Nepalese Flag २०७८ साउन १६ गते शनिबार   |   July 31, 2021

पुनर्कर्जामा १२३ अर्ब र सहुलियतपूर्ण कर्जामा १४२ अर्ब रुपैयाँ लगानी

भूमिराज 'पिठातोली' काठमाडौं जेठ ६, २०७८       

पुनर्कर्जामा १२३ अर्ब र सहुलियतपूर्ण कर्जामा १४२ अर्ब रुपैयाँ लगानी

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा कर्जा तथा वित्तीय क्षेत्रसम्बन्धी व्यवस्थामा लगानी स्वीकृत गरेको छ । पुनर्कर्जा, कृषि तथा उर्जा, लघु-साना एवं मझौला उद्यम कर्जा, कोभिड- १९ बाट अति प्रभावित पेशा/व्यवसाय सञ्चालन कर्जा र सहुलियतपूर्ण कर्जामा अर्बौं रूपैयाँ लगानी स्वीकृत भएको विवरण बैंकले सार्वजनिक गरेको हो ।

राष्ट्र बैंकको प्रतिवेदनअनुसार विभिन्न बैंक तथा वित्तीय संस्थाले पुनर्कर्जामा एक खर्ब २३ अर्ब १४ करोड रूपैयाँ लगानी गरेका छन् । पुनर्कर्जा कार्यविधि २०७७ बमोजिम गत चैत मसान्तसम्ममा ग्राहक मूल्यांकनमा आधारित पुनर्कर्जा ३१० ऋणीलाई ४३ अर्ब १९ करोड र एकमुष्ठ प्रदान गरिने पुनर्कर्जा ४८ हजार ५५० ऋणीलाई ९२ अर्ब ३८ करोड रुपैयाँ स्वीकृत गरेको हो । त्यस्तै लघुवित्त वित्तीय संस्थामार्फत् एकमुष्ठ प्रदान गरिने पुनर्कर्जा १० अर्ब २३ करोड रुपैयाँ स्वीकृत भएको राष्ट्र बैंकले जनाएको छ ।

सहुलियतपूर्ण कर्जा १४२ अर्ब

उद्यमशीलता विकास, उत्पादन अभिवृद्धि र रोजगारी सिर्जना गर्ने उद्देश्यले कार्यान्वयनमा ल्याइएको सहुलियतपूर्ण कर्जा कार्यक्रमबाट चैत मसान्तसम्ममा ८९ हजार ८७९ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई एक खर्ब ४२ अर्ब दुई करोड रुपैयाँ कर्जा लगानीमा रहेको राष्ट्र बैंकले जनाएको छ ।

सो कर्जामध्ये कृषि तथा पशुपन्छी व्यवसाय कर्जाअन्तर्गत ४२ हजार ४४७ ऋणीलाई प्रवाह भएको ९६ अर्ब ६० करोड रुपैयाँ कर्जा रहेको छ भने महिला उद्यमशील कर्जाअन्तर्गत ४५ हजार १२८ महिला उद्यमीलाई प्रवाह भएको ४२ अर्ब १६ करोड रुपैयाँ कर्जा रहेको राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताए ।

प्रवक्ता ढकालका अनुसार वाणिज्य बैंकहरुले कुल कर्जा लगानीको २०७८ असार मसान्तसम्म न्यूनतम ११ प्रतिशत, २०७९ असार मसान्तसम्म १३ प्रतिशत र २०८० असार मसान्तसम्म १५ प्रतिशत कृषि क्षेत्रमा कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था गरिएकोमा २०७७ चैत मसान्तमा उक्त क्षेत्रमा १२.६३ प्रतिशत कर्जा प्रवाह भएको छ ।

वाणिज्य बैंकहरूले कुल कर्जा लगानीको २०७८ असार मसान्तसम्म न्यूनतम ६ प्रतिशत, २०७९ असार मसान्तसम्म ७ प्रतिशत, २०८० असार मसान्तसम्म ९ प्रतिशत र २०८१ असार मसान्तसम्म १० प्रतिशत ऊर्जा क्षेत्रमा कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था गरिएकोमा २०७७ चैत मसान्तमा उक्त क्षेत्रमा ५.९७ प्रतिशत कर्जा प्रवाह भएको ढकालले बताए ।

उनका अनुसार वाणिज्य बैंकहरुले लघु, साना एवं मझौला उद्यमका क्षेत्रमा एक करोड रुपैयाँभन्दा कम रकमका कर्जाहरु आफ्नो कुल कर्जा लगानीको २०७८ असार मसान्तसम्म न्यूनतम ११ प्रतिशत, २०७९ असार मसान्तसम्म १२ प्रतिशत, २०८० असार मसान्तसम्म १४ प्रतिशत र २०८१ असार मसान्तसम्म १५ प्रतिशत प्रवाह गर्नुपर्ने व्यवस्था रहेकोमा २०७७ चैत मसान्तमा कुल कर्जा सापटको ९.२२ प्रतिशत कर्जा उक्त क्षेत्रमा प्रवाह भएको छ ।

कोभिड-१९ बाट अति प्रभावित पेसा/व्यवसाय सञ्चालन कर्जा

व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि २०७७ बमोजिम कोभिड-१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पुर्‍याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि व्यवस्था गरिएको कर्जा २०७७ चैत मसान्तसम्म सात वाणिज्य बैंकबाट ३३ ऋणीलाई ४२ करोड कर्जा प्रवाह भएको छ ।

सम्बन्धित खबरहरु