गृहपृष्ठ शेयर धितो कर्जामा १ करोडमाथि, एक वर्षमै ३२ प्रतिशतले बढ्यो
शेयर धितो कर्जामा १ करोडमाथि, एक वर्षमै ३२ प्रतिशतले बढ्यो
काठमाडौं। बैंकिङ प्रणालीबाट प्रवाह हुने शेयर धितो कर्जामा १ करोड रुपैयाँभन्दा माथिको कर्जाको माग सबैभन्दा बढी बढेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म बैंकहरूले कुल १ खर्ब ६२ अर्ब ८७ करोड ४३ लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेका छन्। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १ खर्ब २८ अर्ब ६७ करोड १० लाख रुपैयाँ थियो। यसअनुसार कुल शेयर धितो कर्जा २६.५८ प्रतिशतले बढेको छ।
कर्जा रकमअनुसार हेर्दा १ करोड रुपैयाँभन्दा माथिको शेयर धितो कर्जा १ खर्ब १६ अर्ब ७७ करोड ७८ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ८८ अर्ब ४२ करोड ७ लाख रुपैयाँको तुलनामा ३२.०७ प्रतिशत बढी हो। कुल शेयर धितो कर्जामध्ये करिब ७२ प्रतिशत हिस्सा यही वर्गले ओगटेको छ।
यस्तै, ५० लाखदेखि १ करोड रुपैयाँसम्मको कर्जा १८ अर्ब ५१ करोड ५२ लाख रुपैयाँ पुगेको छ, जुन २१.०१ प्रतिशत बढी हो। २५ लाखदेखि ५० लाख रुपैयाँसम्मको कर्जा १९ अर्ब १४ करोड ६६ लाख रुपैयाँ पुगेको छ, जसमा १३.४६ प्रतिशत वृद्धि भएको छ।
त्यसैगरी २५ लाख रुपैयाँसम्मको शेयर धितो कर्जा ८ अर्ब ४३ करोड ४८ लाख रुपैयाँ पुगेको छ। यो अघिल्लो वर्षको तुलनामा ४.६८ प्रतिशत बढी हो।
प्रकाशित समय : १७:४३ बजे



















