काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

जनशक्ति अभावका बिच सेवाग्राहीको भिड

10.88K
shares

प्रदेश आयुर्वेद अस्पताल सुर्खेतमा जनशक्ति अभावका बिच सेवाग्राही बढ्दै गएका छन् । अस्पतालको चार आर्थिक वर्षको तथ्यांकले हरेक वर्ष सेवाग्राहीको संख्या बढ्दो देखाएको हो ।

सेवाग्राही बढ्दै गए पनि जनशक्ति अभाव भने अस्पतालले झेल्दै आएको छ । अस्पतालमा आवश्यक पर्ने जनशक्ति ४२ जना भए पनि अस्पतालमा १६ जना मात्रै कर्मचारी छन् । एकजना चिकित्सकसहित ८ जनाको स्थायी दरबन्दी तथा चारजना कार्यालय सहयोगीसहित अन्य ८ जना भने करार सेवामा रहेको अस्पतालका प्रमुख शंकर प्रसाद रिजालले जानकारी दिए । उनले कर्णाली प्रदेश सरकारलाई विशेषज्ञ चिकित्सकसहित ४२ जना कर्मचारी आवश्यक परेको विवरण पठाइसकेको बताए ।

अस्पताल प्रमुख रिजालका अनुसार आर्थिक वर्ष २०७४/७५ मा अन्य सेवा लिने ६ हजार ४ सय १४ र ओपीडी सेवा लिने १४ हजार १ सय ३० जना गरी २० हजार ५ सय ४४ जना रहेका छन् । उनले आर्थिक वर्ष २०७५/७६ मा ७ हजार ६ सय ६ जनाले अन्य सेवा र १४ हजार ४ सय ८४ ले ओपीडी सेवा गरी जम्मा २२ हजार ९० जनाले अस्पतालबाट सेवा लिएका थिए । यस्तै आर्थिक वर्ष २०७६/७७ सालमा अन्य सेवा लिने १० हजार ४ सय १९ र ओपीडी सेवा लिने १७ हजार ९ सय ३६ जना गरी २८ हजार ३ सय ५५ जना रहेका हुन् । आर्थिक वर्ष २०७७/७८ मा भने ४ हजार ५ सय ३६ जनाले अन्य सेवा र २९ हजार ७ सय ३७ जनाले ओपीडी सेवा गरी ३४ हजार २ सय ७३ जनाले सेवा लिएका हुन् ।

मंगलबार अस्पताल व्यवस्थापन समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा समितिका अध्यक्ष बिनोद ढकालले समेत जनशक्ति अभाव हुँदा-हुँदै पनि गुणस्तरीय सेवा दिन सकिएको बताए । २०७६ साल वैशाख १२ गते बसेको कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद बैठकको निर्णयबाट समिति अध्यक्ष बनेका ढकालले आफ्नो कार्यकाल सकिएको भए पनि आगामी समितिले जनशक्ति पूर्ति गरी काम गर्ने आशा व्यक्त गरे । आफ्नो कार्यकालमा अस्पतालको भौतिक संरचना लगायतका थुप्रै काम गरेको जानकारी ढकालले दिए । उनले १८ करोड ३२ लाख लागतमा सुविधासम्पन्न १५ शय्याको भवनका लागि टेन्डर प्रक्रिया पूरा गरी काम सुरु गरिएको र ३ करोड ३३ लाख बजेटमा फार्मेसी भवनको समेत टेन्डर गरिएको जानकारी दिए । अस्पतालमा डिजिटल ल्याबको थालनी, बिरामीहरुलाई भिडियो एक्सरे सेवा सुचारु, औषधालय भवनको थप ७ कोठासहित बैठक हल र योगा हलको निर्माण, अस्पतालमा सवारी साधनको व्यवस्था गरेको ढकालले सुनाए ।

कोरोना भाइरस संक्रमणको रोकथाममा आयुर्वेद औषधिले धेरै काम गरेको बताउँदै भाइरसको दोस्रो लहर फैलँदा आइशोलसनसमेत सञ्चालन गरिएको उनले बताए । उनले भने, ‘कर्णाली जडिबुटिको खानी हो । आयुर्वेदलाई हामीले चिनाउन र नागरिकले चिन्न जरुरी छ ।’ उनले आफ्नो कार्यकालमा ‘कर्णालीमा पनि आयुर्वेद अस्पताल छ है’ भन्न लायक बनाएको तर्क गरे । ढकालले आफ्नो दुइवर्षे कार्यकालमा गरेको कामहरुको जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा आगामी समितिले अस्पतालको स्वामित्वमा रहेको १ बिगाह १२ कठ्ठा जमिनमा थप दुईवटा भवन बनेपछि बाँकी जमिनमा हर्बल गार्डेन बनाउनुपर्ने बताए ।

अस्पताल परिसरको १ सय ५० मिटर कम्पाउण्ड वालमा आयुर्वेद पद्दतिका विभिन्न उपचार, सेवा र महत्वपूर्ण वनस्पतिको बारेमा जानकारीमुलक सन्देशहरुको भित्ते लेखन गर्नुपर्ने र अस्पतालले दिने ३८ प्रकारका औषधिबाहेक अन्य औषधिका लागि फार्मेसी सञ्चालन गरी सस्तोमा नागरिकलाई औषधि वितरण गर्नुपर्ने पनि उनले बताए । ‘मैले गर्न नसकेका कामहरु आगामी समितिले गर्नेछ,’ उनले थपे, ‘मेरो कार्यकाल पूर्ण सफल भएको मैले ठानेको छु ।’ गर्न नसकेको कामहरु आगामी समितिले पूरा गर्नेमा आफू ढुक्क भएको उनले बताए ।