नेपाल वैदेशिक लगानीका लागि आकर्षक गन्तव्य : परराष्ट्रमन्त्री
वि.सं.२०८३ कात्तिक १८ बुधवार १९:५६
shares

सारांश
- परराष्ट्रमन्त्री शिशिर खनालले नेपाललाई उदीयमान अर्थतन्त्र र वैदेशिक लगानीका लागि आकर्षक गन्तव्यका रूपमा प्रवर्द्धन गर्नुपर्ने बताएका छन्।
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले नेपाललाई उदीयमान अर्थतन्त्र र वैदेशिक लगानीका लागि आकर्षक गन्तव्यका रूपमा प्रवर्द्धन गर्नुपर्ने बताएका छन्।
बुधबार परराष्ट्र मन्त्रालयले आयोजना गरेकाे ‘नेपाल–अमेरिका लगानी तथा व्यापार प्रवर्द्धन र निजी क्षेत्रबिच भ्रमण आदानप्रदान’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा बताएका हुन्।
कार्यक्रमलाई सम्बोधनको क्रममा मन्त्री खनालले सरकारको प्राथमिकता सुशासन र आर्थिक समृद्धि रहेको उल्लेख गर्दै निर्यात व्यापार बढाउन र विदेशी पर्यटक भित्र्याउन सबै पक्षबाट एकीकृत प्रयासको आवश्यकता रहेको बताए।
सो अवसरमा अमेरिकन चेम्बर अफ कमर्स इन नेपालले ‘नेपालः सम्भावनाको देश, संयुक्त राज्य अमेरिका: समृद्धिका लागि साझेदार’ विषयमा प्रस्तुत गरेको थियो भने नेपाल–अमेरिका उद्योग वाणिज्य सङ्घले ‘नेपाल–अमेरिका व्यापार र लगानीका सम्भावना, मुद्दा तथा चुनौतीहरू’ विषयमा कार्यपत्र प्रस्तुत गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल अमेरिका उद्योग वाणिज्य सङ्घ, अमेरिकन चेम्बर अफ कमर्स इन नेपाल, नेपाल निर्यात व्यवसायी महासङ्घ, स्वतन्त्र ऊर्जा उत्पादकहरूको हकहितका लागि कार्यरत संस्थाका अध्यक्षहरूका साथै विभिन्न स्टार्टअप कम्पनीका प्रतिनिधिहरूको उपस्थिति थियो।

























