लाखभन्दा बढी लागतमा निर्माण भएको तीन सभाहल र ३६ कोठासहितको आधुनिक भवनको आज गाउँपालिका अध्यक्ष इन्द्रबहादुर कार्कीले उद्घाटन गरे ।
गाउँपालिकाको वडा नम्बर २ गणेशपुरमा निर्माण गरिएको भवनको रिबन काट्नुका साथै शिलालेख अनावरण गरेर उद्घाटन गरिएको हो । वडा नम्बर २ का अध्यक्ष मनोज देउवाका अनुसार यसअघि भाडाको घरबाट प्रशासनिक सेवा दिँदै आएको गाउँपालिकाले गत वर्षदेखि कृषि तथा पशु सेवाको एकीकृत भवनबाट सेवा सञ्चालन गर्दै आएको थियो । आफ्नै प्रशासकीय भवन निर्माण भएसँगै सेवाग्राहीलाई सहज हुने र प्रशासनिक कामकाज थप व्यवस्थित हुने गाउँपालिका अध्यक्ष कार्कीले बताए ।
उनका अनुसार गाउँपालिकाले शिक्षा, स्वास्थ्य, खेलकुद, सडक, सिँचाइ, खानेपानी तथा कृषि पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ । पाँच वटा वडा रहेको गाउँपालिकाका चार वटा वडामा आफ्नै वडा कार्यालय भवन निर्माण भइसकेका छन् । गाउँपालिकामा एमबिबिएस चिकित्सकसहितको १० शय्याको आधारभूत अस्पताल र दुई वटा शीतभण्डारसमेत सञ्चालनमा रहेका छन् ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलिप तामाङका अनुसार प्रशासकीय भवन निर्माणका लागि २०७८ पुस २२ गते ठेक्का सम्झौता भएको थियो । विसं २०८१ पुस २० गतेसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि सङ्घीय सरकारबाट साझेदारीबापतको बजेट समयमै प्राप्त नहुँदा निर्माण कार्य करिब दुई वर्ष ढिलो भएको उनले बताए ।
भवन निर्माणका लागि छ करोड ५२ लाखमा ठेक्का सम्झौता भएको थियो । गाउँपालिकाको नाममा रहेको ११ रोपनी जग्गामध्ये आठ रोपनी क्षेत्रफलमा प्रशासकीय भवन निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत तामाङले जानकारी दिए ।
























