बैँक तथा वित्तीय संस्थाको शाखा संख्या १० हजार ३६६ पुग्यो
वि.सं.२०७७ चैत ४ बुधवार १९:४९
shares

देशभर बैँक तथा वित्तीय संस्थाको शाखा संख्या १० हजार ३६६ पुगेको छ । नेपाल राष्ट्र बैँकबाट माघ मसान्तमा इजाजतप्राप्त १४३ बैंक तथा वित्तीय संस्थाको शाखा संख्या १० हजार ३६६ पुगेको हो ।
हाल देशभर २७ वाणिज्य बैंक, १९ विकास बैंक, २० वित्त कम्पनी, ७६ लघुवित्त वित्तीय संस्था र एक पूर्वाधार विकास बैंक सञ्चालनमा छन् । बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या सात महिनामा ६०१ वटा बढेको हो । २०७७ असार मसान्तमा ९ हजार ७६५ रहेको शाखा संख्या २०७७ माघ मसान्तमा १० हजार ३६६ पुगेको छ ।
वाणिज्य बैँकको शाखा संख्या ४ हजार ४३६ बाट बढेर ४ हजार ६३७, विकास बैँकको शाखा संख्या १ हजार २९ बाट बढेर १ हजार ६५, वित्त कम्पनीको २४३ बाट बढेर २५६ र लघुवित्तको ४ हजार ५७ बाट बढेर ४ हजार ४०८ पुगेको छ । पूर्वाधार विकास बैँकका शाखा छैनन् ।
हालसम्म ताप्लेजुङको मिक्वाखोला गाउँपालिका, धादिङको रुबीभ्याली गाउँपालिका, जाजरकोटको जुनीचाँदे गाउँपालिका र बझाङको काँडा गाउँपालिकामा बैँकका शाखा पुग्न सकेका छैनन् ।
समीक्षा अवधिमा वाणिज्य बैँक २७ वटामै सीमित छन् । पछिल्लो मर्जर ग्लोबल आईएमई र जनता बैँकबीच भएको छ । त्यस्तै विकास बैँक २० बाट १९, वित्त कम्पनी २२ बाट २० र लघुवित्त ८५ बाट ७६ वटामा झरेका छन् । सात महिनाको अवधिमा ९ वटा संस्थाको अस्तित्व समाप्त भएको छ ।
वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्तिसम्बन्धी प्रक्रिया सुरु गराएपश्चात् २०७७ माघ मसान्तसम्ममा २१३ बैंक तथा वित्तीय संस्था मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएका छन् । त्यसमध्ये १६१ संरुको इजाजत खारेज भई ५२ संस्था कायम भएका छन् ।

























