एनएमबी बैंकले सुरु गर्यो लुप ईएमआई पर्चेज क्रेडिट सेवा
वि.सं.२०८३ असोज २३ शुक्रवार १७:५२
shares

काठमाडौं । एनएमबी बैंक लिमिटेडले सिटीटेक ग्रुप र स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी) सँगको सहकार्यमा लुप (LOOP) नेटवर्कमार्फत पर्चेज क्रेडिट र ईएमआई सेवा सुरु गर्ने भएको छ।
यसका लागि बैंकले सिटीटेक ग्रुप र एससीटीसँग लुप नेटवर्कमा ‘इसुअर बैंक’ का रूपमा आबद्ध हुन त्रिपक्षीय सम्झौता गरेको छ। यस सहकार्यमार्फत बैंकले आफ्ना ग्राहकलाई डिजिटल माध्यमबाट सहज रूपमा कर्जा तथा किस्ताबन्दी (ईएमआई) सुविधा उपलब्ध गराउनेछ।
सम्झौतापछि एनएमबी बैंकका ग्राहकले लुप नेटवर्कमा आबद्ध विभिन्न पसल तथा व्यावसायिक संस्थाबाट सामान खरिद गर्दा तत्काल पर्चेज क्रेडिट (लुप क्रेडिट) सुविधा लिन सक्नेछन्। साथै, ग्राहकले आफ्नो एनएमबी डेबिट कार्ड वा क्यूआरमार्फत गरेको भुक्तानीलाई सहजै मासिक किस्ताबन्दी (लुप ईएमआई) मा रूपान्तरण गर्न सक्नेछन्।
यस सुविधाले ग्राहकलाई तत्काल वित्तीय पहुँच उपलब्ध गराउनुका साथै सामान खरिद, बजेट व्यवस्थापन र भुक्तानी प्रक्रियालाई थप सहज बनाउने बैंकको अपेक्षा छ।
एनएमबी बैंकले हाल देशभर १९७ शाखा, १७६ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
























