विपक्षी गठबन्धन सोमबार मात्र सर्वोच्च जाने, १४९ भन्दा बढीले हस्ताक्षर गरेकाे दाबी
वि.सं.२०७८ जेठ ९ आइतवार २१:४०
shares

प्रतिनिधि सभा विघटनविरूद्ध विपक्षी गठबन्धनले सोमबार मात्र सर्वोच्चमा रिट दिने भएका छन् । सोमबार बिहान १० बजे सर्वोच्चमा रिट दिने तयारी भएकाे नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले बताए । नेता पुनले सबै सांसदको हस्ताक्षर गरिएको र बहुमत पुगिसकेको दाबी गरेका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत शुक्रबार हस्ताक्षर गरेका १४९ जनाबाहेक अरूले पनि हस्ताक्षर गरेको बताए । ‘केही चिन्ता नलिनुहोला, अस्ति हस्ताक्षर गरेका १४९ मा अझै केही सांसद थपिनुभएको छ,’ प्रचण्डले भने । उनकाअनुसार सोमबार भौतिक रूपमै सांसदहरू अदालतमा उपस्थित हुनेछन् । माधव नेपाल पक्षका सांसदले हस्ताक्षर नगरेर आज रिट नलगेको हो भन्ने प्रश्नमा उनले त्यो अस्वीकार गरे ।
एमाले नेता नेपालले आफ्ना पक्षका सांसदले हस्ताक्षर गरेको बताएका छन् । उनले हल्लाका पछाडि नलाग्न पनि आग्रह गरेका छन् । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि रिटको मस्यौदा तयार भएको तर सबै तयारी नपुगेकाले भोलि जाने निर्णय भएको बताए ।
शुक्रबार १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दाबी गरेका थिए । प्रधानमन्त्री केपी ओली पक्षबाट अर्को दाबी पनि आएकाले दुवैलाई राष्ट्रपतिले अस्वीकृत गर्दै निर्वाचनको मिति घोषणा गरेकी थिइन् । शनिबार पाँच दलका शीर्ष नेताहरुको बैठकले प्रतितिनिधि सभा विघटन असंवैधानिक भएको निष्कर्ष निकाल्दै त्यसविरुद्ध सर्वोच्च जाने निर्णय गरेको थियो ।

























