global ime bank Long Banner Ad

गृहपृष्ठ कालंगा जलविद्युत् आयोजना ९० प्रतिशत सम्पन्न

कालंगा जलविद्युत् आयोजना ९० प्रतिशत सम्पन्न

कालंगा जलविद्युत् आयोजना ९० प्रतिशत सम्पन्न

निजी क्षेत्रको लगानीमा निर्माण भइरहेको सुदुरपश्चिम प्रदेशको सबैभन्दा ठूलो कालंगा जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । बझाङको बुङ्गल नगरपालिकामा निर्माणाधिन ६५ मेगावाट क्षमताको कालङ्गा जलविद्युत् आयोजनाको ९० प्रतिशत् निर्माण सकिएको छ । झन्डै १० अर्ब लागत अनुमान गरिएको आयोजनाको ३८.४६ मेघावाटको अपर कालंगाको जलविद्युत् आयोजनाको ८.७ किलोमिटर, १५.३३ मेगावाटको कालंगा जलविद्युत् आयोजनाको ३.४ किलोमिटर र १०.०७ मेगावाट क्षमताको सानीगाड जलविद्युत् आयोजनाको २.९ किलोमिटर सुरुङ निमार्णको काम सकिएको छ । १५.३३ मेगावाट क्षमताको आयोजनाको इन्टेक, सुरुङ, पेनस्टक, पाइप जडान र विद्युत्गृह निर्माण सकिएको छ । ९० प्रतिशतभन्दा बढी पूर्वाधार निर्माणको काम सकेको उक्त आयोजनाले यही चैतमा विद्युत् उत्पादनको तयारी गरेको छ ।

सन २०१७ देखि निमार्ण सुरु भएको आयोजनाले २०२० भित्रै काम सम्पन्न गर्ने लक्ष्य लिएको थियो । भूगोलले साथ नदिँदा निर्माण कार्यमा ढिलाई भएको आयोजना कम्पनीले जनाएको छ । आयोजनाको पावर हाउस निर्माण, बाँध, सुरुङ र पेनस्टक पाइप जडान भइरहेकोे छ । टनेल निर्माणलाई अन्तिमरुप दिनुका साथै पावर हाउसमा विद्युतीय उपकरण जडानको काम भइरहेकाले समग्रमा ९० प्रतिशत आयोजनाको काम सकिएको आयोजनाका प्रमुख पुष्प चित्रकारले बताए । उनले भने, '३८.४६ मेघावाटको अपरकालंगामा टनेल फिनिसिङको काम भइरहेको छ । १५.३३ मेघावाटको कालंगा जलविद्युत् आयोजनाको सबै काम सकिएको छ । अब यही चैतमा परीक्षणको तयारीमा छौँ । सन् २०२०  भित्रै निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिएको भए पनि कोरोना महामारीले पारेको प्रभाव, भौगोलिक विकटता र वनसम्बन्धी कानून र झन्झटिलो प्रशासनिक प्रक्रियाले पनि आयोजना ढिलाई भएको हो । काममा ढिलाई हुँदा लागत पनि बढेको छ ।

सुदूरपश्चिम लगायत देशमा हजारौंको संख्यामा रोजगारी सिर्जना हुने र निर्माण सम्पन्न भएपछि ३५० भन्दा बढी स्थानीयले रोजगारीको अवसर प्राप्त गर्ने छन् । यो आयोजनाले नेपालमा भैरहेको लोडसेटिङको समस्या कम गर्न सहयोग गर्ने अपेक्षा आयोजनाले लिएको छ । यो आयोजना सुदूरपश्चिमको विकासका लागि कोसेढुंगा सावित हुने कालंगा हाइड्रो प्रालिका संस्थापक वीरेन्द्र मल्लले बताए । यस क्षेत्रमा विभिन्न उद्योगका लागि आवश्यक प्रशस्त कच्चा पदार्थ छन् । जलविद्युत् नहुँदा उद्योग स्थापना गर्न सकिएको छैन । यो आयोजना निर्माण सम्पन्न भएसँगै विभिन्न उद्योग स्थापनाका लागि सम्भावना रहेकाले विभिन्न कलकारखाना तथा उद्योगहरू सञ्चालनमा पनि यस आयोजनाले सहयोग पुग्ने छ । आयोजना निमार्ण सुरु भएसँगै यस क्षेत्रका युवाले योग्यता र दक्षताअनुसार रोजगार पाइरहेको छन् । हिजोका दिनमा रोजगारका लागि विदेशिने युवा हाल यसै आयोजनामा काम गरी रहेको र यस आयोजनाले बझाङको मुहार फेरिने मल्लले बताए ।

जलविद्युत् आयोजनाका निर्माणका लागि ७५ प्रतिशत बैंकको लगानी र १५ प्रतिशत प्रतिष्ठत व्यापारीको लगानी छ । निजी क्षेत्रको लगानीमा निर्माण हुन लागेको यो प्रदेशकै सबैभन्दा ठूलो जलविद्युत् आयोजना भएको आयोजनाको दाबी छ । प्रक्रियामै समय लाग्ने भएकाले सेयर निष्काशनमा केही ढिलाई हुने जनाइएको छ । देशको राजनैतिक गतिरोध र आफ्नो पुँजीको सुरक्षा नहुने भएपछि निजी क्षेत्र लगानी गर्न मानिरहेका छैन । निजी क्षेत्रको लगानीका विषयमा सरकारले एक पटक सोच्नु जरुरी छ । (रासस)

प्रकाशित समय : २३:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु