प्रथा र परम्पराका आडमा महिलाले महिलालाई नै हेप्छन्
वि.सं.२०७७ चैत ५ बिहीवार १९:३७
shares
स्थानीय तहमा भौतिक पूर्वाधारका कामले गति लिइरहे पनि सामाजिक चेतना अभिवृद्धिमा सम्बन्धित निकायको ध्यान नपुग्दा महिला तथा बालबालिकाहरु सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारबाट बञ्चित भइरहेका छन् । स्थानीय तथा प्रदेश सरकारले जनचेतना वृद्धि गर्न नसक्दा महिला तथा बालबालिकाहरु सुरक्षित मातृत्व प्रजनन अधिकारबाट बञ्चित भएका हुन् ।
सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालले धनगढीमा सञ्चालन गरेको जिल्लास्तरीय कार्यशाला गोष्ठीमा कैलालीका १३ वटै स्थानीय तहका प्रमुख/उपप्रमुखहरुलाई निमन्त्रणा गरिएको थियो ।कार्यक्रममा आफ्ना स्थानीय तहबाट भइरहेका कामका बारेमा जानकारी गराउने क्रममा स्थानीय तहको ३ बर्षे कार्यकालसम्म कानुन नै नबनेको जनप्रतिनिधिहरुले बताए । महिला तथा बालबालिकाका क्षेत्रमा विभिन्न काम गरेको दावी गरे पनि उनीहरु कानुन निर्माणमै पछाडि देखिए ।
कार्यक्रममा प्रमुख अतिथि रहेकी सुदूरपश्चिम प्रदेश सभाका उपसभामुख निर्मला बडाल जोशीले प्रदेशले पनि सुरक्षित मातृत्व तथा प्रजनन् अधिकारसम्बन्धी ऐन बनाउने तयारी गरिरहेको जानकारी दिइन् । उनले सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकारसम्बन्धी छुट्टै ऐन अहिलेसम्म नबने पनि प्रदेशले सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य ऐन भने २०७६ मै बनाइसकेको उल्लेख गरिन् ।
प्रथा, परम्पराका कारण महिलाले महिलालाई नै हेप्ने चलन बढिरहेको उल्लेख गर्दै उनले कानुन कार्यान्वयनमा महिलाले आफैँबाट सुरु गर्न आवश्यक रहेको औंल्याइन् । ‘पुरुषलाईभन्दा बढी समस्या महिलालाई हुने गर्दछ,’ उनले भनिन्, ‘त्यसैले कानुन कार्यान्वयनमा महिला नै अगाडि बढ्न आवश्यक छ ।’ कार्यक्रममा सहभागी स्थानीय तहका प्रमुख तथा उपप्रमुख र उपाध्यक्षहरुले संघीय र प्रदेश ऐनसँग नबाझिने गरी स्थानीय सरकारहरुले सुरक्षित मातृत्व तथा प्रजनन् अधिकारसम्बन्धी ऐन बनाउने बताएका छन् ।
घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीले सुरक्षित मातृत्व र प्रजनन् अधिकार स्थानीय सरकारका प्राथमिकताको विषय रहेको बताए । उनले आफ्नो पालिकाले यससम्बन्धी ऐन चाँडै बनाउने उल्लेख गरे । ‘सडक, पुल पुलेसो, बाटोघाटो बनाउनुमात्रै विकास होइन,’ उनले भने, ‘हामी, सुखी, खुसी छौँ भन्ने किसिमको सामाजिक विकास पनि विकास हो ।’ पालिकामा चुनौतीको रुपमा रहेको बालविवाह रोक्नका लागि स्थानीय सरकार अग्रसर रहेको चौधरीले बताए ।
टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्र रावलले आफ्नो पालिकाले हालसम्म ऐन बनाउन नसके पनि सुरक्षित मातृत्व र प्रजनन् अधिकारका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताए । उनका अनुसार नगरपालिकाले गर्भवतीलाई अस्पतालसम्म जानका लागि निःशुल्क एम्बुलेन्स र निःशुल्क रुपमा दुई पिन्ट रगत उपलब्ध गराउने गरेको छ । ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रमअन्तर्गत २० वर्ष उमेरसम्म विवाह नगरेकाहरुलाई एक हजार रुपैयाँका दरले सहयोग गरिरहेको उनले जानकारी दिए । ‘आमासँग उपमेयर कार्यक्रममार्फत नियमित रुपमा गर्भजाँच गराएर स्वास्थ्य संस्थामै बच्चा जन्माउने सुत्केरीलाई पनि एक हजार रुपैयाँ बराबरको पोषिलो खाना दिने गरेका छौं,’ उनले भने ।
गौरीगंगा नगरपालिकाका उपप्रमुख अञ्चला चौधरीले २०७५ सालदेखि महिलासँग उपप्रमुख कार्यक्रम सञ्चालन गरेर सुत्केरीलाई एक किलो घ्यु र पोषणयुक्त खाना दिने गरेको बताइन् । उनका अनुसार शून्य होम डेलिभरी र पोषणमा सुधार गर्ने उद्देश्यसहित नगरपालिकाले यो कार्यक्रम लागू गरेको हो ।

























