global ime bank Long Banner Ad

गृहपृष्ठ तनहुँका स्थानीय तहद्वारा सात अर्ब ७८ करोडको बजेट प्रस्तुत

तनहुँका स्थानीय तहद्वारा सात अर्ब ७८ करोडको बजेट प्रस्तुत

तनहुँका स्थानीय तहद्वारा सात अर्ब ७८ करोडको बजेट प्रस्तुत

दमौली । तनहुँका १० वटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि करिब सात अर्ब ७८ करोड २६ लाख बजेटसहित नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

जिल्लाका १० मध्ये आठ पालिकाले बुधबार तथा म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिकाले असार ८ गते बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

जिल्लाका सबै स्थानीय तहले गरी सात अर्ब ७८ करोड २६ लाख २० हजार ८७३ को बजेट प्रस्तुत गरेका छन् । त्यसमध्ये व्यास, शुक्लागण्डकी, भानु र भीमाद गरी चार नगरपालिकाले चार अर्ब ११ करोड ९३ लाख ४५ हजार २४ र छ गाउँपालिकाले तीन अर्ब ६६ करोड ३२ लाख ७५ हजार ८४९ को बजेट प्रस्तुत गरेका हुन् ।

सदरमुकामस्थित व्यास नगरपालिकाले एक अर्ब ५० करोड २० लाख एक हजारको बजेट प्रस्तुत गरेको छ । विनियोजित बजेटमध्ये आर्थिक विकासतर्फ चार करोड दुई लाख ३४ हजार, सामाजिक विकासतर्फ ७२ करोड २९ लाख ९१ हजार, पूर्वाधार विकासतर्फ २६ करोड दुई लाख २५ हजार, वातावरण तथा विपद् व्यवस्थापनतर्फ चार करोड ८७ लाख र संस्थागत विकास, सेवा प्रवाह तथा सुशासनतर्फ ४२ करोड ९८ लाख ५१ हजार छुट्याइएको छ ।

उपप्रमुख इन्दिरा दरैले चालुतर्फ एक अर्ब दुई करोड ३७ लाख ६२ हजार २०० विनियोजन गरिएको जानकारी दिइन् । यो कुल बजेटको ६८.१६ प्रतिशत हो । त्यस्तै पुँजीगततर्फ ४७ करोड ४२ लाख ३९ हजार विनियोजन गरिएको छ, जुन कुल बजेटको ३१.८४ प्रतिशत हो ।

विनियोजित बजेटमध्ये सङ्घ सरकारको सशर्त चालु अनुदानबाट ६१ करोड ८० लाख, आन्तरिक स्रोतबाट २० करोड, सङ्घ सरकारको वित्तीय समानीकरणबाट १८ करोड ६० लाख, राजस्व बाँडफाँटबाट १५ करोड ३२ लाख ७७ हजार र सशर्त पुँजीगत अनुदानबाट १३ करोड ४० लाख प्राप्त हुने अनुमान गरिएको छ ।

त्यस्तै राजस्व बाँडफाँट मालपोतबाट सात करोड, नगर विकास ऋणबाट तीन करोड ५० लाख, प्रदेश सरकारको वित्तीय समानीकरण अनुदानबाट दुई करोड ५० लाख पाँच हजार, सञ्चित कोषबाट दुई करोड १० लाख, प्रदेश सरकार राजस्व बाँडफाँटबाट एक करोड ८१ लाख ६५ हजार र सडक बोर्डबाट ७० लाख प्राप्त हुने अनुमान गरिएको छ ।

नवप्रवर्तन कार्यक्रमबाट ७० लाख, समपुरक अनुदानबाट ५० लाख, जिल्ला समन्वय समितिबाट ५० लाख, प्रदेश समपुरक अनुदानबाट ४५ लाख ५४ हजार, विशेष अनुदानबाट ४० लाख तथा जनसहभागिताबाट ३० लाख प्राप्त हुने अनुमान गरिएको छ ।

शुक्लागण्डकी नगरपालिकाले एक अर्ब १३ करोड ५४ लाख ३९ हजारको बजेट प्रस्तुत गरेको छ । उपप्रमुख खुमबहादुर विकका अनुसार सङ्घीय सरकारको सशर्त अनुदानबाट ४९ करोड १८ लाख र वित्तीय समानीकरणबाट १२ करोड ३८ लाख आम्दानी हुने अनुमान गरिएको छ ।

सशर्त अनुदानबाट ४६ करोड ४१ लाख, विशेष अनुदानबाट एक करोड ४० लाख, समपुरक अनुदानबाट एक करोड ३३ लाख, प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान एक करोड ९३ लाख, राजस्व बाँडफाँटबाट एक करोड ५९ लाख, समपुरक अनुदानबाट ६० लाख, विशेष अनुदानबाट ४० लाख, मालपोतबाट एक करोड ५० लाख तथा जनसहभागिताबाट एक करोड ५० लाख आम्दानी हुने अनुमान गरिएको उनले बताए ।

उनका अनुसार पूर्वाधारतर्फ तीन करोड ९१ लाख ७८ हजार, सामाजिक विकासतर्फ तीन करोड ४२ लाख, आर्थिक विकासतर्फ ९२ लाख ५७ हजार, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ९२ लाख ५७ हजार, सुशासन तथा संस्थागत क्षमतातर्फ ४६ लाख २८ हजार, चालु प्रशासनिक खर्चतर्फ १६ करोड, अनिवार्य दायित्वतर्फ १० करोड, राजस्व फिर्तातर्फ एक करोड र वडागत कार्यक्रमतर्फ नौ करोड विनियोजन गरिएको छ ।

भानु नगरपालिकाले ८४ करोड ६६ लाख ४४ हजार २४ को बजेट प्रस्तुत गरेको छ भने भीमाद नगरपालिकाले ६३ करोड ५३ लाखको बजेट सार्वजनिक गरेको छ ।

म्याग्दे गाउँपालिकाले ७४ करोड ३२ लाख ७८ हजारको बजेट प्रस्तुत गरेको छ । उपाध्यक्ष बालकृष्ण घिमिरेका अनुसार चालुतर्फ ४७ करोड ९३ लाख र पुँजीगततर्फ २६ करोड ३९ लाख ४५ हजार विनियोजन गरिएको छ ।

विनियोजित बजेटको स्रोत सुनिश्चितताका लागि नेपाल सरकारको वित्तीय समानीकरणबाट नौ करोड ९२ लाख, सशर्त अनुदानबाट ३९ करोड, राजस्व बाँडफाँटबाट आठ करोड ७७ लाख, गण्डकी प्रदेश सरकारको वित्तीय समानीकरणबाट एक करोड २१ लाख प्राप्त हुने अनुमान गरिएको छ ।

राजस्व बाँडफाँटबाट ९० लाख, अनुदानबाट ९० लाख, सडक बोर्डबाट २३ लाख, आन्तरिक आयबाट १५ करोड, समपुरक अनुदानबाट ७० लाख, विशेष अनुदानबाट एक करोड ४० लाख, सामाजिक सुरक्षातर्फ १३ करोड, प्रदेश समपुरक अनुदानबाट ६० लाख, विशेष अनुदानबाट ४० लाख तथा नागरिक साझेदारीबाट दुई करोड प्राप्त हुने अनुमान गरिएको घिमिरेले बताए ।

आर्थिक विकास समितितर्फ चार करोड १८ लाख, सामाजिक विकास समितितर्फ ३३ करोड १६ लाख ८३ हजार, पूर्वाधार विकासतर्फ २५ करोड ३९ लाख ६८ हजार ४५०, वन, वातावरण तथा विपद् समितितर्फ ८७ लाख र कार्यालय सञ्चालन तथा सुशासन समितितर्फ १० करोड ७१ लाख बजेट विनियोजन गरिएको छ ।

देवघाट गाउँपालिकाले ५५ करोड ५८ लाख ६७ हजार, आँबुखैरेनी गाउँपालिकाले ६४ करोड, बन्दीपुर गाउँपालिकाले ६८ करोड ७८ लाख ८० हजार ८४९, ऋषिङ गाउँपालिकाले ५३ करोड ६२ लाख ५० हजार तथा घिरिङ गाउँपालिकाले ५० करोडको बजेट प्रस्तुत गरेका छन् ।

प्रकाशित समय : १२:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु