काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने व्यवस्था बदर, डेटा संरक्षण ऐन बनाउन सर्वोच्चको आदेश

2.54K
shares

काठमाडौं । सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थामा ग्राहक पहिचान (केवाईसी) अद्यावधिक गर्दा वा मोबाइल नम्बर परिवर्तन गर्दा राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर अनिवार्य गर्नुपर्ने व्यवस्था बदर गरेको छ। साथै, नागरिकको व्यक्तिगत विवरणको सुरक्षा र गोपनीयता सुनिश्चित गर्न छुट्टै डेटा संरक्षण ऐन बनाउन प्रक्रिया अघि बढाउन सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र मेघराज पोखरेलको संयुक्त इजलासले अधिवक्ता सरिता अधिकारीले दायर गरेको रिटमा शुक्रबार अन्तिम सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो।

अधिकारीले गत असार ८ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग, नेपाल राष्ट्र बैंक र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकलाई विपक्षी बनाई रिट दायर गरेकी थिइन्।

रिटमा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दा लाखौँ सर्वसाधारण, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा प्राविधिक पहुँच नभएका नागरिक बैंक खाता सञ्चालन र वित्तीय सेवा उपभोग गर्नबाट वञ्चित हुन सक्ने जिकिर गरिएको थियो।

अदालतले नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन, २०८२ अन्तर्गत राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बरलाई नागरिक पहिचानको एकमात्र आधार बनाइएको हदसम्मको व्यवस्था उत्प्रेषणको आदेशले बदर गरेको हो।

साथै, राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर प्राप्त नभएसम्म नागरिकता प्रमाणपत्रलगायत अन्य पहिचानका कागजातका आधारमा दुई प्रणाली परीक्षण (टु च्यानल टेस्ट) गरी बैंकिङ सेवा प्रवाह गर्न विपक्षीका नाममा परमादेश जारी गरिएको छ।

यस आदेशसँगै राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर प्राप्त नगरेका नागरिकले पनि अन्य मान्य पहिचानका कागजातका आधारमा बैंकिङ सेवा लिन सक्नेछन्।

यसअघि सरकारले २०८१ साउन १ गतेदेखि चरणबद्ध रूपमा सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको थियो। उक्त निर्णयको चौतर्फी विरोध भएपछि सरकारले कार्यान्वयनको समयसीमा पछि सारेको थियो।

डेटा संरक्षण ऐन बनाउन निर्देशन

सर्वोच्च अदालतले व्यक्तिगत विवरणको सुरक्षा, गोपनीयताको प्रत्याभूति र डिजिटल अधिकारको संरक्षणका लागि समग्र डेटा संरक्षणसम्बन्धी स्वतन्त्र ऐन निर्माणको प्रक्रिया अघि बढाउन पनि निर्देशनात्मक आदेश दिएको छ।

व्यक्तिगत विवरणको संकलन, प्रयोग र सुरक्षालाई व्यवस्थित गर्न छुट्टै कानुनी व्यवस्था आवश्यक रहेको विषयलाई अदालतको आदेशले महत्त्व दिएको छ। यस्तो ऐन निर्माण भएमा नागरिकका व्यक्तिगत विवरणको सुरक्षा र गोपनीयता सुनिश्चित गर्न दीर्घकालीन कानुनी आधार तयार हुने अपेक्षा गरिएको छ।

उत्प्रेषणको आदेशमार्फत गैरकानुनी वा अधिकारक्षेत्र नाघेर गरिएको निर्णय वा व्यवस्था बदर गर्न सकिन्छ। यस मुद्दामा सर्वोच्चको आदेशले बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्रलाई एकमात्र पहिचानको आधार बनाउने व्यवस्थामा रोक लगाउनुका साथै व्यक्तिगत डेटा संरक्षणका लागि छुट्टै कानुन निर्माणको विषयलाई पनि अघि बढाएको छ।