गृहपृष्ठ कच्चा तेलको मूल्य घट्दा पनि नेपाली उपभोक्ताले राहत पाउन सकेनन् : महामन्त्री पौडेल
कच्चा तेलको मूल्य घट्दा पनि नेपाली उपभोक्ताले राहत पाउन सकेनन् : महामन्त्री पौडेल
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उल्लेख्य रूपमा घटिसक्दा पनि नेपालमा इन्धनको मूल्य नघटाइएको भन्दै सरकार र नेपाल आयल निगमको कार्यशैलीप्रति प्रश्न उठाएका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पौडेलले यस्तो बताएका हुन् । उनका अनुसार करिब ३० प्रतिशतभन्दा बढी मूल्य घटिसक्दा पनि नेपाली उपभोक्ताले पुरानै महँगो दरमा इन्धन खरिद गर्न बाध्य हुनु दुःखद् अवस्था हो ।
‘अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उच्चतम बिन्दु ११७.६३ डलर प्रति ब्यारेलबाट घटेर ६९.२१ डलरमा आइपुग्दा करिब ३० प्रतिशतले भारी गिरावट आइसकेको देखिन्छ । यति ठूलो मात्रामा भाउ घटिसक्दा पनि नेपाली उपभोक्ताले भने अझै पुरानै महँगो दरमा इन्धन किन्नुपर्ने अवस्था रहनु निकै दुःखद् छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा त्यसको प्रत्यक्ष लाभ र राहत आम नागरिकले सहजै पाउनुपर्ने होइन र रु,’ उनले लेखेका छन् ।
महामन्त्री पौडेलले अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा त्यसको प्रत्यक्ष लाभ आम नागरिकले पाउनुपर्ने भए पनि त्यसो हुन नसकेको बताएका छन् । मूल्य नघट्नुबारे उठेको जनगुनासोमा नेपाल आयल निगमले ‘कच्चा नभई प्रशोधित तेल खरिद गर्ने भएकाले मूल्य तुरुन्तै घट्दैन’ भन्ने तर्क प्रस्तुत गर्ने गरेको उनको भनाइ छ।
उनले कच्चा र प्रशोधित तेलको मूल्य समायोजनमा प्रशोधन खर्च तथा केही समयको अन्तर रहने स्वीकार गरे पनि कच्चा तेलको मूल्यमा आएको ठूलो गिरावटले प्रशोधित तेलको लागत पनि स्वाभाविक रूपमा घट्ने बताएका छन् । यति लामो समय बितिसक्दा पनि वास्तविक लागत र मूल्य घट्ने अवस्थाबारे स्पष्ट जानकारी नदिई पुरानै प्राविधिक बहाना देखाएर मूल्य नघटाउनु उपभोक्तामाथिको अन्याय भएको उनको आरोप छ ।
पौडेलले यस अवस्थाले सरकार र आयल निगमभित्र सुशासनको अभाव, व्यवस्थापकीय कमजोरी तथा पारदर्शिताको कमी उजागर गरेको दाबी गरेका छन् ।
प्रकाशित समय : १२:२५ बजे


















