global ime bank Long Banner Ad

गृहपृष्ठ पर्यटनले कहिले पुनर्जीवन पाउला ?

पर्यटनले कहिले पुनर्जीवन पाउला ?

पर्यटनले कहिले पुनर्जीवन पाउला ?

विश्व पर्यटनको तथ्यांक हेर्दा सन् १९९० मा पर्यटक भएर घुम्न निक्लने मानिसहरुको संख्या विश्वमा ४३८ मिलियन अर्थात् ४० करोड ३८ लाख थिए । सन् २००८ मा ९० करोड २० लाख मानिसहरु घुम्नका लागि विश्वका विभिन्न देशमा गएका थिए । तर, यसरी पर्यटक भई विश्वका विभिन्न देश घुम्न निक्लने पर्यटकमध्ये ४६/४८ देखि ५५/५९ प्रतिशतसम्म युरोपियन देशमा घुम्न निक्लने गरेको देखिन्छ । त्यसमा पनि फ्रान्स हरेक वर्ष विदेशी पर्यटकहरुको पहिलो गन्तव्य हुने गरेको छ/भइरहेको छ । 

स्मरणीय के छ भने, त्यसरी पर्यटक भएर घुम्न निक्लेका मानिसहरुले गर्ने खर्चको तथ्यांक भने संख्याको वृद्धिभन्दा अझ बढी अर्थात् राम्रो रहेको देखिन्छ । उदाहरणका लागि, सन् १९९० मा विश्वमा पर्यटक भएर घुम्न निक्लने मानिसहरुले २६४ मिलियन अर्थात् २० करोड ६४ लाख अमेरिकी डलर खर्च गरेका थिए भने सन् २००८ मा ९४१ मिलियन अर्थात् ९० करोड ४१ लख अमेरिकी डलर खर्च गरेका थिए । हुन पनि अहिले त वार्षिक रुपमा १ अर्ब २० करोड, १ अर्ब २५ करोड, १ अर्ब ३० करोड, १ अर्ब करोड ४० करोड, १ अर्ब ४४ करोड हुँदै क्रमशः बढ्दै गएको छ । यसरी वर्षैपिच्छे विश्व भ्रमण गर्न निक्लने पर्यटकहरुको संख्या बढ्ने क्रममा सन् २०१९ मा १ अर्ब ४६ करोड ६० लाख पुगेको थियो । सन् २०१९ को डिसेम्बर अन्तिमदेखि चीनबाट ‘नोभेल कोरोनाभाइरस’ (कोभिड- १९) को महामारी सुरु भएसँगै पर्यटनले निरन्तरता पाउन सकेन । फलतः सन् २०२० मा विश्वमा घुम्न निक्लने पर्यटकको संख्या पनि ठूलो परिणाममा अर्थात् ७४ प्रतिशतले घट्न गयो । 

यसअघि सन् २००८/०९ को आर्थिक मन्दीले गर्दा विश्वमा घुम्न निक्लने पर्यटकको संख्या सन् २००९ मा पनि अघिल्लो वर्षको तुलनामा ४.२ प्रतिशतले घटेको थियो । तर, विश्वका विभिन्न देशमा पर्यटक भएर घुम्न निक्लेका पर्यटकहरुले गरेको खर्च भने खासै घटेन । घटे पनि थोरै परिणाममा मात्रै घटेर ८५२ मिलियन अर्थात् ८० करोड ५२ लाख अमेरिकी डलर रहेको थियो । यसरी हेर्दा सन् २००९ मा विश्वभरि पर्यटकहरुको संख्याको प्रतिशतभन्दा उनीहरुले खर्च गरेको रकमको प्रतिशत झिनो प्रतिशत मात्रै कम अर्थात् ०.१ प्रतिशत कम कम रहेको थियो । सन् २००८ को तुलनामा सन् २००९ मा विश्वमा घुम्न निक्लने पर्यटकको संख्या ४.२ प्रतिशतले कम थियो भने उनीहरुले गरेको खर्च भने ४.१ प्रतिशत मात्रै घटेको थियोे । 

सन् २००८ मा विश्वका विभिन्न देशका ९२० मिलियन (९० करोड २० लाख) मानिसहरु पर्यटक भएर विश्वभरि घुम्न निक्लेका थिए भने सन् २००९ मा विश्वका विभिन्न देशका ८८० मिलियन ८० करोड ८० लाख मानिसहरु मात्रै पर्यटक भएर घुम्न निक्लेका थिए । त्यो बेलाको तथ्यांक हेर्दा सन् २००८ मा विश्वका विभिन्न देशका ९२० मिलियन मानिसहरु पर्यटक भएर विश्वभरि घुम्न निक्लेका थिए भने सन् २००९ मा विश्वका विभिन्न देशका ८८० मिलियन मानिसहरु मात्रै पर्यटक भएर घुम्न निक्लेका थिए । लगभग सन् २०१९ को अन्त्यतिर सुरु भएको (कोभिड- १९) को महामारीका कारणले गर्दा विश्व भ्रमण गर्ने पर्यटकको संख्या सन् २०२० मा ७४ प्रतिशतले कमी आएको तथ्यांक केही समयअघि संयुक्त राष्ट्र संघअन्तर्गते विश्व पर्यटन संगठन (युएनडब्लुटीओ)ले प्रकाशित गरेको छ । जबकि सन् २०१९ मा भन्दा सन् २०२० मा ३ देखि ४ प्रतिशतले विश्व भ्रमण गर्ने पर्यटकको संख्या बढ्ने प्रक्षेपण गरिएको थियो । सन् २०१९ मा १ अर्ब ५० करोड मानिसहरुले पर्यटक भई (ओभर नाइट स्टे) विश्व भ्रमण गर्न निक्लेका थिए । यसरी हेर्दा विश्व पर्यटन उद्योगले सन् २०२० मा ठूलो संख्यामा पर्यटक मात्रै गुमाएन कि, सँगसँगै पर्यटनबाट हुने आमदानी पनि ठूलो मात्रामा गुमाएको छ । युएनडब्लुटीओले प्रकाशित गरेको प्रतिवेदनअनुसार सन् २०२० मा मात्रै पर्यटनबाट हुने आम्दानीमध्ये १० खर्ब ३ अर्ब अमेरिकी डलर गुमेको छ । यो भनेको सन् २००९ मा विश्वव्यापी रुपमा छाएको आर्थिक मन्दीको समयमा विश्व पर्यटन उद्योगले गुमाएको आम्दानीभन्दा ११ गुणा बढी हो । 

सन् २०२० मा समय, परिस्थिति र अन्य अवस्था सामान्य भएको भए अर्थात् (कोभिड- १९) को महामारीले विश्वव्यापी असर नपुर्याएको भए सन् २०२० मा कम्तिमा २० लाख विदेशी पर्यटक भित्र्याउने नेपाल सरकारको लक्ष्य रहेको थियो । त्यसका लागि नेपाल सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष- २०२०’ मनाउने घोषणा गरेको थियो । तर, (कोभिड- १९) को व्यापक असरका कारण विश्वका प्रायः सबै देशले आफ्नो देशमा विदेशीलाई भ्रमण गर्नमा प्रतिवन्ध लगाएसँगै नेपाल सरकारले पनि ढिला गरी ‘नेपाल भ्रमण वर्ष- २०२०’ लाई स्थगन गरेको थियो । 

फलतः नेपालमा सन् २०२० मा केवल २ लाख ३० हजार ८५ जना विदेशी पर्यटकले मात्रै नेपाल भ्रमण गरेका थिए । कोरोना महामारीले विश्वव्यापी असर नपुर्याएको भए निश्चय नै विश्व पर्यटनमा यस वर्ष सकारात्मक प्रभाव पर्ने थियो भनी ठोकुवा गर्न सकिन्छ । यसरी हेर्दा आगामी दिनमा पनि हामीले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या कसरी बढाउने ? त्यसका लागि फेरि पनि विशेष ध्यान दिनुपर्ने देखिन्छ । हुन त सन् २०२१ को पहिलो महिना अर्थात् जनवरीमा नेपाल भ्रमणमा आएका विदेशी पर्यटकको संख्या उल्लेख्य रुपमा बढेको मान्न सकिन्छ । किनभने हालै अध्यागमनको हवाला दिँदै नयाँ पत्रिका दैनिकले प्रकाशित गरेको एक समाचारअनुसार सन् २०२१ को जनवरी महिनामा ८ हजार ८७४ जना विदेशी पर्यटकहरुले नेपाल भ्रमण गरेका छन् । संख्याकै आधारमा हेर्दा यो भनेको धेरै राम्रो संख्या हो भन्न सकिन्छ ।

यति बेला नेपाल सरकारले नयाँ पर्यटन नीति ल्याउन लागेको हुँदा यो नयाँ नीतिअनुसार ‘कुनै देशका विदेशी पर्यटकले आप्mनो देशमा कोभिड- १९ विरुद्धको भ्याक्सिन लगाएर आएको प्रमाणपत्र (सर्टिफिकेट) देखाएमा विगतमा जस्तो नेपालमा ७ दिन वा १० दिन क्वारेन्टाइन नबसीकनै नेपालको कुनै पनि पर्यटकीय क्षेत्र घुम्न जान पाउनेछन् ।’ निश्चय नै नेपाल सरकारको यो नयाँ नीतिले गर्दा नेपाल आएर ७ वा १० दिनसम्म बस्नुपर्ने जुन वाध्यता थियो, त्यो नीतिले गर्दा निम्न र निम्न-मध्य आय भएका विदेशी पर्यटकहरुलाई थप खर्च गर्नुपर्ने समस्या हट्ने छ भने समय कम हुने विदेशी पर्यटकहरुका लागि पनि बेकारमा ७ वा १० दिनसम्म बस्ने र अनावश्यक समय खर्च गर्नुपर्ने समस्या हट्ने छ । हुन त नेपाल सरकारको अबदेखि कुनै पनि पर्यटकले ७ वा १० दिन क्वारेन्टाइनमा बस्नु नपर्ने प्रावधान वा भनौं नीतिले नेपाल भ्रमण गर्न चाहने विदेशी पर्यटकहरु ह्वार-ह्वार्ती आउने र उखरमाउलै गरी नेपाल भ्रमणमा आउने विदेशी पर्यटकहरुको संख्या बढ्ने छ भन्ने अवश्य नै होइन । 

त्यस्तै नेपाली पर्यटन क्षेत्रमा लागेकाहरु खासगरी पर्वतारोहण, चट्टान आरोहण, साइक्लिङ, पदयात्रा, र्‍याफ्टिङ, होटेल, ट्राभल एजेन्सी, ट्रेकिङ एजेन्सी, बञ्जी जम्प, प्याराग्लाइडिङ आदिमा कार्यरत मजदुरहरुको भने एक किसिमको बिचल्ली अवस्था कायमै छ । पर्यटन व्यवसायी (मालिकहरु)का लागि भने नेपाल सरकारले सानोतिनो सहुलियत प्याकेज ल्याएको देखिन्छ । पर्यटन मजदुरहरुका लागि पनि सरकारले केही न केही राहत र सहुलियत प्याकेज ल्याउनुपर्ने थियो । किनभने, मजदुरहरु भनेको केवल पर्यटन क्षेत्रमा मात्रै नभएर जुनसुकै क्षेत्रमा पनि मेरुदण्ड नै हुन् । तर, पनि सरकारले पर्यटन मजदुरहरुको मर्का नबुझेभैँ लाग्छ । पर्यटन मजदुरहरुका लागि नेपाल सरकारले आजका मितिसम्म कुनै कार्यक्रम ल्याएको थाहा भएन । बरु उल्टो के देखिन्छ भने, ‘पर्यटन मजदुरहरुका लागि पनि सरकारले केही न केही प्याकेज, राहत र सहुलियत उपलब्ध गराउनु पर्‍यो !’ भनी नेपाल पर्यटन बोर्डमा आफ्नो माग राख्न गएको पर्यटन मजदुरहरुको टोलीलाई प्रहरी प्रशासनले ‘लाठी-मुंग्री’ गर्ने गरेको देखिन्छ । जुन सर्वथा अन्याय हो ।

प्रकाशित समय : १७:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु