काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

नगरकोटमा चारदिने ‘चङ्गा चेट’, लाइभ म्युजिकदेखि हिटेड स्विमिङसम्मका आकर्षण

338
shares

काठमाडौं।दसैँको पूर्वसन्ध्यामा नगरकोटमा असोज २८ देखि ३१ गतेसम्म चारदिने ‘चङ्गा चेट’ प्रि-दसैँ उत्सव आयोजना हुने भएको छ। केही वर्षदेखि रोकिएको नगरकोटको चङ्गा उडाउने परम्परालाई निरन्तरता दिँदै यस वर्षदेखि कार्यक्रम पुनः सञ्चालन गर्न लागिएको हो।

नगरकोटमा दुई दशकभन्दा लामो समयदेखि दसैँको अवसरमा चङ्गा उडाउने तथा सामूहिक रूपमा उत्सव मनाउने परम्परा रहँदै आएको छ। यही परम्परालाई नयाँ पुस्तासम्म पुर्‍याउने र नेपाली संस्कृति, पारिवारिक जमघट तथा सामूहिक उत्सवलाई प्रवर्द्धन गर्ने मुख्य उद्देश्यले नगरकोटस्थित माउन्टेन भिस्टा रिट्रिटमा कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। कार्यक्रममा विदेशी पर्यटकका लागि समेत विशेष आकर्षण रहनेछ।

चार दिनसम्म सञ्चालन हुने कार्यक्रममा चङ्गा उडाउने गतिविधिसँगै लाइभ म्युजिक तथा नृत्य, फुड स्टल, फेस पेन्टिङ, पोटरी, जादु तथा स्टाण्ड अप कमेडीलगायत मनोरञ्जनात्मक गतिविधि सञ्चालन गरिनेछ। सहभागीहरूले दसैँ विशेष खानपानका साथै हिटेड स्विमिङ पुल र ज्याकुजीको सुविधा पनि लिन सक्नेछन्। काठमाडौं उपत्यकाबाट नगरकोट आउने सहभागीका लागि अतिरिक्त शुल्कमा यातायात सुविधा उपलब्ध गराइने आयोजकले जनाएको छ।

नगरकोटका पर्यटन व्यवसायी तथा माउन्टेन भिस्टा रिट्रिटका सञ्चालक अर्जुन सिंह ठकुरीले ‘चङ्गा चेट’लाई मनोरञ्जनमा मात्र सीमित नराखी नेपाली संस्कृति र परम्परालाई नयाँ पुस्तासम्म पुर्‍याउने अवसरका रूपमा लिइएको बताए। “नगरकोटमा दुई दशकदेखि चङ्गा चेट हुँदै आएको हो। बीचमा रोकिएको थियो, तर यस वर्षदेखि पुनः ‘यसपालिको दसैँ… आकाशमा चङ्गा, मनमा उमङ्ग!’ भन्ने नारासहित आयोजना गर्न लागेका छौँ,” ठकुरीले भने। उनले यो कार्यम्रलाई सामान्य रुपमा नभएर ठूलै महोत्सवको रुपमा अगाडी बढाउने योजना रहेको बताए।

कार्यक्रममा पूर्वमिस नेपाल उषा खड्गीलगायत कलाकारहरूको सहभागिता रहने आयोजकले जनाएको छ। मनोरञ्जन, साहित्य, स्वास्थ्य, शिक्षा तथा कर्पोरेट क्षेत्रका व्यक्तित्वसँगै परिवार र सर्वसाधारणको सहभागिता रहने अपेक्षा गरिएको छ। नगरकोटका पर्यटन व्यवशायीहरूले चारदिने कार्यक्रममा विभिन्न कलाकारहरूको प्रस्तुति रहने बताएका छन् ।