कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन एमालेले फिर्ता लियो
वि.सं.२०७७ चैत ४ बुधवार २१:१४
shares

मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन नेकपा एमालेले फिर्ता लिएको छ । एमालेले समर्थन फिर्ता लिने भएपछि कर्णाली प्रदेश सरकार अल्पमतमा परेको छ ।
बुधबार बसेको एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री शाही नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारमा सहभागी भएका आफ्ना मन्त्रीहरूलाई फिर्ता हुन निर्देशन दिने निर्णय गरेको हो । सर्वोच्च अदालतको फैसलाले एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिएपछि प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको संसदीय दलका नेता यमलाल कँडेलले बताए । कर्णाली प्रदेश सरकारमा एमालेबाट आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा छन् ।
एमाले संसदीय दलको बैठकमा एमालेका २० मध्ये १० सांसद सहभागी थिए । नेत कँडेलका अनुसार बैठकमा अनुपस्थित सांसदलाई स्पष्टीकरण सोध्ने पनि निर्णय भएको छ । कर्णाली प्रदेशसभामा ४० सदस्य छन् । यसमध्ये एमालेका २०, माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका ६ र राष्ट्रिय प्रजातन्त्र पार्टीका १ जना सांसद छन् ।

























