गृहपृष्ठ वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन
वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन
वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब ७८ करोड राजस्व सङ्कलन गरेको छ ।
कार्यालयले चालु आवमा दुई खर्ब ४९ अर्ब १९ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । तर सो अवधिमा लक्ष्यको ८९ प्रतिशत मात्रै राजस्व सङ्कलन गरेको हो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आवको ११ महिनामा राजस्व सङ्कलन उत्साहजनक भएको दाबी गरे ।
“कार्यालयले गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालु आवको ११ महिनाको अवधिमा नौ प्रतिशत बढी अर्थात रु १७ अर्ब ९७ करोड राजस्व सङ्कलन गरेको छ,” उनले भने ।
कार्यालयले गत आवको ११ महिनामा दुई खर्ब तीन अर्ब ८१ करोड राजस्व सङ्कलन गरेको थियो ।
भन्सार विभागले कार्यालयलाई वर्षभरिमा दुई खर्ब ७३ अर्ब ३९ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको थियो । कार्यालयले चालु आवको साउनमा १८ अर्ब ४४ करोड, भदौमा २० अर्ब ७४ करोड, असोजमा १९ अर्ब नौ करोड, कात्तिकमा १७ अर्ब ३३ करोड र मङ्सिरमा रु २० अर्ब ८० करोड राजस्व सङ्कलन गरेको थियो ।
पुसमा २० अर्ब २० करोड, माघमा १८ अर्ब ९२ करोड, फागुनमा १९ अर्ब ३४ करोड र चैतमा रु २२ अर्ब ८२ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले वैशाखमा २१ अर्ब ७४ करोड र जेठमा रु २२ अर्ब ३२ करोड राजस्व सङ्कलन गरेको छ ।
कार्यालयका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका हुँदै आठ खर्ब ९० अर्ब सात करोड मूल्य बराबरका वस्तु तथा सामान आयात भएका छन् ।
गत आवको सोही अवधिमा सात खर्ब ७० अर्ब मूल्य बराबरका वस्तु तथा सामान आयात भएका थिए ।
त्यसैगरी, चालु आवको ११ महिनामा यो नाका हुँदै ९९ अर्ब ६६ करोड मूल्य बराबरका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएका छन् । गत आवको ११ महिनामा भने ९६ अर्ब ७२ करोड मूल्य बराबरका वस्तु तथा सामान निर्यात भएका थिए ।
प्रकाशित समय : १२:३१ बजे



















