global ime bank Long Banner Ad

गृहपृष्ठ एक बर्षदेखि प्रमुखविहीन कार्यालय, विकासे योजना अलपत्र

एक बर्षदेखि प्रमुखविहीन कार्यालय, विकासे योजना अलपत्र

एक बर्षदेखि प्रमुखविहीन कार्यालय, विकासे योजना अलपत्र

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पाल्पामा कार्यालय प्रमुख नहुँदा सेवा प्रवाहमा समस्या परेको छ । कार्यालयका तत्कालीन डिभिजन प्रमुख शिवकुमार श्रेष्ठ गत असोज २१ गते अनिवार्य अवकाश भएपछि कार्यालय प्रमुखविहीन बनेको छ । यहाँ कार्यालय प्रमुख नहुँदा विभिन्न योजना अलपत्र छन् ।

प्रदेश सरकारअन्तर्गतको यस कार्यालयले पाल्पासँगै अर्घाखाँचीमा खानेपानीको योजना सञ्चालन गर्दै आएकोमा गत साउनदेखि नै सम्पन्न योजनाको रकम भुक्तानी हुन नसकेको उपभोक्ता समितिले जनाएको छ । यस आर्थिक वर्षको पहिलो चौमासिक सकिँदा पनि कार्यालयमा प्रमुख नहुँदा आम नागरिकले गुनासो गरिरहेका छन् । लामो समयदेखि कार्यालयमा प्रमुख नहुँदा दैनिक कार्यसम्पादनदेखि तलवबाट वञ्चित हुनुपरेको कार्यालयमा कार्यरत कर्मचारी बताउँछन् ।

रामपुर नगरपालिका-२ स्थित खयरबोट खानेपानी आयोजना पनि प्रभावित बन्न पुगेको छ । योजना सिफारिस भए पनि कार्यालय प्रमुखको समस्याले अहिलेसम्म काम अगाडि बढ्न नसकेको रामपुुर–२ का वडा सदस्य बालकुमारी थापाले बताइन् । ‘आयोजना सिफारिस भए पनि निर्माणको कुनै प्रक्रिया अगाडि बढेको छैन, स्थानीयले काम किन सुरु भएन भनेर गुनासो गरिरहनुहुन्छ, खानेपानी कार्यालयमा फोन गरेर बुझ्दा काम हुन्छ भन्नुहुन्छ’, उनले भनिन् ।

गत वर्ष नै नाप जाँच गरिएको यस खानेपानी आयोजनाबाट करिब ४ सय घरधुरीका उपभोक्ता लाभान्वित हुनेछन् । लुम्बिनी प्रदेश सरकारका तीन मन्त्री पाल्पाबाट छन् । तर कार्यालय प्रमुखको व्यवस्थापनमा भने पहल नभएको स्थानीयले गुनासो गरेका छन् । मन्त्रालयको स्रोतका अनुसार रुपन्देहीको खानेपानी तथा सरसफाइ कार्यालयका प्रमुख अनुपकुमार चौधरी र गुल्मीमा कार्यरत डिभिजन प्रमुख अनुपकुमार उपाध्यायमध्ये एक जनालाई पाल्पा सरुवा गर्ने भनिए पनि अहिलेसम्म कार्यालय प्रमुखको टुंगो लाग्न सकेको छैन ।

प्रकाशित समय : १६:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु