कालोपत्र उप्किएको १६ वर्षपछि जयराम–हलेसी सडक मर्मत हुने
वि.सं.२०८३ कात्तिक १८ बुधवार १७:५४
shares

सारांश
- मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको जयरामघाट–हलेसी सडक कालोपत्र उप्किएर जीर्ण बनेको १६ वर्षपछि मर्मत हुने भएको छ ।
- सडक मर्मतका लागि सात करोड २१ लाखको लागतमा ठेक्का सम्झौता भएको छ ।
- हलेसीदेखि दिक्तेलबजारसम्मको ४२ किलोमिटर सडक भने एसियाली विकास बैङ्क (एडिबी)को आर्थिक सहयोगमा कालोपत्र गरिएको छ ।
खोटाङ । मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको जयरामघाट–हलेसी सडक कालोपत्र उप्किएर जीर्ण बनेको १६ वर्षपछि मर्मत हुने भएको छ । सडक मर्मतका लागि सात करोड २१ लाखको लागतमा ठेक्का सम्झौता भएको छ ।
दूधकोशीस्थित जयरामघाटदेखि त्रिधार्मिकस्थल हलेसीसम्मको ३५ किलोमिटर सडक विसं २०६७ मा ओटासिल प्रविधिबाट कालोपत्र गरिएको थियो । कालोपत्र गरिएको केही वर्षमै उप्किएर सडकमा खाल्डाखुल्डी बनेपछि यस मार्गमा यात्रा जोखिमपूर्ण बन्दै आएको छ ।
खोटाङका १० स्थानीय तहसँगै छिमेकी भोजपुरका सवारीसाधन पनि यही मार्ग हुँदै काठमाडौँलगायत विभिन्न सहर आवतजावत गर्छन् । दैनिक सयौँ सवारीसाधन ओहोरदोहोर गर्ने यो सडक जीर्ण हुँदा यात्रुले सास्ती भोग्दै आएका छन् ।
हलेसी तुवाचुङ नगरपालिकाभित्र पर्ने यो सडक राजधानी काठमाडौँसहित विभिन्न सहर आवतजावत गर्ने प्रमुख मार्ग हो । विश्वप्रसिद्ध धार्मिकस्थल हलेसी दर्शन तथा अवलोकन गर्न आउने दर्शनार्थीले पनि यही सडक प्रयोग गर्छन् । हिन्दु, बौद्ध र किरात धर्मावलम्बीको आस्थाको केन्द्र हलेसी पुग्ने सडक साँघुरो हुनुका साथै ठाउँठाउँमा खाल्डाखुल्डी छन् । कालोपत्र उप्किएर बनेका खाल्डामा वर्षायाममा पानी जम्ने र हिउँदमा धुलो उड्ने गरेको स्थानीय सर्वधन बस्नेतले बताए ।
पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय रामेछापका सूचना अधिकारी एवं इन्जिनियर भरत श्रेष्ठका अनुसार सडक मर्मतका लागि कात्तिक १६ गते एसआरबी बिल्डर्स सिन्धुपाल्चोकसँग सात करोड २१ लाखमा ठेक्का सम्झौता गरिएको हो ।
“कालोपत्र उप्किएर खाल्डाखुल्डी भएका ठाउँमा मर्मत गर्ने र जीर्ण भागमा पुनःनिर्माण गर्ने गरी सम्झौता भएको छ । निर्माण कम्पनीले तिहारपछि काम सुरु गर्ने तयारी गरेको छ”, उनले भने, “सडकका खाल्डाखुल्डी पुर्ने र जीर्ण भाग पुनःनिर्माण गर्ने काम सम्पन्न भएपछि तत्काल देखिएको समस्या समाधान हुनेछ ।”
योजना कार्यालयका अनुसार आगामी जेठ मसान्तभित्र मर्मतको काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ । लामो समयदेखि जीर्ण सडक मर्मत हुने भएपछि स्थानीयवासी खुसी भएका छन् ।
हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख बिमला राईले जयराम–हलेसी सडकलाई मध्यपहाडी लोकमार्गको मापदण्डअनुसार स्तरोन्नति गर्न र तत्काल खाल्डाखुल्डी मर्मत गर्न आफूहरूले निरन्तर माग गर्दै आएको बताए । उनका अनुसार सडकको रेखदेख गर्दै आएको मध्यपहाडी राजमार्ग योजना कार्यालय रामेछापको सट्टा सडक विभागलाई जिम्मेवारी दिनसमेत नगरपालिकाले माग गर्दै आएको छ ।
दैनिक लामो तथा छोटो दूरीका सयौँ सवारीसाधन आवतजावत गर्ने व्यस्त सडकमा मर्मतका लागि मात्र ठेक्का लागेपछि यसको चौडाइ विस्तार गर्ने विषय भने अन्योलमै रहेको छ । सडक सञ्चालनमा आएको लामो समय बितिसक्दा पनि सरकारले स्तरोन्नतिमा चासो नदिएपछि जिल्लावासीले मध्यपहाडी लोकमार्गको मापदण्डअनुसार सडक निर्माण गर्न दबाब दिँदै आएका छन् ।
यसैबीच, हलेसीदेखि दिक्तेलबजारसम्मको ४२ किलोमिटर सडक भने एसियाली विकास बैङ्क (एडिबी)को आर्थिक सहयोगमा कालोपत्र गरिएको छ । मध्यपहाडी लोकमार्गको मापदण्डअनुसार सडक कालोपत्र भएपछि दिक्तेल–हलेसी खण्डमा यात्रा सहज भएको छ ।

























