चार दिवसीय जनकपुर महोत्सव आजदेखि, ३ बजे उद्घाटन
वि.सं.२०७७ फागुन १९ बुधवार १९:०५
shares

जनकपुरको महिमालाई उजागर गर्न तथा मिथिलाञ्चलको सभ्यतालाई पुनः जागरण गराउने गर्ने उद्देश्यसहित आजदेखि जनकपुर साहित्य महोत्सव सुरु भएको छ । जनकपुरको साहित्य, संस्कृति, सभ्यता र समाजका विविध रंगहरूको अभिमुखीकरणका लागि जनकपुर साहित्य महोत्सव दोस्रो संस्करण आयोजना गरिएको निर्देशक दिलभुषण पाठकले जानकारी दिए ।
नवमिथिला फाउन्डेसनको आयोजना, बुक हिल पब्लिकेसन र सानो पाइलाको सह–आयोजनामा साहित्य महोत्सव हुन लागेको हो । महोत्सवले साहित्यका माध्यमबाट संस्कृति र राजनीतिसम्म समाजलाई जोड्ने निर्देशक पाठकले बताए । चार दिन चल्ने महोत्सवमा २० सेसनमा ८० वक्ता र २० प्रस्तोताले संवाद गर्ने कार्यक्रम छ ।
महोत्सवको उद्घाटन प्रथम राष्ट्रपति डा. रामवरण यादवले दिउँसो साढे ३ बजे जानकी मन्दिरमा गर्ने कार्यक्रम छ । कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, जनकपुरधाम उपमहानगरपालिका प्रमुख र उपप्रमुखको विशेष सहभागिता रहनेछ ।
कार्यक्रममा उधोगपति विनोद चौधरीले कि–नोट मन्तव्य दिनेछन् । राजनीतिज्ञहरू प्रदीप गिरी, गगन थापा, रामकुमारी झाँक्री, रवीन्द्र मिश्र एवं पत्रकारहरू सुधीर शर्मा, हरिबहादुर थापा, अमित ढकाल, वसन्त बस्नेत, किरण नेपाल, कलाकारहरू राजेश हमाल, मनिषा कोइराला, रवीन्द्र झा, अनुप बराल, लेखक बुद्धिसागर, विप्लव प्रतीक, रामलाल जोशी, डा. राजेन्द्र विमल, जनकराज सापकोटा, सरला गौतम, हरि शर्मालगायत स्थानीय कवि, लेखक, राजनीतिकर्मी, अधिकारकर्मी कार्यक्रममा सहभागी हुनेछन् ।
शनिबारसम्म चल्ने महोत्सवमा सामाजिक, सांस्कृतिक, साहित्यिक र राजनीतिक विषयका विज्ञहरूले विभिन्न सत्रमा प्रस्तुति दिनेछन् ।

























