गृहपृष्ठ वैदेशिक रोजगारीबाट फर्केका नेपालीको घाँस र कफीखेती
वैदेशिक रोजगारीबाट फर्केका नेपालीको घाँस र कफीखेती
गुल्मी । वैदेशिक रोजगारीका लागि खाडी मुलुक पुगेका कैयौँ युवाको सपना गाउँ छोडेसँगै विदेशमै सीमित हुने गरेको छ ।
तर गुल्मीको इस्मा गाउँपालिका–३ का गोकर्ण नेपाली भने विदेशभन्दा स्वदेशको माटोमा ठूलो सम्भावना देख्दै आएका छन् । सात वर्षअघि दुबईको रोजगारी छाडेर गाउँ फर्केका नेपाली यतिबेला घाँस खेतीसँगसँगै व्यावसायिक कफी खेती गर्न थालेका छन् ।
मेहनत गर्ने हो भने खाडी मुलुकभन्दा नेपालका झाडीमै समेत राम्रो आम्दानी गर्न सकिन्छ भन्ने सन्देश दिँदै आएका नेपालीले पछिल्लो समय घाँस खेतीसँगै कफीको नर्सरी स्थापना गरी बिरुवा उत्पादन गर्न थाले । घाँस उत्पादनबाट राम्रो आम्दानी भए पनि कफी खेतीबाट आफूलाई थप परिचित गराउने विश्वासका साथ उनले कफी नर्सरीलाई मुख्य व्यवसायका रूपमा विस्तार गर्न थालेका हुन् ।
नेपालीले यसपटक असारको पहिलो सातासम्म नर्सरीबाट ६५ हजार कफीका बिरुवा बिक्री गरिसकेका छन् । ती बिरुवा बिक्रीबाट रु २२ लाखभन्दा बढीको कारोबार भइसकेको छ । उनले उत्पादन गरेका कफीका बिरुवा पहिलो पटक जिल्ला बाहिर पठाएका छन् ।
उनले भने, “यस वर्ष चार ट्रक बिरुवा बाहिर पठाइसकेँ । आगामी वर्ष २५ ट्रकभन्दा बढी बिरुवा बाहिर पठाउने लक्ष्य लिएको छु ।”
अहिले नर्सरीमा थप १५ हजार कफीका बिरुवा तयारी अवस्थामा छन् । यसका अतिरिक्त घाँस, सुन्तला, कागती र टिमुरलगायतका गरी करिब एक लाख बिरुवा नर्सरीमा छन् । ती कफीका बिरुवा लमजुङ, सुर्खेत, कास्की, नुवाकोट, बाग्लुङ र पाल्पालगायत जिल्लामा पुगेका छन् । कृषि ज्ञान केन्द्र, सहकारी संस्था, कृषक समूह तथा व्यक्तिगत किसान उनको फर्ममै पुगेर बिरुवा लैजाने गरेका छन् ।
नेपालीले करिब १० रोपनी क्षेत्रफलमा कफी नर्सरी विस्तार गरेका छन् । उनले आगामी वर्ष दुई लाख ५० हजारसम्म कफीका बिरुवा उत्पादन गर्ने लक्ष्य लिएका छन् । हाल उनले अरेबिका र कटौरा जातका कफीका बिरुवा उत्पादन गर्दै आएका छन् ।
कफीसँगै उनले १२० रोपनी क्षेत्रफलमा घाँस खेती गर्दै आएका छन् । तीमध्ये ४० रोपनी जग्गा भाडामा लिएका छन् । उनको जग्गामा यतिबेला इपिल–इपिल, राइखन्यु, नेपियरलगायत ९५ प्रजातिका घाँस छन् । व्यावसायिक रूपमा ४० प्रजातिका घाँसका बिरुवा बिक्री गर्दै आएका छन् ।
नेपालीले ‘ग्यालेक्सी कृषि तथा पशुपक्षी फर्म’ दर्ता गरी विसं २०७६ देखि व्यवसाय सञ्चालन गरेका हुन् । सुरुमा रु ८० हजार लगानीबाट सुरु गरिएको घाँस खेतीमा हालसम्म भौतिक संरचना निर्माणमै रु ६० लाख लगानी भइसकेको उनले बताए ।
कफी खेती गर्ने कृषक घट्दै गएको अवस्थामा यसको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आफू व्यावसायिक कफी खेतीमा लागेको उनले बताए । नेपालमा कफीको माग बढ्दै गएको अवस्थामा त्यसको आवश्यकता महसुस गरेर कफी नर्सरी विस्तार गरेको उनको भनाइ छ ।
फर्म सञ्चालनका लागि उनले लुम्बिनी प्रदेश सरकार, कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, इस्मा गाउँपालिका, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम र डिभिजन वन कार्यालयलगायत विभिन्न निकायबाट सहयोग प्राप्त गर्दै आएका छन् । उनको फर्ममा आवश्यकताअनुसार २० जनासम्मले रोजगारी पाउँदै आएका छन् ।
व्यवसाय विस्तारका क्रममा सडक र सिँचाइको अभाव मुख्य समस्याका रूपमा रहेको उनले बताए ।
“उत्पादन गरिएका बिरुवा ट्रकमा लोड गर्न टाढासम्म लैजानुपर्ने बाध्यता छ,” उनले भने, “कृषि क्षेत्रमा लगानी र पूर्वाधार अभावका कारण धेरै मेहनती किसानले चाहेर पनि व्यवसाय विस्तार गर्न सकेका छैनन् ।”
विदेशबाट फर्किएर स्वदेशकै माटोमा पसिना बगाउँदै सफलता हासिल गर्दै आएका नेपालीले मेहनत र लगनशीलता भए स्वदेशमै कृषि व्यवसायमार्फत राम्रो आम्दानी गर्न सकिन्छ भन्ने सन्देश दिँदै आएका छन् ।
प्रकाशित समय : १२:२८ बजे



















