गृहपृष्ठ मुख्यमन्त्री राईलाई विश्वासको मत दिनेबारे सत्ता गठबन्धनको छलफल
मुख्यमन्त्री राईलाई विश्वासको मत दिनेबारे सत्ता गठबन्धनको छलफल
प्रदेश १ का सत्तारूढ गठबन्धनका पाँच वटै दलका सांसदहरूको संयुक्त बैठक विराटनगरमा सुरू भएको छ । विराटनगरस्थित विग होटलमा पाँच दलले आफ्ना सबै सांसद भेला गरेर भोलि प्रदेशसभामा हुने विश्वासको मत दिने कार्यक्रममा अनिवार्य उपस्थित हुन निर्देशन दिने जनाएका छन् ।
आज सम्पन्न कांग्रेस संसदीय दलको बैठकले विश्वासको मतको पक्षमा मतदान गर्न सांसदहरूलाई निर्देशन दिएको छ । मुख्यमन्त्री राजेन्द्र राईले भोलि प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् ।
तत्कालीन मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएपछि नेकपा एकीकृत समाजवादीका नेता राईको नेतृत्वमा कात्तिक १६ मा नयाँ प्रदेश सरकार बनेको थियो । प्रदेशको पाँच दलीय सत्ता गठबन्धनमा ५० सांसद छन् । ९३ सदस्य रहेको प्रदेश सभामा हाल कायम संख्या ९२ छ ।
गठबन्धनमा कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जसपाका ३ र संघीय लोकतान्त्रिक मञ्चका १ गरी ५० सांसद छन् । मुख्य विपक्षी एमालेसँग ४१ सांसद छन् । एक जना सभामुख र एक जना फरार सांसद घटाउँदा उसको मत संख्या ३९ मात्रै हुन्छ ।
प्रकाशित समय : २२:२८ बजे


















