निफ्रालाई किन सोध्यो नेप्सेले स्पष्टीकरण ?
वि.सं.२०७७ चैत ४ बुधवार २०:५३
shares
नेपाल इन्फ्रास्टक्ट्रचर बैंक (निफ्रा) लाई नेपाल स्टक एक्सचेन्जले लण्डन स्टक एक्सचेन्जमा बण्ड जारी गर्ने विषयमा स्पष्टीकरण सोधेको छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को टोलीसँग निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले चालू आर्थिक वर्षभित्रै लन्डन स्टक एक्सचेन्जमा ३० मिलियन डलर बराबरको बोन्ड जारी गर्न लागेको बताएका थिए ।
सोही आधारमा समाचारहरू प्रकाशन/प्रसारण भएपछि नेप्सेले अफ्नो ध्यानाकर्षण भएको भन्दै नेप्सेका कामु सहायक प्रवन्धक सुवोध ढुंगेलले तीन दिनभित्र लिखित जवाफ पेश गर्न निफ्रालाई पत्राचार गरेका छन् । स्पष्टिकरण सोधिएको पत्रमा भनिएको छ, 'सञ्चारमाध्यमलाई दिएको जानकारी के कति सत्य हो ? आगामी वर्ष १० प्रतिशत लाभांश दिने भनेको कति सत्य हो ? यसबारेमा तीन दिनभित्र स्पष्टीकरण दिन अनुरोध छ ।'
नेप्सेलाई जानकारी नै नभई सञ्चारमाध्यमलाई दिने सूचनाहरुले कम्पनीको सेयर मूल्यमा प्रभाव पार्ने नेप्सेले जनाएको छ । नेप्सेका अनुसार सेयर मूल्यमा प्रभाव पार्नसक्ने निर्णय गरे त्यसको २४ घण्टाभित्रै नेप्सेलाई जानकारी दिनुपर्ने व्यवस्था छ ।


























