गृहपृष्ठ नयाँ खेलाडी उत्पादन गर्न विद्यालय स्तरको प्रतियोगिता, क्रिकेट खेल्न चाहाने विद्यार्थी उत्साहित
नयाँ खेलाडी उत्पादन गर्न विद्यालय स्तरको प्रतियोगिता, क्रिकेट खेल्न चाहाने विद्यार्थी उत्साहित
कोभिड- १९ को प्रभावका कारण खेलकुद प्रतियोगिता ठप्प नै भइरहेका बेला शनिबारदेखि धनगढीमा विद्यालय स्तरको प्रतियोगिता सुरु भएको छ । तल्लो स्तरबाटै खेलाडी उत्पादन गर्ने उद्देश्यले विगत ४ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको लिटिल फ्लावर प्रिमियर लिग सुरु भएको हो । देशमा ठूलास्तरका क्रिकेट प्रतियोगिताहरु आयोजना भइरहे पनि तल्लो स्तरबाट खेलाडी उत्पादन गर्ने किसिमका प्रतियोगिताहरु भने विरलै हुने गरेका थिए । लिटिल फ्लावर प्रिमियर लिगले विद्यालय स्तरको प्रतियोगिता सुरु गरेपछि सानै उमेरबाट क्रिकेट खेल्न चाहाने विद्यार्थीहरु उत्साहित छन् ।
ठूलो धनराशीको क्रिकेट प्रतियोगिता धनगढी प्रिमियर लिग हुन थालेपछि धनगढी क्रिकेटको सहरका रुपमा चिनिन थालेको थियो । यस प्रतियोगिताले देशकै खेलप्रेमीहरुको ध्यान खिचेको हुन्थ्यो । धनगढी प्रिमियर लिग सुरु भएसँगै अन्य क्रिकेट प्रतियोगिताहरु पनि आयोजना हुन थाले । तर, विद्यालय स्तरका प्रतियोगिता भने कमै हुन्थे । विगत ४ वर्षअघि धनगढीस्थित लिटिल फ्लावर बोर्डिङ हाइस्कुलले विद्यालयस्तरीय प्रतियोगिता गर्ने जमर्को गरेको थियो । त्यसको सफलता र साना उमेरका खेलाडीमा देखिएको हौसलाले सो प्रतियोगितालाई निरन्तरता दिइएको छ । यस वर्ष कोरोनाले प्रभाव पारे पनि पाँचौ संस्करण सुरु भएको छ । पुरुस्कार राशि ठूलो राख्न नसके पनि खेलाडी उत्पादनकै लागि प्रतियोगितालाई निरन्तरता दिएको आयोजकले जनाएको छ ।
यस वर्ष कोभिडका कारण सोचेजस्ता नभए पनि निरन्तरताका लागि प्रतियोगिता आयोजना गरेको आयोजक लिटिल फ्लावर स्पोर्टस एण्ड इभेन्टका अध्यक्ष रामचन्द्र शाहीले बताए । ‘धनगढीमा ठूला प्रतियोगिता आयोजना हुने तर तल्लो स्तरको खेलाडी उत्पादन नहुने अवस्था सिर्जना भयो । त्यसैले विद्यालय स्तरको प्रतियोगिता आयोजना गर्ने आँट गरेका हौं ।’
यस लिगले विद्यालय स्तरका खेलाडी उत्पादनमा खेलेको यो भूमिकाप्रति खेलाडीहरु पनि निकै उत्साहित छन् । आफूमा क्रिकेट खेल्ने रहर भए पनि अवसर नपाएकै कारण प्रतिभा देखाउन नसकेका खेलाडीहरु अहिले लिटिल फ्लावर प्रिमियर क्रिकेट लिगमा खेलिरहेका छन् । गत वर्षदेखि लिग खेलिरहेका निशान्त बुढा ऐरले विद्यालय स्तरको प्रतियोगितामा खेल्न पाउँदा खुशी लागेको बताए । उनले भने, ‘राष्ट्रिय स्तरको यो प्रतियोगिताले मलाई धेरै कुरा सिकाएको छ । आगामी दिनमा अन्य प्रतियोगिता खेल्नका लागि पनि मलाई यस लिगले सहज बनाइदिएको छ ।’ प्रतियोगितामा सहभागी खेलाडी नारायण भट्ट पनि विद्यालयस्तरको लिग खेल्न पाउँदा निकै खुशी थिए । ‘विगतमा ठूला प्रतियोगिता हेरेरै सिक्थ्यौँ,’ उनले भने, ‘गाउँघरका साना मैदानमा खेलेर सिक्ने गरेका थियौँ । अहिले धनगढीमै राष्ट्रिय खेल आफैँले खेल्न पाउँदा धेरै खुशी छु ।’
प्रतियोगिताले खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेलेकै कारण निजी क्षेत्र र स्थानीय सरकारको पनि सहयोग छ । जनप्रतिनिधिले प्रतियोगिता र आयोजकको प्रशंसासमेत गरेका छन् । ठूला प्रतियोगिताको चर्चा धेरै भए पनि खेलाडी उत्पादनको थलो विद्यालय स्तरका प्रतियोगिता नै भएकोप्रति जनप्रतिनिधिहरुले पनि सहमति जनाएका छन् ।
धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले स्वास्थ्यका लागि खेलकुद अनिवार्य भएको बताए । ‘खेलकुद सिक्ने भनेकै विद्यालयमा पढ्ने उमेरमा हो । यो बेला लिटिल फ्लावर प्रिमियर लिगले राष्ट्रिय स्तरकै विद्यालयस्तरीय प्रतियोगिता गर्दा नयाँ खेलाडी थपिन्छन्, यो उत्साहप्रद कुरा हो,’ उनले भने । हरेक व्यक्ति उमेर र आफ्नो स्वास्थ्य अवस्था अनुसारको खेलमा सहभागी भइरहने हो भने अस्पतालमा बिरामीसमेत घट्ने मेयर वडको भनाइ छ । यस्ता प्रतियोगिताहरुमा सहयोगका लागि उपमहानगर सँधै तयार रहने मेयर वडले प्रतिवद्धता व्यक्त गरे ।
लिग कम नकआउटका आधारमा भइरहेको प्रतियोगिता देशभरका १६ विद्यालयको सहभागिता छ । सहभागी टिमलाई चार समूहमा विभाजन गरिएको छ । फागुन २७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १ लाख २० हजार नगदसहित ट्रफी र प्रमाणपत्र पाउनेछ भने उपविजेताले ६० हजार प्राप्त गर्नेछ ।
प्रकाशित समय : १९:५१ बजे



















