‘भीडभाडमा नजाउ, अरुलाई पनि सर्छ’ : अज्ञानता कि एचआइभी संक्रमितप्रति घृणा ?
वि.सं.२०७७ फागुन १९ बुधवार २३:५९
shares

अहिलेको कोरोना त्रासभन्दा बढी त्रास र क्षति गरेको एचआइभी एड्स विश्वमा हालसम्म निर्मुल हुन सकेको छैन । नेपालमा पनि एचआइभी संक्रमण अझै शुन्यमा आइसकेको छैन । एचआइभी एड्सबाट सुदूरपश्चिम प्रदेश पनि प्रभावित छ । विश्व स्वास्थ्य संगठनले एचआइभी एड्सलाई सन २०३० सम्म विश्वबाटै निर्मुल गर्ने लक्ष्य लिएको छ । तर, सुदूरपश्चिममा विश्वको लक्ष्य पूरा गर्न निकै चुनौती देखिएको छ ।
एचआइभी एड्सबारे बिस्तारै जनचेतना बढ्दै गएकाले अब चाँडै निर्मुल हुने विश्व स्वास्थ्य संगठनले दावी गरेको थियो । नेपालमा बिस्तारै एचआइभी नियन्त्रणमा आउँदै गए पनि सुदूरपश्चिम प्रदेशमा भने यसको समस्या यथावत देखिएको छ । सुदूरपश्चिममा एचआइभी संक्रमितमाथि हुने भेदभावमा कमी नआउँदा संक्रमितहरु सार्वजनिक रुपमा खुल्न सकिरहेका छैनन् । समाजमा अपराधीजस्तै अपहेलित हुनुपर्दा उनीहरुमा त्रास कायमै छ । जसले गर्दा संक्रमितको पहिचानमा समस्या मात्र भएको छैन, विश्व स्वास्थ्य संगठनको लक्ष्य पूरा गर्न पनि कठिन हुने देखिएको छ ।
मंगलबार धनगढीमा सेभ द चिल्डेन तथा नागार्जुन विकास समाजको आयोजनामा एचआइभी एड्स तथा टीबी न्युनीकरणसम्बन्धी भएको अन्तक्र्रिया कार्यक्रममा सहभागी पीडितहरुले पनि समाजकै कारण एचआइभी संक्रमण न्यूनीकरण हुन नसकेको गुनासो सुनाए । संक्रमित बसन्ती जोशीले एचआइभीको बिरामीलाई समाजमा हिँडडुल गर्नै गाह्रो हुने बताइन् । उनले भनिन्, ‘कसैको बिहेमा, पूजाआजालगायत सामाजिक जमघटमा जाँदा गाउँलेहरुको प्रश्नले सबैभन्दा बढी पिरोल्छ ।’
सार्वजनिक स्थलहरुमै ‘एचआइभीवाली के गर्न सक्छेस् र !’ ‘भीडभाडमा नजाउ, अरुलाई पनि एचआइभी सर्छ’जस्ता अभिव्यक्ति बाराम्बार खेप्नु परेको उनले सुनाइन् । सरकारले औषधि दिए पनि पौष्टिक खानाको अभावले एचआइभी संक्रमितहरुको जीवन कष्टकर बनेको उनको भनाइ छ । ‘समाजमा अपराधीजस्तै भएर अपहेलित जीवन बाँच्नुपर्छ । घरखर्च चलाउनै मुश्किल हुन्छ । पौष्टिक तत्व खाने पैसा कहाँबाट ल्याउनु ?’ उनले समस्या सुनाइन् । सरकारले मासिक भत्ताको व्यवस्था गरिदिए पनि केही सहज हुने उनको भनाइ छ ।
यस क्षेत्रमा काम गरिरहेका संघ संस्थाहरुले पनि सामाजिक भेदभावकै कारण समयमै एचआइभी एड्स निर्मुल नहुने भन्दै चिन्ता व्यक्त गरेका छन् । सामाजिक भेदभावकै कारण संक्रमितहरु अझै पनि खुल्न डराउने गरेको नागार्जुन विकास समाजले जनाएको छ । समाजका कार्यकारी निर्देशक जगदीश चन्द्र भट्टले एचआइभी एड्स न्यूनीकरण भइरहेको बताए । ‘सुदूरपश्चिममा समयमै न्यूनीकरण हुनेमा त अझ पनि शंका नै छ,’ उनले भने, ‘अझै यहाँको जनचेतनाको कमी छ । संक्रमितहरु ढुक्क भएर खुलेर आउनुहुन्न । यसले पनि चुनौती छ । तर पनि हाम्रो अभियान जारी छ ।’
अब विद्यालय स्तरबाटै सचेतनामुलक कार्यक्रम अगाडि बढाइने उनले बताए । ‘सरकारी निकाय तथा विभिन्न गैरसरकारी संघ-संस्था र समुदायसँगको साझेदारीमा कार्यक्रम सञ्चालन भइरहेको छ । अब चाँडै एचआइभी निर्मूल हुनेमा विश्वस्त छौँ,’ उनले भने ।
संक्रमितहरुका लागि राहत प्याकेज ल्याउनुपर्ने माग उठिरहेको छ । जनचेतनाबाटै सामाजिक विभेद अन्त्य गर्न सकिने कानुन निर्माताहरुको धारणा छ । सुदूरपश्चिम प्रदेशसभा सदस्य भरत खड्काले कानुनको कार्यान्वयन हुनुपर्नेमा जोड दिए । उनले भने, ‘एचआइभी पनि कोरोनाजस्तै बाहिर मुलुकबाट आएको हो । विशेषगरी भारतबाट नै हाम्रो प्रदेशमा आउने-जाने बढी हुन्छ । उहाँहरुमा चेतना जगाउनु जरुरी छ ।’
यस्तै प्रदेशसभा सदस्य दुर्गा विकले पनि एचआइभी निर्मुल गर्न सबैभन्दा महत्वपूर्ण कार्य जनचेतना नै रहेको बताइन् । ‘जबसम्म हामी सबैलाई जनचेतना दिन सक्दैनौँ, तबसम्म एचआइभी संक्रमितप्रतिको व्यवहार सुधार हुन्न ।’ अब यसबारे सोचेर कानुन निर्माण गरिने र सरकारले आय आर्जनमुलक कार्यक्रम ल्याउनुपर्ने उनले बताइन् ।

























