global ime bank Long Banner Ad

गृहपृष्ठ अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन दोब्बर, पाँच लाखभन्दा बढी विदेशी पर्यटक पुगे

अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन दोब्बर, पाँच लाखभन्दा बढी विदेशी पर्यटक पुगे

अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन दोब्बर, पाँच लाखभन्दा बढी विदेशी पर्यटक पुगे

पोखरा । अन्नपूर्ण संरक्षण क्षेत्रमा गत आर्थिक वर्ष विदेशी पर्यटकको आगमन उल्लेख्य रूपमा बढ्दै नयाँ कीर्तिमान कायम भएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का अनुसार आर्थिक वर्ष २०८२/८३ मा पाँच लाख आठ हजार ४७६ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका छन्।

यो संख्या अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा झण्डै दोब्बर हो। उक्त वर्ष दुई लाख ७८ हजार ११३ विदेशी पर्यटक अन्नपूर्ण क्षेत्रमा पुगेका थिए।

आयोजना प्रमुख डा. रवीन कडारियाका अनुसार गत आर्थिक वर्षमा सबैभन्दा धेरै तीन लाख ७५ हजार ७९७ भारतीय पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका छन्। दोस्रो स्थानमा १२ हजार ५३९ चिनियाँ र तेस्रोमा नौ हजार ८८४ अमेरिकी पर्यटक रहेका छन्।

आयोजनाको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा १६९ देशका पर्यटक अन्नपूर्ण क्षेत्रमा पुगेका थिए। तीमध्ये दक्षिण एसियाली मुलुकका तीन लाख ८४ हजार १४५ र अन्य मुलुकका एक लाख २४ हजार ३३१ पर्यटक रहेका छन्।

कडारियाले विशेषगरी गत जेठ महिनामा भारतसहित दक्षिण एसियाली मुलुकबाट आउने पर्यटकको संख्या करिब ३०० प्रतिशतले बढेको बताए। भारतमा पोखरा, मुक्तिनाथलगायत गन्तव्यको प्रवर्द्धन, यातायात पहुँचमा सुधार र सामाजिक सञ्जालमार्फत भएको प्रचारप्रसारका कारण भारतीय पर्यटकको आगमन बढेको उनको भनाइ छ। गर्मीयाममा मौसमको गर्मी छल्न भारतीय पर्यटक पोखरा र आसपासका पर्यटकीय गन्तव्य रोज्ने गरेका छन्।

भारतीय पर्यटकको आगमन बढेसँगै वैशाख–जेठमा पोखराका होटलहरूको अकुपेन्सी ९० प्रतिशतसम्म पुगेको थियो। पोखरा पुग्ने भारतीय पर्यटकमध्ये करिब ४० प्रतिशत मुक्तिनाथ दर्शनका लागि जाने गरेको आयोजनाले जनाएको छ। अन्य मुलुकका पर्यटक भने अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, तिलिचो ताल, थोरङला भञ्ज्याङ, उपल्लो मुस्ताङ, घोडेपानीलगायत पदयात्रा गन्तव्यमा जानुअघि केही समय पोखरामा बिताउने गर्छन्।

सात हजार ६०० वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन र सांस्कृतिक सम्पदाका कारण विश्वकै उत्कृष्ट पदयात्रा गन्तव्यमध्ये एक मानिन्छ। यस क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा समेटिएका छन्।

प्रकाशित समय : १६:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु