ह्यारी र मेगनको चर्चित अन्तर्वार्ता, जहाँ ११ कुराहरू विवादास्पद बने
वि.सं.२०७७ चैत १८ बुधवार १६:४७
shares

सीबीएस टीभीमा प्रसारित दुई घण्टा लामो अन्तर्वार्तामा राजकुमार ह्यारी र मेगनले जातिवाद, मानसिक स्वास्थ्य, सञ्चारमाध्यमसँगको आफ्नो सम्बन्ध र राजपरिवारसँग सम्बन्धित विविध विषयमा बोलेका छन् । मेगनले अन्तर्वार्तामा धेरै समय बोलेकी छन् र राजकुमार ह्यारी बीचतिर मात्रै अन्तर्वार्तामा आउँछन् । के ह्यारी र मेगन आत्मनिर्भर बन्न सक्छन् ?
सो अन्तर्वार्तामा राजकुमार ह्यारी र मेगनले भनेका ११ कुरा यस्ता छन् ।
१. छोरा 'कति अश्वेत हुन्छ' भन्ने प्रश्न
ह्यारी र मेगनका छोरा कति अश्वेत हुन्छन् भन्ने राजपरिवारभित्र भएको चर्चा भएको आरोप अन्तर्वार्तामा मेगनले लगाएकी छन् । आफू गर्भवती हुँदा गर्भमा भएको बच्चा कति अश्वेत हुन्छ भन्ने चिन्ता र कुराकानी हुने गरेको उनले बताएकी छन् । उनले सो कुराकानी ह्यारीसँग भएको र त्यो कुरा ह्यारीले आफूलाई भनेको मेगनले बताइन् । तर, दुवै जनाले कसले त्यो कुरा गर्योी भनेर भन्न अस्वीकार गरे । 'त्यो कुराकानीबारे म कहिल्यै पनि बोल्नेछैन,' ह्यारीले भने । 'त्यो बेला यो अलि अप्ठेरो कुरो थियो, म छक्क परेको थिएँ ।'
२. केट र मेगनको सम्बन्ध
केही वर्षअघि समाचारपत्रहरूमा डचिस अफ क्रेम्ब्रिज केटलाई मेगनले विवाहको तयारीको विषयलाई लिएर रुवाएको विवरण प्रकाशित भएका थिए । तर मेगनले त्यसको उल्टो भएको बताइन् । 'विवाहको केही दिनअघि केट विवाहमा फूल बोल्ने बालिकाहरूको पोसाकलाई लिएर खुसी थिइनन् र त्यसले मलाई रुवायो,' मेगनले भनिन् । उनले केटले पछि माफी माग्दै पुष्पगुच्छा र पत्र पठाएको पनि बताइन् । उनले केटका बारेमा यो कुरा उनलाई तल देखाउन नभनेको पनि बताइन् । केट राम्रो व्यक्ति भएको भन्दै उनले केटले पनि गलत कुरा सच्याउन चाहने बताइन् ।
३. आत्महत्याको सोच
मेगनले राजपरिवारभित्र छिरेपछि आफूले एक्लो महसुस गरेको र स्वतन्त्रता गुमाएको बताइन् । 'राजपरिवार सदस्य भएयता मैलै यहाँ आउने बेला मात्रै आफ्नो राहदानी, चालक अनुमतिपत्र र साँचो देखेँ । ती सबै मैले त्यहाँ बुझाउनु पर्थ्यो ।' उनले आफ्नो मानसिक स्वास्थ्य बिग्रिएर आत्महत्याको सोचसमेत आएको बताइन् । 'मैलै परिवारमा मलाई सहयोग चाहिएको कुरा बताएँ, यसअघि यस्तो कहिल्यै नभएको बताएँ र कतै जानुपर्ने बताएँ र मलाई म जान नसक्ने बताइयो । यो कुरा परिवारलाई राम्रो नहुने बताइयो ।' उनले राजपरिवारको एक वरिष्ठ सदस्य र दरबारको मानव संसाधन विभागलाई यो कुरा बताएको तर कहिल्यै केही नगरिएको बताइन् ।
४. डायनाकी साथीसँग भेट
'मलाई थाहै थिएन कि कसलाई मेरो अवस्थाको कुरा गर्ने,' उनले भनिन् । 'मैले यो कुरा भनेको व्यक्ति जोसँग म अहिले पनि साथी छु । उनी मेरा श्रीमान्को आमाकी मिल्ने साथीमध्ये एक हुन् ।'
५. ह्यारीको बुवासँग गुनासो
ओप्राले ह्यारीलाई परिवारका अन्य सदस्यहरू विशेषगरी बुवा प्रिन्स अफ वेल्स र दाजु ड्यूक अफ क्रेम्ब्रिजसँगको सम्बन्धबारे सोधेकी थिइन् । राजकीय भूमिकाबाट अलग भएपछि एक समय बुवा चार्ल्सले आफ्नो फोन पनि उठाउन छोडेको ह्यारीले बताए । 'मलाई निकै दु:ख लाग्यो किनभने उनी यस्तै समयबाट गुज्रेका थिए र यसको पीडा उहाँलाई थाहा छ । तर म सधैँ उनलाई माया गर्नेछु तर हामीबीच निकै पीडा बाँडिए र अहिले पनि मेरो प्राथमिकतामा हाम्रो सम्बन्ध सुधार्नु रहेको छ ।' विलियमका बारेमा ह्यारीले आफूहरूले नर्कजस्तो अवस्था सँगै देखेको र उनलाई माया गर्ने बताएपछि आफूहरूको बाटो फरक भएको बताए ।
६. महारानीसँगको सम्बन्ध
ह्यारीले आफ्नी हजुरआमा तथा महारानीसँग एकदमै राम्रो सम्बन्ध भएको र उनीहरू गत वर्ष त्यस अघिभन्दा धेरै पटक नियमित कुराकानी गरेको बताए । 'उहाँ मेरी प्रमुख संरक्षक हुनुहुन्छ, होइन त ? सधैँ त्यही रहनुहुन्छ ।' मेगनले पनि महारानीको प्रशंसा गरिन् । महारानीले आफूलाई सँगै गरेको पहिलो कार्यक्रममा राम्रा गरगहना दिएको उनले बताइन् ।
७. ह्यारीको आर्थिक सहयोग काटियो
सन् २०२० को पहिलो त्रैमासिकमा ह्यारीका अनुसार उनको परिवारले उनलाई आर्थिक सहयोग दिन बन्द गर्योा । नेटफ्लिक्स र स्पटिफाईसँग उनले र मेगनले कार्यक्रम बनाउन गरेको सम्झौताको कुनै योजना थिएन तर ह्यारीले 'हाम्रो लागि सुरक्षालाई त खर्च हुनुपर्ने' बताए । 'तर मैले आमाले मलाई छोडेको सम्पत्ति पाएँ र त्यो नभएको भए हामीले यो सबै गर्न सक्ने थिएनौँ ।'
उनीहरूले अमेरिकी अर्बपति टेलर पेरीले क्यानडाबाट क्यालिफोर्निया सर्दा घर र सुरक्षा खर्च दिएको बताए ।
८. तस्बिरमा लुकेको कुरा
मेगनका अनुसार उनले ह्यारीलाई आफूले आत्महत्याको सोच आउन थालेको बताएको साँझ उनीहरूले रोयल अल्बर्ट हलमा औपचारिक कार्यक्रममा सहभागी हुनुपर्ने थियो । मेगनले त्यो दिनको तस्बिरले आफूलाई सधैँ त्यो सोच सम्झाउने गरेको बताइन् । उनले आफ्नो एक साथीले त्यो तस्बिर राम्रो भएको बताएको बताउँदै भनिन्, 'त्यो तस्बिरमा राम्रोसँग हेर्नुभयो भने उनले कति कडासँग मुट्ठी समातेका थिए भन्ने देखिन्छ ।' हामी हाँसिरहेका थियौँ र आफ्नो काम गरिरहेका थियौँ तर वास्तवमा हामी एकअर्कालाई सम्हालिरहेका थियौँ। जति पटक म भएको स्थानमा अँध्यारो हुन्थ्यो, म रुन्थेँ ।'
९. मेगन राजपरिवारबारे अनभिज्ञ
पहिलो पटक महारानी भेटेको बारेमा कुरा गर्दै मेगनले राजपरिवारभित्र घुँडा खुम्चाएर अभिवादन गर्नु सामान्य चलन रहेको थाहै नभएको बताइन् । उनले राजपरिवारमा जानुअघि त्यसबारे कुनै अध्ययन नगरेको बताइन् र आफ्ना पति ह्यारीका बारेमा अनलाइनमा कहिल्यै नहेरेको बताइन् । आर्ची आगामी मे महनामा दुई वर्ष पुग्दैछन् ।
१०. आर्चीको मन पर्ने वाक्य
ह्यारीले छोरा आर्चीको बारेमा र उनलाई साइकलमा बाहिर लग्दा हुने रमाइलोको बारेमा पनि बताए । अन्तर्वार्तामा आर्ची आफ्नो आमाबावुसँग समुद्र किनारमा खेल्दै गरेको भिडिओ पनि देखाइएको थियो । ह्यारी र मेगनले हालसालै आर्चीले मन पर्ने शब्द 'पानी खानूस्' भएको र ह्यारीका अनुसार जो घरबाहिर निस्के पनि आर्चीले भन्ने वाक्य 'सुरक्षित जानूस्' हो ।
११. गर्भमा छोरी
ह्यारी र मेगनले अबको ग्रीष्म ऋतुमा छोरीको जन्मिने बताए । ह्यारीले गजब भएको बताउँदै भने, 'अरू के चाहिन्छ र ?' दोस्रो बच्चापछि अरू सन्तान नजन्माउने उनले बताए । अन्तर्वार्ताको अन्त्यतिर ओप्राले मेगनलाई राजकुमार ह्यारीसँग खुसी रहेको बारेमा सोधेकी थिइन् । त्यसको जबाफमा मेगनले भनिन्, 'अहिलेसम्म पढिएको सबैभन्दा सुखान्त कथाभन्दा पनि धेरै खुसी !' (बीबीसीबाट)

























