कांग्रेसले बोलायो संसदीय दलको बैठक, सांसदलाई काठमाडौँ नछाड्न निर्देशन
वि.सं.२०७७ फागुन १९ बुधवार १८:५४
shares

नेपाली कांग्रेस संसदीय दलको बैठक फागुन २१ गते शुक्रबार बस्ने भएको छ । संघीय संसदको अधिवेशन फागुन २३ गते आइतबारदेखि सुरु हुनुअघि प्रमुख प्रतिपक्षी कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।
बैठक शुक्रबार १ बजे संघीय संसद भवन बानेश्वरस्थित ल्होत्से हलमा बस्ने कांग्रेसले जनाएको छ । बैठक प्रयोजनका लागि कांग्रेसले सांसदहरूलाई काठमाडौँ नछाड्न निर्देशन दिएको छ ।
सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई बदर गर्दै १३ दिनभित्र संसद बैठक बोलाउन आदेश दिएको थियो । संसद बैठक २३ गते बस्दै छ ।
अब सुरु हुने संसद अधिवेशनबाट प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव अघि बढाउने नेपाल कम्युनिस्ट पार्टी नेकपा (प्रचण्ड‑नेपाल) समूहको तयारी छ । तर, कांग्रेसको कुनै निर्णय नगरेका कारण सो समूह अन्योलमा परेको छ ।
ओलीको असंवैधानिक कदमको विरोध गरे पनि संवैधानिक नियुक्तिहरूमा कांग्रेस सभापति शेरबहादुर देउवाको सहयोग रहेकाले अविश्वास प्रस्तावमा कांग्रेस पक्षमा या विपक्षमा रहन्छ भन्ने अझै खुलेको छैन ।

























