नेपाल बैंक र त्रिभुवन विश्वविद्यालयबीच सेवाग्राही कर्जासम्बन्धी सम्झौता
वि.सं.२०७८ मंसिर १० शुक्रवार ०१:१३
shares
नेपाल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालयबीच स्थायी शिक्षक तथा कर्मचारीहरुलाई विना धितो १५ लाख रुपैयाँ सम्मको कर्जा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार नेपाल बैंक लिमिटेडले त्रिभुवन विश्वविद्यालयको सिफारिसको आधारमा त्यहाँ कार्यरत प्राध्यापक तथा कर्मचारीहरुलाई आम्दानीको आधारमा विना धितो शुलभ व्याजदरमा सेवाग्राही कर्जा उपलब्ध गराउने छ ।
बुधबार त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा आयोजित एक समारोहमा उक्त सम्झौता सम्पन्न भएको छ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. धर्मकान्त वास्तोला र नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीको रोहवरमा त्रिभुवन विश्वविद्यालयका तर्फबाट आर्थिक महाशाखा प्रमुख कुमारप्रसाद हुमागाँई र नेपाल बैंक लिमिटेडका तर्फबाट प्रमुख कर्जा अधिकृत लक्ष्मण पौडेलले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । उक्त कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा. डा. शिवलाल भुसाल, रजिष्टार प्रा. डा. पेसल दाहाल, नेपाल बैंक लिमिटेडका रिटेल कर्जा बिभाग प्रमुख निर्मलकृष्ण पाण्डे, मार्केटिङ तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुनबहादुर कँडेलका साथै बैंकको कीर्तिपुर शाखाका शाखा प्रबन्धक ज्ञानराज गौतम लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. धर्मकान्त बास्तोलाले नेपाल बैंक र त्रिभुवन विश्वविद्यालय बीचको धेरै पुरानो सम्बन्ध रहेको स्मरण गर्दै नेपाल बैकले त्रिभुवन विश्वविद्यालयमा प्रदान गर्दै आएको अटुट सेवाको उच्च प्रशंसा गर्दै नेपाल बैकलाई धन्यवाद दिएका थिए ।
सेवाग्राही कर्जाको सम्झौताबाट त्रिभुवन विश्वविद्यालयमा कार्यरत सम्पूर्ण प्राध्यापक/शिक्षक तथा कर्मचारीहरुले बढीभन्दा बढी लाभ लिन सक्ने विश्वास व्यक्त गर्दै भविष्यमा दुवै पक्षले अधिकतम लाभ लिन सक्ने थप नयाँ÷नयाँ कार्यक्रमहरु अगाडि बढाउन अनुरोधसमेत गरेका थिए । नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले देशका दुई वटा जेठा संस्थाहरुबीच ऐतिहासिक सम्बन्ध रहेको बताउँदै सेवाग्राही कर्जाको यो सम्झौताबाट त्रिभुवन विश्वविद्यालयका सम्पूर्ण कर्मचारीहरु लाभान्वीत हुने विश्वास व्यक्त गरे । त्यसैगरि नेपाल बैंकले प्रदान गर्ने सेवामा थप सहजता ल्याइ अझै उत्कृष्ठ सेवा प्रदान गर्ने प्रतिबद्घता पनि उनले व्यक्त गरेका थिए ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका रजिष्टार प्रा. डा. पेशल दाहालले नेपाल बैंक र त्रिभुवन विश्वविद्यालयको सम्बन्ध र सहकार्यको बारेमा चर्चा गरेका थिए भने नेपाल बैंक रिटेल कर्जा बिभाग प्रमुख निर्मलकृष्ण पाण्डे, त्रिभुवन विश्वविद्यालय आर्थिक महाशाखा प्रमुख कुमार हुमागाँई लगायतले पनि मन्तव्य राखेका थिए ।

























